१२ असार २०८३, शुक्रबार
निर्माणमा नयाँ संस्कार

म्याद सकिनुअघि नै काम सक्ने ठेकेदार

मंसिर १३, २०८२
विराटनगर
म्याद सकिनुअघि नै काम सक्ने ठेकेदार

ठेकेदार शब्द सुन्नेवित्तिकै धेरैले समयमा काम नसक्ने, म्याद थप्ने र आयोजना अलपत्र पार्ने व्यक्ति सम्झन्छन् । राष्ट्रिय गौरवका आयोजनादेखि गाउँबस्तीका स–साना पुल–पुलेसा र बाटाहरू वर्षौंसम्म पिल्लर मात्र ठड्याएर छोडिएका उदाहरण जताततै भेटिन्छन् ।

तर, उदयपुरका निर्माण व्यवसायी महेश रेग्मी भने अपवादजस्तै बनेका छन्, जसले सम्झौता मितिभन्दा अगाडि नै काम सकेर आयोजना जिम्मा लगाउने गरेका छन् ।

‘रेग्मी निर्माण सेवा’का सञ्चालक रेग्मीका लागि निर्माण व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र होइन, यो एउटा प्रतिष्ठाको विषय पनि हो । धेरैजसो व्यवसायीले गाह्रो मान्ने यो पेसालाई उनी भने सजिलो मान्छन्, तर सर्त एउटै छ– इमानदारिता ।

यही इमानदारिताको पछिल्लो उदाहरण हो कोशी प्रदेशका मन्त्री भुपेन्द्र राईले हालै उद्घाटन गरेको बुवाखोलाको पुल, जुन तोकिएको समयभन्दा एक वर्ष अगाडि नै सकिएको हो । शिलान्यास गरेको एक वर्षमै पुल निर्माण गरेर उद्घाटन गरिएको हो ।

खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलाको १४८ लामो पक्की पुल गत शनिबार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उदघाटन् गरेका थिए । २०८१ मंसिर ६ गते मन्त्री राईले नै पुलको शिलान्यास गरेका थिए । यो कोशी प्रदेश सरकारले बनाएको यो सबैभन्दा लामो पुल हो ।

यसभन्दा अगाडि उदयपुरको त्रियुगा नदीको पुल पनि उनले ९ महिनामै सकेका थिए । १३ करोड लागतको दुई स्पान भएको उक्त पुलको निर्माण सम्पन्न गर्नुपर्ने म्याद एक वर्ष बाँकी छँदै काम सकिएको थियो । तर, रेग्मीले सम्झौता भएको ९ महिनामै काम तमाम गरेर सबैलाई चकित पारिदिएका थिए ।

यो सफलताको पछाडि रेग्मीको अदम्य साहस र सिर्जनात्मक इन्जिनियरिङको कथा जोडिएको छ । गत वैशाखमा सम्झौता गरेर काम थाल्नै लाग्दा असोज १२ गतेको भीषण बाढीले उनको क्रसर प्लान्ट र निर्माण सामग्री बगाइदियो । सामान्यतया यस्तो अवस्थालाई ‘काबु बाहिरको परिस्थिति’ भन्दै निर्माण व्यवसायीले म्याद थपको बहाना बनाउँछन् र काम रोक्छन् । तर, रेग्मी रोकिएनन् ।

बुवा खोलाको पुल बनाउँदा नै विपद्सँग पनि उनले ठुलै संघर्ष गरेका थिए । २०८२ मा आएको बाढीले सामान सुनकोशीमा  पुल बगाएपछि काम गर्न उनले विभिन्न उपाय अपनाए ।

जसमा उनले ५३ सालतिरको आफ्नो पुरानो अनुभव प्रयोग गरे । शुरूमा ड्रम राखेर प्रयास गरे, त्यो सफल नभएपछि भारतबाट मिस्त्री ल्याएर ३५ फिट लम्बाई र १० फिट चौडाइको ठूलो डुङ्गा (नाउ)नै बनाए । त्यही डुङ्गाबाट  खोटाङकै बराहपोखरीबाट निर्माण सामग्री ओसारेर उनले कामलाई निरन्तरता दिए । पुलको स्ल्याब ढलान गर्ने बेलामा उनले कामदारलाई ४८ घण्टासम्म निरन्तर सिफ्टमा खटाए, जसको नतिजा डेढ वर्ष अगाडि नै पुल तयार भयो ।

रेग्मीको कामप्रतिको यो लगाव प्राकृतिक विपत्तिमा मात्र सीमित छैन; आर्थिक अभाव र भुक्तानीको ढिलासुस्तीमा पनि उनी विचलित हुँदैनन् । यसअघि रौतामाई गाउँपालिकाको प्रशासकीय भवन उनले तोकिएको समयभन्दा एक वर्ष अगाडि नै निर्माण सम्पन्न गरेका थिए ।

भवन एक वर्ष अगाडि सके पनि सरकारले बजेट अभाव देखाउँदै उनलाई भुक्तानी दिन एक वर्ष ढिला गरेको थियो । काम सकेर पनि पैसा नपाउँदा धेरैले काम रोक्ने वा आन्दोलन गर्ने बाटो रोज्छन्, तर उनले धैर्यता गुमाएनन् ।

कतिपय आयोजनामा पेस्की रकम नहुँदा पनि उनले आफ्नै स्रोतसाधन परिचालन गरेर काम अघि बढाएका छन् । उनको स्पष्ट मान्यता छ– राज्यको प्रक्रिया आफ्नै ठाउँमा छ, तर व्यवसायीले जिम्मा लिएपछि नाफा–घाटा वा पैसाको बहानामा काम रोक्नु हुँदैन ।

अहिले उनी गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत रसुवा–पानधारेको १५ किलोमिटर सडक कालोपत्रे गर्ने काममा व्यस्त छन् । त्यहाँ पनि चुनौती कम थिएन । काम शुरू गर्न जाँदा पुल नै बाढीले बगाइदियो, जसले गर्दा गाडी वारपार गर्ने अवस्था थिएन । धेरैले पुल बनेपछि मात्र काम गर्न सल्लाह दिए । तर, रेग्मीले त्यहाँ पनि ‘घिर्लिङ’ बनाए । त्यही घिर्लिङबाट वारिपारि निर्माण सामग्री ढुवानी गरेर उनले कामलाई निरन्तरता दिइरहेका छन् । पुसभित्र बेलिब्रिज बन्ने आशामा हात बाँधेर बस्नुको साटो उनले विकल्प खोजे ।

छिटो काम सक्दा गुणस्तरमा प्रश्न उठ्छ कि भन्ने शंकालाई रेग्मीको विगतका कामले गलत सावित गरिदिएका छन् । उनले निर्माण गरेको खोटाङको खानीडाँडा विमानस्थलको धावनमार्ग आजसम्म मर्मत गर्नुपरेको छैन । त्यस्तै, दालपा–हुर्लुङ सडकको ‘सब–बेस’ सामान्यतया एक–डेढ वर्ष टिक्ने भए पनि उनले बनाएको ४–५ वर्षसम्म जस्ताको तस्तै छ ।

सोलुखुम्बुको नेचा सल्यानमा काम गर्न जाँदा त्यहाँका तत्कालीन गाउँपालिका अध्यक्ष शुरूमा निर्माण व्यवसायीप्रति निकै सशंकित थिए । तर, रेग्मीले काम गर्ने शैली र गति देखेपछि उनी कायल भए र पछि उनैले रेग्मीको खुलेर प्रशंसा गरे ।

२०४९/५० सालदेखि निर्माण क्षेत्रमा प्रवेश गरे पनि पछिल्लो ५–७ वर्षदेखि भने रेग्मीले यो पेसालाई पूर्ण व्यावसायिक र व्यवस्थित बनाएका छन् । उनीसँगै गाईघाट सिटी हस्पिटल र काठ उद्योगमा पनि लगानी छ ।

निर्माण व्यवसायमा देखिएको विकृतिबारे उनी खुला विचार राख्छन् । एउटै ठेकेदारले २०–२५ वटा ठेक्का ओगटेर राख्ने प्रवृत्तिको उनी विरोधी हुन् । अहिले ५ वटा मात्र लिन पाउने नियमलाई उनी सही मान्छन् । साथै, राज्यले पनि बजेट सुनिश्चितता नभई ‘सस्तो लोकप्रियता’का लागि ठेक्का खोल्न नहुने र भुक्तानी प्रक्रिया सहज बनाउनुपर्ने उनको सुझाव छ ।

बाढी, पहिरो वा बजेट अभावको बहानाबाजीभन्दा माथि उठेर काम गर्ने रेग्मीको कार्यशैली अन्य व्यवसायीका लागि पनि एउटा गतिलो उदाहरण बन्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्