०४ साउन २०८३, सोमबार
पीडीएमा निरन्तर असहमति

लगानीकर्ता ब्याक भएपछि दक्षिण एसियाकै नमूना दमक औद्योगिक पार्क अलपत्र !

मंसिर १२, २०८२
काठमाडौं
लगानीकर्ता ब्याक भएपछि दक्षिण एसियाकै नमूना दमक औद्योगिक पार्क अलपत्र !

करिब एक लाखलाई रोजगारी दिने सपना बाँडिएको दमक औद्योगिक पार्क आयोजना अलपत्र परेको छ । लगानीकर्ता ब्याक भएपछि ५ वर्षअघि शिलान्यास गरिएको चीन–नेपाल मैत्री औद्योगिक पार्क अलपत्र परेको हो । २०७७ फागुन १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्कको शिलान्यास गरेका थिए ।

औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको थियो । चिनियाँ पक्षको ६४ अर्ब लगानीमा निर्माण हुने पार्क विकासकर्ता पक्ष पछाडि हट्दा अलपत्र परेको हो ।

२०७९ चैतमा लगानी बोर्ड र विकासकर्ता ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनीबीच परियोजना विकास सम्झौता(पीडीए)का लागि कुरा अगाडि बढेको थियो । औद्योगिक पार्क निर्माण र सञ्चालनको लागि चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सनले पटक–पटक असहमतl जनाएपछि परियोजना नै अलपत्र पर्ने देखिएको स्रोतले बतायो । पहिलेदेखि नै पीडीएएमा पटक–पटक असहमति जनाइरहेको विकासकर्ताले जेनजी आन्दोलनपछि ब्याक हुने संकेत दिएको स्रोतको दाबी छ । ‘पहिलेदेखि नै डेभलपरले असहमति जनाउँदै आएको थियो । पछिल्लो समय कुनै पनि छलफल भएको छैन,’ स्रोतले भन्यो, ‘जेनजी आन्दोलनपछि विकासकर्ता पछि हट्ने देखिएको छ । पार्कको काम अगाडि नबढ्ने देखिन्छ ।’ 

तर, लगानी बोर्डका प्रवक्ता असमान तामाङले भने नेपाल–चीन मैत्री औद्योगिक पार्कको काम अब के के गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बताए । बोर्डबाट आधिकारिक रूपमा कुनै पनि निर्णय नभएको उनको भनाइ छ । ‘विकासकर्ता पक्षसँग पूर्णरूपमा सहमति नभएपछि छलफलमै थियो । अहिले जस्ताकोतस्तै छ,’ उनले भने, ‘आधिकारिक रूपमा बोर्डबाट केही निर्णय भएको छैन ।’ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा उक्त औद्योगिक पार्क निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले उक्त आयोजनामा विनियोजन गरेको बजेट खर्च कटौतीअन्तर्गत रोक्का गरिदिएको छ । जेनजी आन्दोलनपछि अनिश्चित बनेको माहोलले गर्दा विकासकर्ता पक्ष पछाडि हट्न खोजेको स्रोतको दाबी छ । 

null

झापाका तीन स्थानीय तहहरूमा पर्ने यो औद्योगिक पाकको प्रस्तावित ६४ अर्ब रुपैयाँ लागत निकालिएको थियो । जुन चिनिया पक्षले नै गर्ने भनिएको थियो । दक्षिण एसियाकै नमूना औद्योगिक पार्कका रूपमा निर्माण गरिने महत्वाकांक्षी परियोजनाले ७५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने दाबी गरिएको थियो ।

२०७२ चैत १ गते मन्त्रिपरिषद् बैठकले झापामा दमक औद्योगिक पार्क स्थापना गर्ने घोषणा गरेको थियो । उक्त पार्कलाई २०७५ असोजमा मन्त्रिपरिषद्ले ‘बुट’ (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७७ चैतमा यसको शिलान्यास गरिएको थियो । 

२०७९ चैतमा लगानी बोर्ड र विकासकर्ता ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनीबीच परियोजना विकास सम्झौता(पीडीए)का लागि कुरा अगाडि बढेको थियो । औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा पाएको चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सनले यसपटक पनि असहमति जनाएको हो । 

त्यसअघि नै औद्योगिक पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बोर्डले स्वीकृत गरिसकेको थियो । ६ चरणमा नेपाल भित्रिनेगरी लगानी बोर्डले प्रक्रिया अगाडि बढाए पनि विकासकर्ता पक्षसँग कुरा मिलिरहेको छैन । 

दमक नगरपालिका, गौरादह नगरपालिकाका र कमल गाउँपालिकामा पर्ने दक्षिण एसियाकै नमूना औद्योगिक पाक २ हजार २ सय बिघामा निर्माण गर्ने योजना छ । दक्षिण एसियाकै नमूना पार्कका रूपमा डिजाइन तयार गरिएको पार्कमा घरायसी सामान उत्पादन गर्ने ह्वाइट गुड्स उद्योगदेखि ढुवानी सामग्री उत्पादन गर्ने उद्योगसम्म सञ्चालनमा ल्याउने जनाइएको छ ।

पार्कमा टेक्सटायल तथा गार्मेन्ट उत्पादन उद्योग, खाद्यान्न प्रशोधन र विद्युतीय सूचना प्रविधि सामग्री उत्पादन गर्ने उद्योग, विद्युतीय सवारीसाधनदेखि मोबाइलसम्म उत्पादन गर्ने उद्योग स्थापना गरिने जनाइएको छ । पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वास्थ्य संस्था पनि रहने छ ।

कमेन्ट गर्नुहोस्