
मोरङको पथरी शनिश्चरे नगरपालिका–९ घर भएर भक्तपुर सूर्यविनायक बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर खड्काको आपराधिक पृष्ठभूमि खोतल्दा अनुसन्धानमा संलग्न प्रहरी नै छक्क परेका छन् ।
पाकेटमार, लुटपाट र जबर्जस्ती चोरी घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान शाखाले खड्कासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो ।
जब प्रहरीले खड्काको अपराध अभिलेख प्रणाली (सीआरएस) हेर्यो तब उनी यसअघि ३८ पटक पक्राउ परेर छुटेको तथ्य फेला पर्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार खड्काको २०६४ सालदेखि अपराधमा संलग्न देखिन्छ ।
शुरूमा महाराजगञ्ज वृत्तमा उनीविरुद्ध त्यतिबेला सार्वजनिक अपराध सजाय ऐन अन्तर्गत मुद्दा चलेको थियो । २०६४ देखि लगातार खड्का विभिन्न अपराधमा पक्राउ पर्दै गए । महाराजगञ्जपछि दरबारमार्ग वृत्त, बालाजु वृत्त, गौशाला वृत्त, भक्तपुर परिसर, इलाका प्रहरी कार्यालय बनेपा, काठमाडौं परिसर, प्रहरी वृत्त बौद्ध, स्वयम्भू वृत्त, बानेश्वर वृत्त, सातदोबाटो वृत्त, ललितपुर परिसर गरी १२ वटा प्रहरीका युनिटमा २८ पटक मुद्दा चलेको अनुसन्धान कार्यालयले जनाएको छ ।
खड्काविरुद्ध सार्वजनिक अपराध, अभद्र व्यवहार, बैंकिङ कसुर, डाँका चोरी, अपहरण तथा शरीर बन्धक उद्योग, बगलीमारा जस्ता मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो पटक भने खड्काविरुद्ध २०७९ मा मुद्दा दर्ता भएको थियो ।
पक्राउ पर्दै छुट्दै आएका खड्काले संगठित गिरोह बनाएर योजनाबद्ध तरिकाले पाकेटमारी, लुटपाट, जबर्जस्ती चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले खड्कासँगै काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाका साधुराम भुजेल, सुदिप भण्डारी, राजीव भण्डारी, सुजन भण्डारी, सिन्धुपाल्चोक बाह्रबिसेका अनु गजमेर र काभ्रे महाभारत गाउँपालिकाको सुरज तामाङलाई पक्राउ गरेको छ ।
प्रहरीले खड्काको गिरोहबाट सुनको ब्रासलेट, सुनको औंठी, सुनको झुम्का, सुनको सिक्री, अमेरिकी डलर २८ सय, भारतीय रूपैयाँ ६ हजार ६ सय ९०, नेपाली चार लाख २८ हजार ८ सय ८० रूपैयाँ, १४ वटा मोबाइल, क्यामेरा, सर्जिकल ब्लेड, चार वटा मोटरसाइकल, बा ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार यो गिरोह पाकेटमारी, चोरी, लुटपाट गर्नका लागि समुह बनाई एउटै स्थानमा बस्दै आएका थिए ।
चोरी तथा लुटपाटमा मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । ‘प्रायजसो सार्वजनिक सवारी साधनमा सबै जना सँगै चढ्ने र टार्गेट छनोट गर्ने गरेको देखियो,’ एसपी आचार्यले भने,‘पैसा बोकेका र सुनका गरगहना लगाएका व्यक्तिको निगरानी गरी पहिचान गरेर लुटपाट गर्ने गरेको देखियो ।’
पाकेटमारी गरेपछि गाडीबाट ओर्लिँदा सबै व्यक्ति एकै पटक नओर्लिई पालैपालो विभिन्न स्थानमा ओर्लिने गरेको प्रहरीले जनाएको छ । यो गिरोहले पाकेटमारी, चोरी, लुटपाट गरेका धनमाल समूहमा बाँडफाँड गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एसपी आचार्यका अनुसार यो गिरोहले पैदलयात्री, दुई पाङग्रे सवारी साधनमा यात्रा गर्ने मानिसको साथमा भएको सिक्री समेतका गरगहना लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
‘यो गिरोहले कार चढेर लुटपाट गर्ने गरेको देखिन्छ । संगठित रूपमा काठमाडौं उपत्यकामा चोरी, लुटपाट र पाकेटमार खड्काको समूह पक्राउ गर्न प्रहरीले सूक्ष्म निगरानी गर्नुपर्यो’, एसपी आचार्यले लोकान्तरसँग भने ।
पीडितहरूले प्रहरीमा उजुरी गरेपछि प्रहरीले खड्काको गिरोहलाई लामो समय निगरानीमा राखेको जानकारी आचार्यले दिए । उनले भने,‘कार नै चढेर लुटपाट गर्न आए भनेर पीडितले उजुरी गरेपछि केही ठाउँमा सीसीटीभी समेत हेरियो, अन्ततः पक्राउ गर्न सफल भयौं ।’