०८ साउन २०८३, शुक्रबार

चारपटकको च्याम्पियन इटालीलाई स्तब्ध पार्दै नर्वे २८ वर्षपछि विश्वकपमा

मंसिर १, २०८२
काठमाडौं
चारपटकको च्याम्पियन इटालीलाई स्तब्ध पार्दै नर्वे २८ वर्षपछि विश्वकपमा

बलियो प्रतिद्वन्द्वी इटालीलाई उसैको घरेलु मैदानमा स्तब्ध पार्दै नर्वे आगामी फिफा विश्वकपमा छनोट भएको छ । छनोट प्रतियोगिताको सोमबार बिहान सम्पन्न अन्तिम खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हरायो ।

नर्वे युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘आई’बाट विश्वकपमा पुगेको हो । आठवटै खेलमा विजयी भएको नर्वे २४ अंकसहित तालिकाको पहिलो स्थानमा रह्यो । इटाली भने समान खेलबाट १८ अंक बटुल्दै दोस्रो भयो ।

आगामी विश्वकपमा छनोट हुन इटालीले अब अन्तरमहादेशीय प्ले–अफ खेल्नु पर्नेछ । नर्वेको सजिलो जितमा एर्लिङ हालान्डले दुई मिनेटभित्र दुई गोलको योगदान गरे । खेलमा शुरूआती अग्रता भने इटालीले लिएको थियो ।

खेल शुरू भएको ११ औं मिनेटमै पियो एस्पोसिटोले गोल गरेका थिए । सोही गोलका कारण घरेलु टोली इटाली पहिलो हाफमा अगाडि रह्यो । त्यसपछि दोस्रो हाफमा नर्वेले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । नर्वेका लागि ६३ औं मिनेटमा एन्टोनियो नुसाले पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ७८ औं र ७९ औं मिनेटमा स्टार खेलाडी हालान्डले लगातार दुई गोल गर्दै नर्वेलाई ३–१ को अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा नर्वेका लागि जोर्गेन स्ट्रान्ड लार्सनले चौथो गोल थपरेका थिए ।

नर्वे २८ वर्षपछि फिफा विश्वकपमा छनोट भएको हो । नर्वेले यसअघि सन् १९९८ मा विश्वकप खेलेको थियो । समग्रमा नर्वे चौथो पटक विश्वकपमा छनोट भएको हो । इटाली भने चारपटकको विश्वकप विजेता हो ।

इटालीले पछिल्लो पटक सन् २००६ मा विश्वकपको उपाधि चुमेको थियो । तर, इटाली यसअघि लगातार दुईपटक विश्वकपमा अनुपस्थित थियो । इटालीको टोली सन् २०१८ र सन् २०२२ को विश्वकपमा छनोट हुन सकेको थिएन ।

नर्वे युरोपेली क्षेत्रबाट आगामी विश्वकपमा छनोट हुने पाँचौं राष्ट्र हो । युरोपबाट इङ्ल्यान्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल पनि आगामी विश्वकपमा छनोट भइसकेका छन् । 

फिफा विश्वकपको २३ औं संस्करण सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्