०२ साउन २०८३, शनिबार

झापाबाट लुटिएका हतियार लागूऔषध प्रयोगकर्तासँग, २० थान अझै भेटिएनन्

मंसिर ११, २०८२
काठमाडौं
झापाबाट लुटिएका हतियार लागूऔषध प्रयोगकर्तासँग, २० थान अझै भेटिएनन्
प्रहरीले बरामद गरेको हतियार ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा झापामा प्रहरी कार्यालय तोडफोड गरी लुटिएकामध्ये २० थान हतियार अझै भेटिएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काका अनुसार लुटिएका १०३ हतियारमध्ये नेपाली सेना र प्रहरीको सक्रियतामा ८३ थान बरामद भइसकेका छन् ।  तर, अझै २० थान हतियारको अवस्था अज्ञात छ । 

डीएसपी खड्का अनुसार हतियार लुटपाट गर्ने कार्यमा लागूऔषध प्रयोगकर्ता र दुर्व्यसनीको सक्रिय संलग्नता रहेको खुलेको छ । 

लुटिएका हतियारको खोजीमा प्रहरीले लागूऔषध कारोबारी र प्रयोगकर्ताको सञ्जालमाथि निगरानी बढाएको जनाएको छ । केही हतियार भने प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको थियो । 

इलाका प्रहरी कार्यालय बिर्तामोड (अनारमनि) र दमकबाट लुटिएका अत्याधुनिक हतियार तथा गोलीगठ्ठा लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले प्रयोगकर्ताको डेरा र ओडारबाट बरामद गरेको छ ।  

आन्दोलनका क्रममा दुई प्रहरी कार्यालयबाट साना र ठूला गरी जम्मा १ सय ३ थान हतियार लुटिएका थिए । 

नभेटिएका २० थान हतियार लागूऔषध प्रयोगकर्ताको समूहसँग हुन सक्ने आशंका प्रहरीले गरेको छ । यसको पुष्टि बिर्तामोडबाट भएको पछिल्लो पक्राउ घटनाले गरेको प्रहरीले जनाएको छ । 

लागूऔषध ब्यूरो काँकडभिट्टाको टोलीले नै विशेष सूचनाको आधारमा छापा मार्दा बिर्तामोड–२ रामचोकस्थित लागूऔषध प्रयोगकर्ताको डेराबाट लुटिएका गोली र प्रहरीको सामान फेला परेको हो ।

प्रहरीले रामचोकस्थित इस्रप खातुनको डेरामा छापा मार्दा त्यहाँबाट एसएलआरको ३८ राउण्ड र इन्सासको १६ राउण्ड गोलीसहित प्रहरीको बुट, काँसका थाल, करुवा र गिलास बरामद गरेको थियो । 

सो घटनामा संलग्न स्थानीय २२ वर्षीय विकास टुडु र खातुनलाई नियन्त्रणमा लिइएको छ ।  उनीहरुले प्रहरी चौकीबाट हतियार तथा भान्साका सामान समेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार पाँचथरको विकट ओडारसम्म पुर्‍याउने कार्यमा पनि यस्तै समूहको संलग्नता देखिएको छ । 

दमक–६ बाट पक्राउ परेका २२ वर्षीय सुशील फियाक (लिम्बु)को बयानका आधारमा पाँचथरको मिक्लाजुङ–३, आरुबोटेस्थित ओडारबाट प्रहरीले एक थान थ्री नट थ्री राइफल र आगोले जलेर क्षति भएको एक थान इन्सास राइफल बरामद गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्