
नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार बंगलादेशसँग उसैको मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको राति १९:४५ बजे ढाकामा शुरू हुनेछ ।
नेपाली टोली यसअघि खेलिएको लगातार ६ खेलमा जितविहीन रहँदै आएको छ । अक्टोबर ९ तारिखमा खेलिएको एएफसी एसियन कपको छनोट प्रतियोगितामा नेपाली टोली भियतनामसँग ०–१ गोलले पराजित भएको थियो ।
त्यसअघि, सोही छनोट प्रतियोगिताका क्रममा अक्टोबर ९ तारिखमा खेलिएको खेलमा पनि नेपाली टोली भियतनामसँगै १–३ गोलले पराजित भएको थियो । सेप्टेम्बर ६ तारिखमा घरेलु मैदानमा खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोली बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
त्यसअघि, एएफसी एसियन कपको छनोट प्रतियोगिताका क्रममा जुन १० तारिखमा खेलिएको खेलमा नेपाली टोली लाओससँग १–२ गोलले पराजित भएको थियो । जुन ५ तारिखमा हङकङसँग उसैको घरेलु मैदानमा खेलिएको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली गोलरहित बराबरीमा रोकिएको थियो ।
त्यसअघि, एएफसी एसियन कपको छनोटका क्रममा मार्च २५ तारिखमा खेलिएको खेलमा पनि नेपाली टोली मलेसियासँग उसैको घरेलु मैदानमा ०–२ गोलले हारेको थियो । नेपाली टोलीले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेलमा सिङ्गापुरलाई हराएको थियो ।
मार्च २१ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा भने नेपाली टोलीले सिङ्गापुरलाई उसैको घरेलु मैदानमा १–० गोलले पराजित गरेको थियो । त्यसैले बिहीबारको खेलमा नेपाली टोली बंगलादेशलाई हराउँदै लामो समयपछि जितको स्वाद चाख्ने धुनमा रहने छ ।
बंगलादेशविरुद्धको खेलमा नेपाली टोली हरि खड्काको प्रशिक्षकत्वमा मैदान ओर्लनेछ । प्रमुख प्रशिक्षक म्याट रसले अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) खड्कालाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एएफसी एसियन कपको छनोट प्रतियोगिता खेल्न मलेसिया प्रस्थान गर्नेछ । नेपाल र मलेसियाबीचको खेल नोभेम्बर १८ तारिखमा खेलिने छ । यद्यपि, नेपाली टोली एसियन कपको छनोट चरणबाटै बाहिरिने पक्का भइसकेको छ ।