३२ असार २०८३, बिहीबार

एसीसी यू–१९ प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया

मंसिर १२, २०८२
काठमाडौं
एसीसी यू–१९ प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वीको रुपमा मलेसियालाई पाएको छ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल शनिबार खेलिने छ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

अर्को सेमिफाइनल आयोजक यूएई र ओमानबीच खेलिने छ । ओमान र यूएईबीचको खेल पनि शनिबार नै खेलिने छ । यूएई समूह ‘बी’ र ओमान समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

समूहगत चरणमा नेपालले लगातार दुई जीत हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीले आफ्नो दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । यो प्रतियोगिता ५० ओभरको हो ।

जारी प्रतियोगितामा नेपाली टोलीका लागि निरज कुमार यादवले शतक र कप्तान अशोक धामीले अर्धशतक बनाएका छन् ।

साउदी अरेबियाविरुद्धको खेलमा निरजले एक सय १४ रन बनाएका थिए । हङ्कङविरुद्धको खेलमा अशोकले ७३ रनको उत्कृष्ट पाली खेलेका थिए ।

१४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान रहेको छ ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । यू–१९ एसिया कपको १२औँ संस्करण आगामी डिसेम्बर १२ देखि २१ तारिखसम्म यूएईमै आयोजना हुँदैछ ।

यू–१९ एसिया कपमा सहभागी हुने आठमध्ये पाँच टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्