२२ जेठ २०८३, शुक्रबार
ठगीका पटके अभियुक्त

पूर्वराजाको भाञ्जा भन्दै ठगी धन्दा, हिमानी ट्रस्टको नाम लिएर ६ करोड झ्वाम

हेलिकप्टर चढेर जर्सी बाँड्न पुगेका थिए पोखरा, खेल पदाधिकारीदेखि कर्मचारी नै पीडित
मंसिर २६, २०८२
काठमाडौं
पूर्वराजाको भाञ्जा भन्दै ठगी धन्दा, हिमानी ट्रस्टको नाम लिएर ६ करोड झ्वाम

ठगीका ‘मास्टरमाइन्ड’ मनोजकुमार भन्ने अनुपकुमार सिंह पुन: पक्राउ परेका छन् ।

स्थायी घर असन भएर ललितपुरको इमाडोल बस्ने सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जा बताउँदै हिमानी ट्रस्टको नाममा बेलायत पठाइदिने भनेर ५५ जनाबाट ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

‘बेलायतमा ड्रिमल्यान्ड होटल सञ्चालनका लागि नेपाली कामदार चाहिएको भन्दै जनही २५ लाख रुपैयाँ लाग्छ, अहिलेलाई ६ देखि ८ लाख रुपैयाँ दिए पुग्छ’ भन्दै सिंहले दर्जनौं व्यक्तिबाट पैसा उठाएका छन् ।

शुक्रबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सिंहबाट पीडित भएकाहरूको उजुरीको चाङ लागेको छ ।

केही पीडितलाई त सिंहले बेलायत जाने भनेर सुटकेससहित काठमाडौं बोलाएर अलपत्र पारेका सिंहलाई झापा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको हो । सिंहको गिरफ्तारी यो पहिलोपटक भने होइन ।

उनी पटक–पटक गरी ७ पटक विभिन्न कसुरमा पक्राउ परेर छुटेका पटके हुन् । २०८१ फागुनमा पक्राउ परेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विगतमा सिंहले पोखरा गोल्डकप आयोजना हुँदा हेलिकप्टर चढेर खेलाडीलाई ट्रयाकसुट बाँड्न पुगेका थिए ।

‘हेलिकप्टर चढेर ट्रयाकसुट बाँड्न पुगेका सिंह ठूलै हैसियत भएका मान्छे रहेछन् भन्ने पर्‍यो । खेल पदाधिकारी र कर्मचारीलाई सिंहले छोराछोरी बेलायत पठाइदिन्छु भन्दै पैसा मागेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पैसा लिएर काठमाडौं आएपछि उनी सम्पर्कविहीन भएका रहेछन् ।’

उनले त्यतिबेला पनि आफूलाई पूर्वराजाको भाञ्जा बताएर एक करोड ३८ लाख ६५ हजार रुपैयाँ ठगी गरेका थिए । शुरूमा अनुसन्धान कार्यालयले पक्राउ गरेका सिंहलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट मुद्दा चलाउन उतै बुझाएको थियो ।

अचम्मको कुरा त सिंहले ठगीको रकम आफ्नो खातामा हाल्न नलगाएर चालकदेखि वकिलसम्मको खातामा रकम जम्मा गराउँथे ।

गत वर्ष प्रहरीमा आएकी एक पीडित महिलाबाटै अमेरिका पठाइदिन्छु भन्दै सिंहले ९७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

सैनिक पोशाकमा फोटो खिचाएर सिंहले आफूलाई विमान चलाउने क्याप्टेन हुँ भन्दै महिलालाई अमेरिका पठाइदिने आश्वासनमा रकम ठगेका थिए ।

ललितपुर परिसरले सरकारी वकिलमार्फत सिंहविरुद्ध ठगी कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको थियो । अदालतले सिंहसँग १२ लाख धरौटी माग गर्‍यो । शुरूमा उनी धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि कारागार चलान भएका थिए । तीन महिना कारागार बसेर छुटेका सिंह पछि पुन: ठगी धन्दामा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंको ज्ञानेश्वरमा सिंहले कार्यालय नै स्थापना गरेर बसेका थिए । प्रहरी छापा मार्न पुग्दा उनले पूर्वराजा ज्ञानेन्द्रको फोटो टाँसेर राखेका थिए ।

आलिसान कार्यालय खोलेर उनले सोझासाझालाई बेलायत र अमेरिका पठाइदिन्छु भन्दै रकम असुली धन्दा चलाउने गरेका थिए ।

अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार वैदेशिक रोजगारका नाममा बेलायत पठाउने भन्दै करोडौं ठगी गरेको उजुरी परेपछि सिंहलाई पक्राउ गरिएको हो ।

सरकारी कार्यालयको छाप समेत राखेका सिंहविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत कीर्तेमा समेत मुद्दा चलाउने तयारी गरेको छ ।

‘विश्वास दिलाउन सिंहले नक्कली भिसादेखि वैदेशिक रोजगार विभागका डकुमेन्ट समेत बनाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘विगतमा पारस शाहकी छोरीको इन्गेजमेन्टमा लैजाने भन्दै सिंहले पैसा उठाएर ठगी गरेका थिए । अहिले बेलायतमा होटल खोल्ने र कामदार पठाउने भन्दै पैसा ठगेका रहेछन् ।’

हातहतियारदेखि ठगी र कीर्तेसम्मका अभियुक्त

सिंह पटके हुन् । प्रहरीले उनको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) हेर्दा उनीविरुद्ध यसअघि ७ वटा कसुरमा मुद्दा चलिसकेको खुलेको छ ।

शुरूमा २०५७ मा सिंहविरुद्ध सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको थियो । त्यसपछि २०७३ मा जिल्ला प्रहरी परिसर काठमाडौंबाट सिंहविरुद्ध ठगीको कसुरमा मुद्दा चलेको थियो ।

त्यसपछि २०७७ मा उनीविरुद्ध काठमाडौं परिसरबाटै हातहतियार तथा खरखजाना र ठगीको कसुरमा दुईवटा मुद्दा चलेको थियो ।

२०८० मा पनि काठमाडौंबाटै ठगी मुद्दा, २०८१ मा ललितपुर परिसरबाट ठगी कसुर र अहिले फेरि ठगी कसुरमै पक्राउ परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्