१२ असार २०८३, शुक्रबार
जाँचबुझ आयोगको निर्णय

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौं बाहिर जान रोक

कात्तिक २७, २०८२
काठमाडौं
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौं बाहिर जान रोक

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको आयोगको बैठकले घटनाको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समय आयोगमा उपस्थित हुनु पर्ने भन्दै आजैको मितिदेखि लागु हुनेगरी सेवा निवृत्त आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । 

यसैगरी, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न/गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए । उक्त निर्णयको जानकारी खापुङलाई समेत गराइने आयोगले जनाएको छ ।

खापुङ बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । उनी अवकाशमा गएसँगै दानबहादुर कार्कीले आजदेखि प्रहरीको नेतृत्व सम्हालेका छन् ।

आयोगले शुरूमा भदौ २३ र २४ गते आन्दोलनमा खटिएका प्रहरी कर्मचारीको विवरण माग गरेको थियो । प्रहरी प्रधान कार्यालयले आन्दोलनका दिन जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जवाफ आयोगलाई दिएको थियो ।

तत्कालीन आईजीपी खापुङले आयोगलाई अटेरी गरेको भन्दै उनलाई जरिवाना गर्ने निर्णय गरिएको थियो । पछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्दोलनका बेला उपत्यकामा खटिएका प्रहरीको विवरण आयोगलाई पठाएको थियो ।

यसअघि आयोगले असोज १२ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलाई समेत काठमाडौं बाहिर जान रोक लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्