
इतिहासकै लामो सरकारी बन्द (सटडाउन) ४३औं दिनमा लगभग अन्त्य हुँदैछ, तर अन्तिम नतिजाबाट कोही पनि खुसी छैन। डेमोक्रेटहरूले खर्च सम्झौतामा आफूहरूले माग गरेका स्वास्थ्य बीमासम्बन्धी प्रावधानहरू पाएनन् भने वासिङ्टनमा सत्ताको बागडोर सम्हालेका रिपब्लिकनहरू पनि दोषबाट उम्कन सकेनन्। जनमत सर्वेक्षण र केही राज्य तथा स्थानीय चुनावहरूले पनि यो कुरा पुष्टि गरेका छन्, जसको परिणाम उनीहरूको पक्षमा आएको छैन।
बन्दको असर लाखौं अमेरिकीहरूमा पर्यो, जसमा तलब नपाएका संघीय कर्मचारीहरू र यात्रा ढिलो वा रद्द भएका हवाई यात्रुहरू छन्। पोषण सहायता कार्यक्रममा आएको अवरोधले फूड बैंकहरूमा लामो लाइनहरू देखिए र बिदाको मौसम शुरू हुनुअघि भावनात्मक तनाव थपिएको छ।
सम्झौतामा सिनेट विनियोजन समितिद्वारा तयार पारिएका द्विदलीय विधेयकहरू समावेश छन्, जसले सरकारका केही भागहरू- खाद्य सहायता, पूर्व-सैनिक कार्यक्रमहरू र विधायिका शाखालगायतका लागि रकम जुटाउने व्यवस्था गरेको छ। अन्य सबै कोषहरू जनवरीको अन्त्यसम्म विस्तार गरिनेछ, जसले सांसदहरूलाई थप खर्च विधेयकहरू टुङ्ग्याउन दुई महिनाभन्दा बढी समय दिनेछ।
बन्द कसरी शुरू भयो र कसरी अन्त्य हुँदैछ ?
डेमोक्रेटहरूले छोटो अवधिको कोष विधेयकको लागि समर्थन दिनुअघि धेरै मागहरू राखे। मुख्य माग किफायती हेरचाह ऐन (Affordable Care Act–ACA)मार्फत प्राप्त स्वास्थ्य कवरेजको लागत घटाउने थियो।
यसैगरी, कर क्रेडिट कोभिडको समयमा जो बाइडेनको ऊर्जा तथा स्वास्थ्य सेवा विधेयकमार्फत् बढाइएको थियो र डिसेम्बरको अन्त्यमा समाप्त हुँदैछ। योबिना लाखौं अमेरिकीहरूको लागि बीमा प्रिमियम औसतमा दोब्बरभन्दा बढी हुने अनुमान छ।
कङ्ग्रेसनल बजेट कार्यालयले अर्को वर्ष २ मिलियनभन्दा बढी मानिसहरूले स्वास्थ्य बीमा कवरेज पूर्ण रूपमा गुमाउने अनुमान गरेको छ।
सिनेटका डेमोक्रेटिक नेता चक सुमरले भने, 'अमेरिकी परिवारहरूले आफ्नो स्वास्थ्य सेवा लागत एकैपटक दोब्बर हुने अवस्थाको सामना कहिल्यै गरेका थिएनन्।' डेमोक्रेटहरूले यस विषयमा वार्ताको आह्वान गर्दा रिपब्लिकनहरूले पहिले कोष विधेयक पारित गर्नुपर्ने अडान लिए।
सिनेट बहुमतका नेता जोन थुनले भने, 'रिपब्लिकनहरू वार्ताका लागि तयार छन्, तर डेमोक्रेटहरूले आफ्ना पक्षपातपूर्ण मागहरूको लागि सरकारलाई बन्धक बनाउन छोडेपछि मात्र।'

थुनले अन्ततः गतिरोध समाधान गर्न डेमोक्रेटहरूलाई कर क्रेडिट विस्तारमा डिसेम्बरमा मतदान गर्ने वाचा गरे, तर धेरै डेमोक्रेटहरूले केवल सामान्य मतदान होइन, सुनिश्चित समाधानको ग्यारेन्टी माग गरेका छन्।
थुनको अडान सन् २०१३ को अक्टोबरमा सुमरले लिएको अडानजस्तै थियो, जब रिपब्लिकनहरूले सरकारको कोष उपलब्ध गराउन बदलामा किफायती हेरचाह ऐनका केही अंश उल्टाउने असफल प्रयास गरेका थिए। त्यतिबेला सुमरले भनेका थिए, 'सबै सरकारी काम खोल्नुहोस्, अनि मात्र हामी छलफल गर्न सक्छौं।'
दबाबमा डेमोक्रेटिक नेताहरू
‘पार्टनरशिप फर पब्लिक सर्भिस’का अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमा २ लाखभन्दा बढी संघीय कर्मचारीहरूलाई जागिरबाट हटाइयो, जबरजस्ती स्थानान्तरण गरियो वा प्रशासनको स्थगित राजीनामा कार्यक्रममार्फत् अवकाश दिइयो।
प्रशासनको प्राथमिकतासँग मेल नखाने एजेन्सीहरू भङ्ग गरिए, र कांग्रेसले पहिले नै अनुमोदन गरेको अरबौं डलर फ्रिज वा रद्द गरियो।
ट्रम्पका केही कदमहरू रोक्न डेमोक्रेटहरूले अदालतमा भर पर्नुपरेको छ, तर उनीहरूले विधायिकामार्फत् त्यसो गर्न सकेनन्। उनीहरूले ट्रम्पको कर कटौती र अध्यागमन कडाइ विधेयक पनि रोक्न सकेनन्।
ट्रम्प प्रशासनको प्राथमिकताहरू रोक्न डेमोक्रेटहरूको संघर्षले पार्टी नेतृत्वलाई अझ कडा प्रतिक्रिया दिन प्रेरित गरेको छ।
सुमरले सन् २०२५ को बजेट वर्षको कोष विधेयकको समर्थन गरेपछि उनले त्यसको परिणाम प्रत्यक्ष रूपमा भोगे। उनको कार्यालयमा विरोध प्रदर्शन भयो, प्रगतिशील समूहहरूले उनलाई सन् २०२८ को प्राथमिक चुनावमा चुनौती दिनुपर्ने माग गरे र पार्टीभित्र नयाँ नेताको खोजी गर्न सुझाव दिए।
यसपटक सुमरले रिपब्लिकनहरूलाई खर्च विधेयकमा आफ्नो मत प्राप्त गर्न डेमोक्रेटहरूसँग वार्ता गर्न आग्रह गरे। उनले सिनेटका नियमअनुसार खर्च विधेयक अघि बढाउन आवश्यक ६० मतको थ्रेसहोल्ड पूरा गर्न द्विदलीय समर्थन अपरिहार्य भएको बताए।
बन्दमा राजनीतिक दाउपेच निकै ठूलो रह्यो। दुवै पार्टीका नेताहरूले जनमतलाई प्रभावित पार्न दैनिकजस्तै पत्रकार सम्मेलन गरे।
एसोसिएटेड प्रेस–सेंटर फर पब्लिक अफेयर्स रिसर्चको सर्वेक्षणअनुसार, करिब ६० प्रतिशत अमेरिकीहरूले बन्दको लागि ट्रम्प र कांग्रेसका रिपब्लिकनहरूलाई मुख्य जिम्मेवार ठहराएका छन्, जबकि ५४ प्रतिशतले कांग्रेसका डेमोक्रेटहरू पनि दोषबाट मुक्त छैनन् भनेका छन्।
कम्तीमा तीन-चौथाई अमेरिकीहरूले दुवै पक्षले केही न केही हदसम्म जिम्मेवारी वहन गर्नुपर्ने विश्वास गर्छन्, जसले गर्दा कोही पनि पूर्ण रूपमा दोषमुक्त हुन सकेका छैनन्।

दुवै पक्षले जनमतको प्रभाव मापन गर्न भर्जिनिया, न्यु जर्सी र अन्य ठाउँमा नोभेम्बर ४ मा भएका चुनावहरूमा ध्यान दिए। डेमोक्रेटहरूले आफ्नो सफलतामा सन्तुष्टि लिए भने ट्रम्पले यसलाई रिपब्लिकनहरूका लागि ठूलो नकारात्मक कारक बताएका छन्।
तर यसले रिपब्लिकनहरूको वार्ता नीति परिवर्तन गरेन। बरु, ट्रम्पले सिनेटमा फिलिबस्टर समाप्त गर्न आह्वान गरे, जसले बहुमत प्राप्त दललाई अल्पमतसँग वार्ता गर्नुपर्ने आवश्यकता हटाउनेछ।
कङ्ग्रेसनल बजेट कार्यालयका अनुसार, बन्द अन्त्य भएपछि अर्थतन्त्रमा परेको नकारात्मक असर केही हदसम्म सुधार हुनेछ, तर पूर्ण रूपमा होइन। संस्थाको अनुमानमा, छ हप्ताको बन्दले अमेरिकी अर्थतन्त्रमा करिब ११ अर्ब डलरको स्थायी क्षति पुर्याएको छ।
संख्याभन्दा पर, बन्दले धेरै अमेरिकीहरूको दैनिकीमा समस्याहरूको श्रृंखला ल्याएको छ। संघीय कर्मचारीहरूले तलब गुमाए, जसले आर्थिक र मानसिक तनाव निम्त्यायो। यात्रुहरूको उडान ढिलो भयो वा रद्द भयो। सप्लिमेन्टल न्युट्रिशन असिस्टेन्स प्रोग्राम (SNAP) जस्ता सामाजिक सुरक्षा कार्यक्रममा निर्भर व्यक्तिहरूले आफ्ना लाभ रोकिन थाले र देशभर फूड बैंकहरूमा खानाका लागि लामो लाइन देखिए। एपी