२२ जेठ २०८३, शुक्रबार
म्यानमार पुर्‍याएर मानव तस्करी

तस्करले म्यानमार पुर्‍याएका युवाको कहानी– 'स्क्याम' गर्न नमान्दा करेन्ट लगाएर यातना

पुस १, २०८२
काठमाडौं
तस्करले म्यानमार पुर्‍याएका युवाको कहानी– 'स्क्याम' गर्न नमान्दा करेन्ट लगाएर यातना

वैदेशिक रोजगारीमा जाने चाहना राखेका तीन नेपाली युवा मानव तस्करको जालोमा परेर म्यानमार पुगी निकै दु:ख पाएको तथ्य बाहिर आएको छ ।

पीडित युवाहरूले हालै मात्र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका छन् ।

पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार सेल्स एन्ड मार्केटिङको काममा लगाउने भन्दै उनीहरूसँग जनही डेढदेखि दुई लाख रुपैयाँ लिएर नेपालबाट भारत, थाइल्यान्ड हुँदै म्यानमार पुर्‍याइएको थियो । त्यहाँ जबरजस्ती अनलाइन ‘स्क्यामिङ’मा लगाइयो ।

गोकर्णेश्वर नगरपालिका– ५ झोगालस्थित आईशा खाजाघरमा पीडितहरूको सर्लाहीका राजनारायण महतोसँग चिनजान भएदेखि यो विषयको शुरूआत भएको थियो ।

घटनाको नालीबेली

राजनारायणका छोरा म्यानमारमा ‘फ्यूजन एन्ड रुद्र’ नामको कम्पनीमा काम गर्दै हुन्छन् । कामको खोजीमा लागेका युवाहरूलाई राजनारायणले ‘मासिक एक लाखसम्म कमाइ हुने कम्पनीमा जाने भए छोरासँग कुरा गरिदिन्छु’ भनेर आश्वासन दिन्छन् । तर, त्यसका लागि जनही एक लाख ५० हजार रुपैयाँ लाग्ने राजनारायणले बताउँछन् ।

एक महिनाभित्र सबै प्रक्रिया पूरा गरिदिने आश्वासनपछि पीडित युवाहरूले राजनारायणका छोरा रञ्जितको नम्बर माग्छन् । रञ्जित र युवाहरूबीच ह्वाट्सएपमा कुरा हुन्छ ।

रञ्जितले ‘नेपालमा बसेर पैसा कमाउन सक्दैनौ, तिमीहरू विदेश आउने भए सुनौलो अवसर छ । कम्पनीमा कम्प्युटर टाइपिस्ट र कस्टुमरलाई कम्पनीको प्रोडक्ट सेल्स गर्ने काम हो । मासिक ८० हजारदेखि एक लाखसम्म तलब हुन्छ,’ भनेर फकाउँछन् ।

रञ्जितले अझै फकाउँदै युवाहरूलाई ‘तिमीहरूले राम्रो टाइप गर्न जानिहालेका छौ । अंग्रेजी बोल्न सकिहाल्छौ । काम पनि सजिलो छ । म पनि यहीँ छु । राम्रो काम गर्दै गयौ भने तलब पनि बढ्छ । खाने–बस्ने व्यवस्था कम्पनीले नै व्यहोर्छ । तलब चोखो बच्छ,’ भनेर आश्वासन दिन्छन् । अनि राहदानीको फोटो पठाउन लगाउँछन् । भिसाको सबै प्रोसेसिङ मिलाइदिने भन्दै उनले पैसा आफ्ना बुवा राजनारायणलाई दिन भन्छन् ।

राजनारायण पेशाले गेस्ट हाउस सञ्चालक पनि हुन् । सिनामंगलमा उनले गेस्ट हाउस सञ्चालन गरेका छन् । तीनजना युवाहरूले त्यहीँ पुगेर उनलाई जनही डेढ लाख रुपैयाँ दिन्छन् । उनीहरूले भिसालगायत कागजात माग्छन् । राजनारायणले विमानस्थलमै उड्ने बेला दिने बताउँछन् । तीनै जनालाई शुरूमा भारतको नयाँ दिल्लीमा पुर्‍याउँछन् ।

दिल्लीमा केही दिन राखेपछि म्यानमारस्थित याङ्जोन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्छन् । विमानस्थलमा म्यानमारकै दुईजना उनीहरूलाई रिसिभ गर्न आइपुग्छन् । त्यहाँबाट गाडी र मोटरबोट हुँदै ११/१२ घण्टापछि म्यानमारको म्याउडी भन्ने ठाउँमा सञ्चालित ‘फ्यूजन एन्ड रुद्र’ नामको कम्पनीमा पुर्‍याइन्छ ।

त्यहाँ तीन जनाले रञ्जितलाई भेट्छन् । अनि उनीहरूलाई अमेरिकी नागरिकसँग फोनमा कुरा गर्न र बिटक्वाइनमा लगानी गर्न प्रेरित गर्न भनिन्छ । ‘जति धेरै व्यक्तिहरूलाई फसाएर पैसा जम्मा गर्न सक्छौ, तिमीहरूलाई उति नै फाइदा हुन्छ र कमिसन आउँछ,’ भन्दै तीनैजना युवालाई काम गर्न भनिन्छ ।

सेल्स एन्ड मार्केटिङको काम गर्न भनेर पुगेका युवाहरूले आफूहरूलाई जबरजस्ती अनलाइन स्क्यामिङको काममा लगाउन थालेपछि उक्त काम नगर्ने बताउँछन् ।

युवाहरूले ‘हामी अनलाइन स्क्यामिङको काम गर्दैनौं, नेपाल फिर्ता पठाइदेऊ,’ भन्छन् । कम्पनीमा कार्यरत कर्मचारीहरूले ‘हामीले तिमीहरूलाई यहाँ ल्याउन नेपाली एजेन्टमार्फत चिनियाँ नागरिकले खर्च गरेका हुन्, हामीहरूले भनेअनुसारको काम गर्नुपर्छ, अरू विकल्प छैन’ भनेपछि उनीहरूलाई जबर्जस्ती काममा लगाइन्छ ।

युवाहरूलाई सामाजिक सञ्जालमा बोल्दा के बोल्ने, के नबोल्ने, च्याट रिप्लाई कसरी गर्ने, अमेरिकी नागरिक, त्यो पनि पुरुषलाई कसरी ट्र्यापमा पारी बिटक्वाइनमा लगानी गर्न लगाउने जस्ता तालिम समेत दिइन्छ ।

‘हामीहरूलाई फेसबूक र डेटिङ एपजस्ता माध्यममा फेक अकाउन्ट बनाएर सफल व्यवसायी, राम्रो आम्दानी, घर, कारलगायत विलासी जीवन व्यतीत गरिरहेका अमेरिकीलाई ट्र्यापमा पार्न लगाइन्थो,’ पीडित युवाहरूले ब्यूरोमा दिएको जाहेरीमा भनिएको छ, ‘आफ्नो सक्कली नाम, थर र ठेगाना नबताई च्याटमा ढुक्क भएर कुरा गर्न लगाइन्थ्यो ।’

एक जनाले एक दिन पाँचजना अमेरिकी नागरिकको ह्वाट्सएप नम्बर माग्नुपर्ने टाक्स उनीहरूलाई थियो ।

कम्पनीले दिएको ‘टाक्स’ पूरा गर्न नसकेपछि युवाहरूलाई मानसिक एवं शारीरिक यातना दिन शुरू गरियो । पीडितले दिएको जाहेरीमा भनिएको छ, ‘यस्तो काम हामी गर्दैनौं भनेपछि कुटपिट गर्न, फ्रग जम्प गराउन, करेन्ट लगाएर यातना दिन, दासको रूपमा प्रयोग गर्न थाले । हामीलाई दैनिक १४/१५ घण्टा काममा लगाइयो ।’

आफूहरूमाथि ज्यादती भएपछि युवाहरूले म्यानमारमै रहेका रञ्जित र नेपालमा रहेका उनका बुवा राजनारायणलाई ह्वाट्सएपमा फोन गरेर नेपाल फिर्ता पठाउन अनुनयविनय गर्न थाले ।

उनीहरूले बेवास्ता गरेपछि म्यानमारमै रहेका चिनियाँ नागरिकलाई नेपाल पठाउनुस् भन्दा ७ हजार अमेरिकी डलर तिरेमात्रै फिर्ता पठाइदिने बताए । चिनियाँ सञ्चालकसँग उनीहरूको नोकझोक चलिरहेकै बेला म्यानमारको सेनाले कम्पनीमा छापा मार्‍यो । सञ्चालकहरू भागे । सेनाले उद्धार गरेर तीनजनालाई यही मंसिर २४ गते नेपाल डिपोर्ट गरिदियो ।

नेपाल फर्किएर आफूहरूलाई झुक्याएर गैरकानूनी काममा लगाउने एजेन्टहरूलाई पक्राउ गरी कारबाही गर्न उनीहरूले ब्यूरोमा उजुरी दिएका छन् ।

म्यानमारको सेनाले छापा मार्दा रञ्जितलाई पनि पक्राउ गरेर नेपाल फिर्ता पठाइदिएको थियो । ब्यूरोले उजुरीकै आधारमा रञ्जितसँगै उनका साथी खोटाङका मणिराज राईलाई यही मंसिर २६ पक्राउ गरेको छ ।

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीका अनुसार म्यानमारमा नेपालीलाई झुक्याएर लैजाने र भनेको काम नगरेपछि दास बनाएर राख्ने गरेको देखिन्छ ।

‘यो घटनामा पीडितहरूले धेरै कष्ट व्यहोरेको देखिन्छ,’ पंगेनीले लोकान्तरसँग भने, ‘गत आर्थिक वर्षमा मात्रै म्यानमारमा मानव तस्करी गरेको घटनामा ९ वटा मुद्दा दर्ता भएको थियो ।’ 

salt training

कमेन्ट गर्नुहोस्