०६ साउन २०८३, बुधबार
एनपीएल-२ फाइनल

शुरूदेखिकै दाबेदार सुदूरपश्चिम र पछिल्लो समय लय समातेको लुम्बिनीबीच उपाधि भिडन्त

मंसिर २७, २०८२
काठमाडौं
शुरूदेखिकै दाबेदार सुदूरपश्चिम र पछिल्लो समय लय समातेको लुम्बिनीबीच उपाधि भिडन्त

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । 

लुम्बिनी पहिलोपटक फाइनल पुगेको हो भने सुदूरपश्चिम पहिलो सिजनको उपविजेता हो । पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिमले उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनल पुगेको हो । 

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो ।  गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जीत हात पारेको थियो ।

गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो । तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण छ । जसले जित्यो, उसले च्याम्पियन बन्दै इतिहास रच्नेछ ।

शुरूदेखि नै दाबेदार मानिएको सुदूरपश्चिम र पछिल्ला खेलबाट हौसिएको लुम्बिनीबीच उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

एनपिएल सिजन–२ मा लुम्बिनी लायन्सले विजयी शुरूआत गरेको थियो । उसले लिग चरणको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित हासिल गर्दै विजयी सुरुवात गरेको हो ।

जितबाट लिगको शुरूआत गरेको लुम्बिनीले आगामी तीन खेलमा भने निराशाजनक प्रदर्शन गर्‍यो । उसले दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, तेस्रो खेलमा काठमाण्डु गोर्खाजसँग २२ रन तथा चौथो खेलमा सुदूरपश्चिम रोयलसँग ७ विकेटको हार बेहोरेको थियो । 

इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले आफ्नो लय कायम राखेको छ। टोली लगातार पाँच खेलमा विजयी भएको छ। यसअघि लिगमा सुदूरपश्चिमले ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेको थियो । 

रोयल्सका कप्तान ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताए । उनले भने, 'गत वर्ष फाइनलनमा चुकेका हौँ। सबै कमीकमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो ।'

लायन्सका कप्तान पौडेलले पनि आफूहरू च्याम्पियन बन्न सबै पक्षबाट तयार रहेको बताए । उनले भने, 'हामीहरू पछिल्लो पाँच खेल लगातार जितेर फाइनलमा पुगेका हौँ। हाम्रो ध्यान अब ट्रफी जित्नेमा छ ।'​

एपीएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्