०६ साउन २०८३, बुधबार

कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भइरहेको छ- अर्थमन्त्री खनाल

कात्तिक ३०, २०८२
काठमाडौं
कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भइरहेको छ- अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास गरिरहेको बताएका छन् । 

आइतबार नेपाल चेम्बर अफ कमर्ससँगको छलफल कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले सरकारले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास गरिरहेको बताएका हुन् । 

अर्थमन्त्री खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताए । 

लगानीमैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भइरहेको उल्लेख गरे । 

आर्थिक र मौद्रिक नीतिबीचको तालमेलमार्फत् अर्थतन्त्रलाई निकासा दिन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

जेन्जी आन्दोलनपछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधिसहित छलफल भएको थियो ।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनालसमक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, कर सम्बन्धी व्यवस्था, पूँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुझाव प्रस्तुत गरे ।

अध्यक्ष अग्रवालले लगानीकर्ताहरूको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए । 

‘जसरी विदेशी लगानीकर्ता सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवर्द्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन् भने स्वदेशी लगानीकर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्ब लगानी प्रवर्द्धन एवं सुरक्षा नीति ल्याउनुपर्दछ’, उनले भने ।

भारतमा जीएसटीका दरमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दरलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । भन्सार दरलाई अधिकतम २५ प्रतिशत कायम गरिनुपर्ने चेम्बरको माग रहेको छ । 

यस्तै, अध्यक्ष अग्रवालले भारतमा जीएसटीका दरमा भएको व्यापक कटौतीले नेपालमा मूल्य अभिवृद्धिको दरलाई २ दर वा बहुदरमा कायम गर्न अनुरोध समेत गरे । अति आवश्यक एवं विलासितामा वस्तुमा एकदर कायम रहनु सामाजिक न्यायको दृष्टिकोणले पनि उपयुक्त नहुने उनको भनाइ छ ।  

नकारात्मक सूची बाहेक नेपालमा उत्पादन हुने सबै वस्तुमा अन्तःशुल्क हटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जमिनको सदुपयोग गरेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए । उनले रेमिट्यान्सलाई सदुपयोग गर्ने नीति ल्याएर अर्थतन्त्र सबल बनाउनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्