
ऐतिहासिक एसेस टेस्ट क्रिकेट शृंखलामा अस्ट्रेलिया र इङ्ल्यान्डबीचको दोस्रो टेस्ट ब्रिसबेनमा जारी छ ।
दोस्रो टेस्ट शुरू हुनुअघि अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर म्याथ्यू हेडनले एउटा अनौठो घोषणा गरेका थिए । हेडनले जारी एसेस शृंखलामा इङ्ल्यान्डका खेलाडी जो रुटले शतक बनाउने दाबी गरेका थिए ।
पूर्वक्रिकेटर हेडनले जारी एसेस शृंखलामा जो रुटले शतक नबनाए आफू सबै कपडा खोलेर मेलबर्न क्रिकेट मैदानमा नाङ्गै दौडने घोषणा गरेका थिए ।
तर, जो रुटले हेडनको इज्जत जोगाएका छन् । दोस्रो टेस्टको पहिलो पालीमै इङ्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान जो रुटले शतक बनाएका छन् ।
पहिलो पालीमा इङ्ल्यान्डको टोली तीन सय ३४ रनमा अलआउट भएको थियो । तर, जो रुट एक्लैले इङ्ल्यान्डको खातामा अविजित एक सय ३८ रन थपेका थिए ।
रुटले शतक बनाएपछि हेडनले अब मेलबर्न क्रिकेट मैदानमा नाङ्गै दौडनु नपर्ने भएको छ । यसका लागि हेडनकी छोरी ग्रेस हेडनले रुटप्रति आभार व्यक्त गरेकी छन् ।
ग्रेस आफैं पनि चर्चित क्रिकेट कमेन्टेटर हुन् । आफ्नो पिताको अनौठो घोषणाप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘रुटप्रति आभारी छु । तपाईंले शतक बनाएका कारण हामीले अनौठो दृश्य देख्नु परेन ।’