
दक्षिण–पूर्वी एशियाभर परेको मुसलधारे वर्षाले व्यापक बाढी र पहिरो निम्त्याउँदा सयौं मानिसको मृत्यु भएको छ । त्यत्ति नै मानिस बेपत्ता भएका छन् ।
मनसुनसँगै आएको उष्णकटिबन्धीय आँधी–तूफानका कारण इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा हालसम्मकै सबैभन्दा भीषण बाढी आएको छ, जसले लाखौं मानिस प्रभावित भएका छन् ।
बुधबार इन्डोनेसियाको सुमात्रा टापुमा अत्यधिक वर्षा शुरू भएको थियो । सयौं मानिस अझै बेपत्ता रहेकाले मृतक संख्या थप बढ्ने अनुमान गरिएको छ । हजारौं व्यक्ति अझै फसेका छन्, कतिपय छतमा बसेर उद्धारको प्रतीक्षामा छन् ।
शनिबारसम्म इन्डोनेसियामा ३०० भन्दा बढी र थाइल्यान्डमा १६० जनाको मृत्यु भइसकेको छ । मलेसियाबाट पनि केही मृत्युको रिपोर्ट आएको छ ।
सेन्यार नाम दिइएको दुर्लभ उष्णकटिबन्धीय चक्रवातका कारण इन्डोनेसियामा विनाशकारी पहिरो र बाढी आएको हो । घरहरू बगाइएका छन् र हजारौँ संरचना डुबानमा परेका छन्।
इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार सुमात्रामा मात्र झण्डै ३०० जना अझै बेपत्ता छन् ।
निरन्तर खराब मौसमका कारण उद्धार कार्य प्रभावित बनेको छ । दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको भए पनि सयौं अझै फसेका छन् ।
थाइल्यान्डको दक्षिणी सोंगखला प्रान्तमा पानीको तह ३ मिटर (१० फिट) बढेको थियो र दशकयताकै भीषण बाढीमा कम्तीमा १४५ जनाको मृत्यु भयो ।
थाइल्यान्डका १० प्रभावित प्रान्तमा १६० भन्दा बढी जनाले ज्यान गुमाएका छन् र ३८ लाखभन्दा बढी प्रभावित भएका छन्।
हात याई शहरमा एउटै दिन ३३५ मिलिमिटर वर्षा भएको थियो, जुन ३०० वर्षयताकै भारी वर्षा मानिएको छ । बाढी घटेसँगै मृतक संख्या तीव्र रूपमा बढेको अधिकारीहरूले बताएका छन् ।
हात याईस्थित एक अस्पतालमा शवगृह भरिएपछि शव राखिएका रेफ्रिजरेटर ट्रकमा सार्नुपरेको एएफपीले उल्लेख गरेको छ ।
सरकारले राहत प्याकेजको घोषणा गरेको छ, जसअन्तर्गत परिवारका सदस्य गुमाएको घरपरिवारलाई दुई मिलियन बाट (६२ हजार डलर) सम्म क्षतिपूर्ति दिने जनाएको छ ।
छिमेकी मलेसियामा मृतक संख्या धेरै नभए पनि क्षति उतिकै विनाशकारी छ । उत्तरी पर्लिस राज्यका केही भाग डुबानमा परेका छन्, २ जनाको मृत्यु भएको छ र दशौं हजार मानिस अस्थायी आश्रयमा बसेका छन् ।
एसियाका अन्य क्षेत्रहरूमा पनि चक्रवातको असर देखिएको छ । श्रीलंकामा ‘डिट्वाह’ चक्रवातका कारण १३० भन्दा बढीको मृत्यु र करिब १७० जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
श्रीलंका हाल वर्षैदेखिको सबैभन्दा ठूलो मौसमजन्य विपत्तिसँग जुधिरहेको छ । सरकारले आकस्मिक अवस्था घोषणा गरेको छ ।
१५ हजारभन्दा बढी घर नष्ट भएका छन् र करिब ७८ हजार मानिस अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् । देशको करिब एक तिहाई भागमा विद्युत् र खानेपानी सेवा अवरुद्ध छ ।
मौसमविद्हरूका अनुसार दक्षिण–पूर्व एशियामा देखिएको यस वर्षको चरम मौसम फिलिपिन्समा आएको टाइफुन ‘कोटो’ र मलक्का जलडमरूमध्यमा दुर्लभ रूपमा बनेको चक्रवात ‘सेन्यार’ बीचको परस्पर प्रभावका कारण हुनसक्छ ।
यो क्षेत्रको मनसुन (जुन–सेप्टेम्बर) सामान्यतया भारी वर्षा ल्याउने भए पनि जलवायु परिवर्तनले वर्षा, आँधी–तूफान र बाढीका ढाँचामा ठूलो परिवर्तन ल्याएको वैज्ञानिकहरूले बताउँछन् । यसले बढी वर्षा, आकस्मिक बाढी र तेज हावाहुरी निम्त्याइरहेको छ ।