
इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त महासभामा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ ।
साथै, इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदका लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधि सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिने कार्यक्रम रहेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वय थप प्रभावकारी बनाउने लगायतका विषयमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।