०३ साउन २०८३, आइतबार
अमेरिका-भेनेजुएला तनाव

भेनेजुएलामाथि दबाब बढाउँदै ट्रम्प, ट्यांकर जफतपछि निशानामा क्रुड बोक्ने जहाज

मंसिर २६, २०८२
काठमाडौं
भेनेजुएलामाथि दबाब बढाउँदै ट्रम्प, ट्यांकर जफतपछि निशानामा क्रुड बोक्ने जहाज

अमेरिकाले भेनेजुएलाली क्रुड बोक्ने जहाजहरूलाई लक्षित गर्दै कडाइ बढाउन थालेको छ ।

यसै सन्दर्भमा, यस हप्ताको पहिलो जफतपछि क्यारिबियन क्षेत्रमा अझै धेरै ट्यांकर नियन्त्रणमा लिने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो विषयको जानकारी राख्ने छ जना स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अमेरिकी कदम भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोमाथि थप दबाब सिर्जना गर्ने रणनीतिको हिस्सा हो ।

भेनेजुएलाली तेल बोक्ने जहाजमाथि यो पहिलो प्रत्यक्ष कारबाही हो । अमेरिका २०१९ देखि भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लागू गर्दै आएको छ । हाल दक्षिण क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति पनि बाक्लिएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन मदुरोविरुद्ध झनै आक्रामक बन्दै गएको छ ।

जफतको जोखिम बढेपछि भेनेजुएलाली क्रुड बोक्ने जहाजका मालिक, अपरेटर र एजेन्टहरू सतर्क बनेका छन् ।

केहीले भेनेजुएलाली जलक्षेत्रबाट तय भइसकेका यात्रा समेत पुनर्विचार गर्न थालेको शिपिङ क्षेत्रका स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

स्रोतहरूले भेनेजुएलाको तेल मात्र होइन, अमेरिकाले प्रतिबन्ध लगाएका अन्य देश, विशेषगरी इरानको तेल बोक्ने ट्याङ्करहरू पनि आगामी हप्ताहरूमा कारबाहीको दायराभित्र पर्न सक्ने बताएका छन् । विषय संवेदनशील भएकाले स्रोतहरूले नाम सार्वजनिक नगर्न अनुरोध गरेको रोयटर्सले जनाएको छ ।

भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएको औपचारिक प्रतिक्रिया आएको छैन । भेनेजुएलाली सरकारले भने अमेरिकी कदमलाई 'चोरी'को संज्ञा दिएको छ ।

यसैबीच, व्हाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भविष्यका कदमबारे टिप्पणी नगरे पनि राष्ट्रपति ट्रम्पको प्रतिबन्ध नीति कडाइका साथ कार्यान्वयन हुने बताइन् ।

'प्रतिबन्धित र अनाधिकृत तेल बोक्ने जहाजहरूलाई हामी बेवास्ता गर्दैनौं,' उनले भनिन् ।

स्रोतका अनुसार अमेरिकाले लक्षित ट्याङ्करहरूको सूची तयार गरिसकेको छ ।

अमेरिकी न्याय विभाग र होमल्यान्ड सेक्युरिटीले महिनौंदेखि यस्तो कारबाहीको तयारी गरिरहेको पुष्टि भएको छ ।

आर्थिक दबाब बढ्ने आशंका

विश्लेषकहरूका अनुसार तेल निर्यात रोकिने अवस्था आएमा मदुरो सरकारको आर्थिक हैसियत कमजोर बन्नेछ । अमेरिकी ट्रेजरीले भर्खरै भेनेजुएलामा क्रुड लोड गरेका छ वटा सुपरट्याङ्कर र भेनेजुएलाका चार नागरिकमाथि प्रतिबन्ध घोषणा गरेको छ । यी जहाज नै जफतका लागि प्राथमिक लक्ष्य हुन् कि होइनन् भन्ने खुलेको छैन ।

अमेरिकाले यसअघि क्यारिबियन र प्रशान्त क्षेत्रमा ड्रग्स बोक्ने भन्दै २० भन्दा बढी जहाजमाथि कारबाही गरिसकेको छ, जसमा ८० भन्दा बढीको मृत्यु भएको बताइन्छ । विज्ञहरूले यसलाई गैरन्यायिक हत्या बन्न सक्ने चेतावनी दिए पनि अमेरिका यसलाई 'आतंककारी समूहविरुद्धको आवश्यक कारबाही'को रूपमा व्याख्या गर्छ ।

‘श्याम बेडा’को निगरानी

अमेरिकी अधिकारीहरूको भनाइअनुसार हालको रणनीति भेनेजुएला, इरान र कहिलेकाहीँ रुसको तेल चीनमा पुर्‍याउने ‘श्याम बेडा’ भनिने ट्याङ्करहरूलाई लक्षित गर्दै अघि बढाइएको हो । एउटा जहाजले एकैपटक विभिन्न प्रतिबन्धित देशको तेल बोकेको देखिन थालेपछि निगरानी कडाइ गरिएको हो ।

पहिलो जफतमा परेको ‘स्किपर’ नामक जहाजपछि कम्तीमा एक शिपरले भर्खरै लोड गरिएका तीन कार्गो (६ लाख ब्यारेलभन्दा बढी मेराय ग्रेड क्रुड)को यात्रा रोकिदिएको छ । जहाजहरू भेनेजुएलाको तटनजिकै रोकिएका छन् ।

बन्दरगाह प्रवेशपछि कारबाही

अमेरिकी फौजले भेनेजुएलाका बन्दरगाह र नजिकका अन्तर्राष्ट्रिय समुद्री क्षेत्रहरूलाई कडाइका साथ निगरानी गरिरहेको छ । जहाज अन्तर्राष्ट्रिय पानीमा प्रवेश गरेपछि कारबाही गर्ने योजना रहेको बताइन्छ ।

अमेरिकाले जफत गरेका जहाजहरूलाई आफ्ना बन्दरगाहमा ल्याएर कानूनी प्रक्रियामार्फत तेल कार्गो जफत गर्ने तयारी गरेको छ । थप कारबाहीको समय बन्दरगाह प्रवेश र तेल झार्ने तयारी कति छिटो पूरा हुन्छ भन्नेमा निर्भर रहने स्रोतहरूले बताएका छन् । पुराना, अस्पष्ट स्वामित्व भएका र राम्रो बीमा नभएका जहाजलाई धेरै बन्दरगाहले स्वागत नगर्ने चुनौती पनि देखिएको छ ।

नोभेम्बरमा प्रतिबन्ध सूचीमा परेको ‘सीहर्स’ नामक जहाजलाई अमेरिकी युद्धपोतले केही समय निगरानी गरेको र पछि त्यो जहाज भेनेजुएला पुगेको स्रोतहरूले बताएका छन् ।

यस विषयमा कानूनी विवाद पनि उठेको छ । भेनेजुएलाले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय डकैती भने पनि कानून विशेषज्ञहरूका अनुसार यसलाई कानूनी अर्थमा डकैती मानिँदैन । 'सरकारी स्वीकृत कारबाही भएकाले कानूनी परिभाषामा डकैती पर्दैन,' ब्रिटिश समुद्री कानून विज्ञ लरेन्स एटकिन-टायलेटले बताएका छन् । 'यो राजनीतिक अभिव्यक्ति बढी हो ।'

– रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्