
आकर्षक तलब र छिटो पैसा कमाउने प्रलोभनमा परेर अवैध रूपमा म्यानम्यार पुर्याइएका ३७ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ ।
अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रहरूले जोखिमपूर्ण काममा लगाएको पाइएपछि उद्धार गरिएको हो ।
म्यानमारको स्वचामित्र केन्द्रमा १९ अक्टोबर २०२५ मा सुरक्षा निकायले छापा मारेसँगै भाग्दै थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई नेपाल राजदूतावास बैंककले उद्धार गरी स्वदेश फर्काएको हो ।
राजदूतावासका अनुसार थाइल्यान्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरिएका सबै ३७ नेपालीलाई मंगलबार नेपाल एयरलाइन्समार्फत काठमाडौं ल्याइएको थियो।
यसैबीच, यस्तै परिस्थितिमा फसेका थप नेपालीको उद्धारका लागि प्रक्रिया जारी रहेको म्यानमारस्थित नेपाली दूतावासले जनाएको छ ।
म्यानमारको म्यावडी क्षेत्रमा रहेका २३ जना, थाइल्यान्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ जना नेपालीलाई फर्काउने विषयमा तीनै देशका अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको राजदूतावासले जनाएको छ।
राजदूतावासले वैदेशिक रोजगारीमा जाने सबैलाई सरकारले तोकेको कानूनी प्रक्रिया र श्रम स्वीकृति लिएर मात्रै विदेश जान आग्रह गरेको छ।
अनलाइन क्यासिनो, फिसिङ, डेटिङ, क्रिप्टो ठगीजस्ता गैरकानूनी काममा लगाइने जोखिम अत्यन्त उच्च भएकाले कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड लगायतका मुलुकमा भ्रमणको नाममा नजान पनि चेतावनी दिएको छ ।
यस्ता घटनाबारे सचेतना फैलाउन सहयोग गरिदिन राजदूतावासले नागरिक समाज र सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।
