२६ जेठ २०८३, मंगलबार
प्रहरीका ३३ औं महानिरीक्षक

यसरी सम्भव बन्यो आईजीपीमा कार्कीको नियुक्ति

कात्तिक २४, २०८२
काठमाडौं
यसरी सम्भव बन्यो आईजीपीमा कार्कीको नियुक्ति

सरकारले प्रहरी ३३ औं महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले यही कात्तिक २७ गतेदेखि प्रहरीको नेतृत्व सम्हाल्नेछन् । 

चार जना एआईजीहरू क्रमशः कार्की, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाहमध्ये कार्की नै वरीयतामा अघि थिए ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा गृहमन्त्री ओम प्रकाश अर्यालको प्रस्तावमा एआईजी कार्कीको नियुक्तिले प्रधानता पाएको हो ।

एआईजी केसीलाई आईजीपीमा नियुक्त गर्न प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई आन्तरिकसँगै बाहिरी दबाब समेत थियो । तर, सरकारले एआईजी कार्कीलाई नै वरिष्ठताको आधारमा आईजी बनाउने निष्कर्ष निकालेको हो ।

सरकारले केन्द्रीय अनुसन्धान ब्यूरोलाई भ्रष्टाचारसँगै अन्य आपराधिक गतिविधिका फाइल खोल्न एआईजी डा. मनोज केसीमार्फत अघि बढेसँगै उनै केसीलाई आईजीपी बनाउने आकलन धेरैले गरेका थिए । तर, प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालको सुझबुझपूर्ण निर्णयले एआईजी कार्कीको नियुक्तिले पूर्णता पाएको हो ।

प्रहरी नियमावलीमा अनुसार ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । खापुङ अवकाशमा गएसँगै कार्कीले कात्तिक २७ गतेबाट प्रहरी नेतृत्व सम्हाल्ने छन् ।

कार्की संगठनमा इमान्दार र समक्ष प्रहरीको रूपमा परिचित छन् । २०५४ चैत १८ गतेबाट प्रहरी निरीक्षकको रूपमा भर्ना भएका कार्की २०६६ मंसिर २६ गते डीएसपीमा बढुवा भएका थिए ।

डीएसपी रहँदा इलाका प्रहरी कार्यालय बुटवल हुँदै नयाँ बानेश्वर वृत्त, जिल्ला प्रहरी कार्यालय सप्तरीसम्म काम गरेका कार्कीसँग इन्टरपोल, मानव अधिकार इकाई, लागूऔषध नियन्त्रण ब्यूरो लगायत युनिटमा काम गरेको अनुभव छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रहेर काम गरेका कार्कीले जिल्ला प्रहरी कार्यालय कास्की, कपिलवस्तु, एसएसपी हुँदा काठमाडौं प्रहरी प्रमुख भएर काम गरेका थिए । 

डीआईजी भएपछि उनी प्रहरी महानिरीक्षकको सचिवालय हुँदै प्रदेश प्रहरी कार्यालय लुम्बिनीको प्रमुख भएर काम गरे । एआईजी भएपछि मानव स्रोत व्यवस्थापन विभाग र हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत छन् ।

विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण कार्कीले करिब साढे २ वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन् । २०८४ चैत १७ गतेसम्म कार्कीले प्रहरीको नेतृत्व सम्हाल्नेछन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वी टिमोरमा २ पटक र हाइटीमा १ पटक मिसन गएका छन् । 

काठमाडौं प्रहरीको प्रमुखको भूमिकामा रहँदा कार्कीले भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतसम्म पुर्‍याएका थिए ।

प्रहरी सेवामा रहँदाका बेला हालसम्म उनी कुनै ठूलो आर्थिक विवादमा मुछिएका छैनन् । एआईजी कार्कीसँग फिल्डदेखि अपराध अनुसन्धान कार्यमा समेत राम्रो अनुभव छ ।

salt training

कमेन्ट गर्नुहोस्