२९ असार २०८३, सोमबार

नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

मंसिर १२, २०८२
काठमाडौं
नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ ।

साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआईबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ)ले एनआइबी–जीएमार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआईबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउन्ड) अनुदान उपलब्ध गराउनेछ ।

उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रूपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ ।

नबिल बैंकका सीईओ ज्ञवालीले यस प्रकारका अभियानले साना तथा मझौला उद्यमीहरूको मनोबल बढाउन सहयोग पुग्ने बताए । 'यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ,' उनले भने, 'परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।'

एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रूपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । 'यस प्रकारको सहकार्य सोही प्रकृतिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यस प्रकारका ढाँचा अवलम्बन गर्न सक्छ,' उनले भने ।​

साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रूपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रूपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ ।

एनआईबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकले जनाएको छ ।

एनआईबी–जीए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डीएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरूआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्