
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय पछिल्लो करिब तीन महिनादेखि मन्त्री र सचिवबीचको चरम द्वन्द्वका कारण लथालिङ्ग अवस्थामा पुगेको छ ।
मन्त्री खगेनसिंह हाङ्गाम र सचिव डा. शरणकुमार पाण्डेबीचको विवादले मन्त्रालयका नीतिगत तथा प्रशासनिक काम ठप्प भएका हुन् । दुई जनाको द्वन्द्वको प्रत्यक्ष असर सेवाग्राही र प्रदेशका कृषि कार्यक्रममा परेको छ ।
विवाद गत भदौ १६ गते उत्कर्षमा पुगेको हो । मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालयमा रहेका सचिव पाण्डेले प्रयोग गरिरहेको सरकारी गाडीको चाबी आफ्नो निजी सचिवालयका कर्मचारीमार्फत् खोसेका थिए । यो घटनापछि सचिव पाण्डे मन्त्रालयमा हाजिर भएका छैनन् ।
मन्त्रालय स्रोतका अनुसार, मन्त्री हाङ्गामले करारमा कार्यरत ड्राइभरहरूलाई हटाएर आफ्ना मान्छे नियुक्त गर्न खोज्दा सचिव पाण्डेले त्यसलाई अस्वीकार गरेपछि विवाद चर्किएको थियो ।
मन्त्रालयका कर्मचारीका अनुसार मन्त्रीको सचिवालयका कर्मचारीको भ्रमण भत्ता तत्काल भुक्तानी गर्नुपर्ने मागलाई पनि सचिवले अस्वीकार गरेपछि मन्त्री ‘एक्सन’मा उत्रिएका थिए ।
यसअघि सचिव पाण्डेको सरुवा संघीय सरकारले गरेको थियो । तर पछि उक्त सरुवा थमौती गर्दै उनलाई मुख्यमन्त्री कार्यालयमा कामकाज गर्न खटाइएको थियो । सरुवा भइसकेको व्यक्तिले मन्त्रालयको गाडी प्रयोग गरेको भन्दै मन्त्रीले चाबी खोसेको दाबी उनको सचिवालयको छ ।
सचिव पाण्डेले आफूले रमाना नबुझेको र मुख्यमन्त्री कार्यालयमा कामकाज गर्न खटाइए पनि मन्त्रालयको जिम्मेवारीमै रहेको बताउँदै आएका छन् ।
सचिव पाण्डे कार्यालयमा नआएपछि वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोख्रेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो । तर, असोजको दोस्रो हप्तातिर उनी पनि चीन भ्रमणमा गएपछि वरिष्ठ पशु चिकित्सक दीपा दिवालीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
नेतृत्वको अभावमा मन्त्रालयका महत्त्वपूर्ण काम अलपत्र परेका छन् । जेनजी आन्दोलनपछि प्रदेश सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको थियो । तर, सचिव नहुँदा कुन कार्यक्रमको बजेट काट्ने भन्ने अन्योल कायमै छ ।
आर्थिक अधिकारसहित निमित्त पाएका पोख्रेलले पनि तलब भत्ताबाहेक अन्य कुनै कार्यक्रम अगाडि बढाउन सकेका छैनन् । हाल मन्त्रालयका सबै गतिविधि ठप्प रहेको मन्त्रालयकै कर्मचारी बताउँछन् ।
सचिव पाण्डेले घटनालगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराए पनि समस्या समाधान हुन सकेको छैन ।
मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार, सचिव पाण्डे बिदामा बस्छु भन्दा समेत उनीहरूले केही भन्न सक्ने अवस्था थिएन ।
मन्त्री र सचिवको लडाइँले मन्त्रालयका कर्मचारीहरूको मनोबल गिरेको छ । काम नभएपछि उनीहरू घाम तापेर दिन कटाउने गरेका छन् ।
मन्त्री हाङ्गामको सचिवालयले भने सचिव पाण्डेले समन्वय नगरेको आरोप लगाएको छ । मन्त्रीका स्वकीय सचिव अशोककुमार आङबुहाङले भने, ‘सचिवज्यूले प्रमुख सचिवसँग कुरा गर्नुभएको छ, यदि उहाँ आउने हो भने मन्त्रीज्यूसँग छलफल गरे भइहाल्थ्यो । नआउने भए जानकारी गराउनुपर्थ्यो ।’
मुख्यमन्त्री कार्यालयले भने मन्त्रालयमा देखिएको समस्या समाधान भइरहेको बताएको छ । उक्त मन्त्रालयमा देखिएको समस्या अब चाँडै समाधान हुने मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारीले बताए ।
मन्त्री हाङ्गाम भने पटक पटक विवादमा पर्दै आएका छन् ।
नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश सदस्य तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई मन्त्री हाङ्गामले मुक्का प्रहार गर्दा पनि उनी विवादमा तानिएका थिए ।
गत असारमा मन्त्री हाङ्गामले आफ्नै गृह जिल्ला ताप्लेजुङमा थेबेलाई मुक्का प्रहार नै गरेका थिए ।
२०८० भदौ २१ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा उनले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए । उनले प्रहरीको हतियार खोसेको आरोप समेत लागेको थियो ।
सादा पोशाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा हाङ्गाम र डीएसपी लिम्बूबीच मतभेद चर्किएको थियो । विवाद चर्केपछि हाङ्गामले डीएसपी लिम्बूको परिवारकै हत्या गर्ने धम्की दिएका थिए । त्यतिबेला हाङ्गाम सांसद मात्रै थिए ।