
नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
पहिलो त्रैमासिकमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँमा सीमित रहेको छ, जुन गत वर्षको सोही अवधिभन्दा केही कम हो। कुल आय पनि झरेर ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा पुगेको छ, जसमा अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाखको कमी छ।
आय घटेसँगै मुनाफा पनि कमजोर देखिएको छ। उक्त अवधिमा कम्पनीको करअघिको आम्दानी १२.२९ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा पुगेको छ। करपछि नाफा झनै खुम्चिँदै १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र बाँकी रह्यो, जुन अघिल्लो वर्षको पहिलो त्रैमासिकभन्दा ४१ करोड ४४ लाखले कम हो। प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसामा झरेको छ।
टेलिकमका अनुसार विश्वभर बढ्दो ओटीटी सेवाको प्रयोगले विदेशबाट आउने कल घटाएका कारण राजस्वमा दबाब परेको हो। अन्तरआवद्धता राजस्व मात्रै करिब १० करोड ९७ लाखले घटेको कम्पनीको दाबी छ। बैंकिङ क्षेत्रमा व्याजदर ओरालो लागेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी पनि ५० करोडले कम भएको छ।
उता खर्चतर्फ कर्मचारी बीमा प्रिमियम बढ्नु र छुटदर ७.५ प्रतिशतबाट ७ प्रतिशतमा झर्दा पेन्सन तथा अवकाश दायित्व वाढेपछि करिब ८.८ करोड रुपैयाँ अतिरिक्त व्यय बढेको कम्पनीले जनाएको छ।
राष्ट्रको सञ्चार सेवा विस्तारमा पाइला अघि बढाउँदै आएका कारण दुर्गम क्षेत्रमा सेवा पुर्याउने कामले लागत बढेको टेलिकमको भनाइ छ।