
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्लिनमा प्रमुख नेताहरूसँग भएको वार्तापछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता ‘अहिलेसम्मकै सबैभन्दा नजिक’ पुगेको बताएका छन् ।
तर, केही अधिकारीहरूले भू-भाग (क्षेत्रीय) विषयमा अझै पनि गम्भीर मतभेद कायम रहेको बताएका छन् ।
सोमबार ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा फ्रान्स, जर्मनी, बेलायत र नाटोका नेताहरूसँग लामो र निकै राम्रो वार्ता गरेको बताए ।
‘हामीलाई युरोपेली नेताहरूबाट जबर्जस्त समर्थन मिलिरहेको छ। उनीहरू पनि यो युद्ध अन्त्य गर्न चाहन्छन्’, ट्रम्पले भने ।
उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि धेरै पटक संवाद भएको उल्लेख गर्दै भने, ‘मलाई लाग्छ, हामी अहिले अहिलेसम्मकै सबैभन्दा नजिक पुगेका छौं । अब के गर्न सकिन्छ, त्यो हेर्नेछौं ।’
यसअघि जेलेन्स्कीले अमेरिकी तथा युरोपेली नेताहरूसँगको वार्ता कठिन भए पनि फलदायी भएको बताएका थिए ।
जेलेन्स्की, अमेरिकी विशेष दूत स्टिभ विटकोफ नेतृत्वको प्रतिनिधिमण्डल, ट्रम्पका ज्वाइँ जारेड कुश्नर तथा युरोपेली नेताहरू सहभागी उच्चस्तरीय वार्ता दुई दिनसम्म बर्लिनमा भएको हो ।
दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा घातक द्वन्द्वमध्ये एक मानिएको यो युद्ध अन्त्य गर्न वासिङ्टनले किभमाथि मस्कोलाई केही रियायत दिन दबाब बढाइरहेका बेला वार्ता भएको हो ।
वार्तापछि जारी संयुक्त विज्ञप्तिमा युरोपेली नेताहरूले अमेरिकासहित मिलेर युक्रेनलाई ‘बलियो सुरक्षा ग्यारेन्टी’ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । यसअन्तर्गत युरोपको नेतृत्वमा बन्ने ‘बहुराष्ट्रिय युक्रेन फोर्स’ रहने र त्यसलाई अमेरिकाको समर्थन हुने उल्लेख गरिएको छ ।
उक्त फोर्सले युक्रेनभित्रै सञ्चालन गर्ने, युक्रेनी सेनाको पुनर्निर्माणमा सहयोग गर्ने, आकाश सुरक्षालाई मजबुत बनाउने र सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्ने काम गर्ने बताइएको छ । युक्रेनी सेना शान्तिकालीन अवस्थामा ८ लाखको स्तरमा कायम रहने उल्लेख छ ।
रोयटर्ससँग कुरा गरेका दुई अमेरिकी अधिकारीले प्रस्तावित सुरक्षालाई ‘नाटोको धारा ५ जस्तै’ भनेका छन्, जुन आपसी रक्षा प्रतिबद्धतासँग सम्बन्धित छ ।
यसअघि युक्रेनले ठोस पश्चिमी सुरक्षा ग्यारेन्टीको बदलामा नाटो सदस्यता लिने महत्त्वाकांक्षा त्याग्न सक्ने संकेत गरेको थियो ।
बर्लिनमा सञ्चारकर्मीसँग कुरा गर्दै जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताअन्तर्गत भू–भाग नियन्त्रणबारे निर्णय गर्नु अघि सुरक्षा ग्यारेन्टीको स्पष्ट खाका आवश्यक रहेको बताए । उनले युद्धविरामको प्रभावकारी अनुगमन पनि ग्यारेन्टीमा समेटिनुपर्ने बताए ।
युक्रेनी अधिकारीहरू यस्ता ग्यारेन्टीको स्वरूपबारे सतर्क देखिएका छन् । सन् १९९१ मा स्वतन्त्र भएपछि अमेरिका र युरोपबाट प्राप्त सुरक्षा आश्वासनले पनि रुसको २०१४ र २०२२ को आक्रमण रोक्न नसकेको उनीहरूको अनुभव छ ।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले बर्लिन वार्तामा वासिङ्टनले उल्लेखनीय सुरक्षा ग्यारेन्टी प्रस्ताव गरेको बताए ।
जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा मर्जले भने, ‘बर्लिनमा अमेरिकाले कानूनी र भौतिक ग्यारेन्टीका रूपमा जे प्रस्ताव गरेको छ, त्यो साँच्चिकै महत्त्वपूर्ण छ ।’
मर्जले युरोपेली संघले जफत गरिएका रूसी सम्पत्ति युक्रेनलाई सहयोग गर्न प्रयोग गर्ने विषयमा सहमति गर्नुपर्नेमा जोड दिए । त्यसो नगरे युद्ध जारी राख्नु निरर्थक छ भन्ने सन्देश मस्कोलाई नजाने उनले चेतावनी दिए । तर, त्यस्ता सम्पत्ति प्रयोग गर्दा हुने जोखिम सबै सदस्य राष्ट्रले बाँड्नुपर्ने उनले बताए ।
यसैबीच, युरोपेली संघले रूसलाई तेल निर्यातमार्फत युद्ध वित्तपोषण गर्न मद्दत गर्ने कम्पनी तथा व्यक्तिहरूविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ ।
मस्कोमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिन ‘शान्तिका लागि खुला र गम्भीर निर्णयका पक्षमा’ भए पनि आफूले ‘अस्थायी विश्राम र छलकपट’ भनेका प्रस्तावको विरोधमा रहेको बताए ।
बर्लिनबाट अल जजीराका संवाददाता डोमिनिक केनले वार्ताको नतिजा अझै अस्पष्ट रहेको बताएका छन् ।
‘हिजो र आज बर्लिनमा अमेरिकी दूतहरूले युक्रेनी पक्षसँग कुरा गरेका छन् । जेलेन्स्कीको कार्यालयका अनुसार ती वार्ता सकिएका छन्’, केनले भने ।
‘तर, अमेरिकी नेतृत्वमा तयार पारिएको २८ बुँदे योजनामध्ये कति भाग अझै कायम छ भन्ने स्पष्ट छैन । त्यस योजनाका केही बुँदा मस्कोलाई स्वीकार्य थिए, तर किभ र युरोपेली अधिकारीहरूले कडा विरोध गरेका थिए’, उनले थपे ।
केनका अनुसार जर्मन सरकारले शान्ति सम्झौताभन्दा सैन्य तथा गुप्तचर सहकार्यमा केन्द्रित छुट्टै १० बुँदे प्रस्ताव पनि अघि सारेको छ । बाँकी विवादित विषयमा युरोपेली नेताहरूबीच छलफल जारी रहने अपेक्षा गरिएको छ ।