
इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा भएको अक्सनमा सहभागी अधिकांश क्लबले अनुभवी र चर्चित खेलाडीभन्दा आफ्नो ध्यान अनक्याप्ड युवा खेलाडीमा केन्द्रित गरेका छन् ।
चेन्नई सुपर किङ्सले दुईजना अनक्याप्ड खेलाडीका लागि अप्रत्यासित रूपमा करिब २९ करोड भारतीय रुपैयाँ खर्च गर्यो ।
अनक्याप्ड खेलाडी कार्तिक शर्मालाई चेन्नई सुपर किङ्सले १४ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
राजस्थानबाट घरेलु क्रिकेट खेल्ने १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान कार्तिकको न्यूनतम् मूल्य ३० लाख रुपैयाँ राखिएको थियो ।
चेन्नई सुपर किङ्सले अर्का अनक्याप्ड खेलाडी प्रशान्त वीरका लागि पनि नसोचेको रकम खर्चियो । चेन्नईले उनलाई पनि १४ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
बायाँहाते अलराउन्डर प्रशान्त भारतको उत्तर प्रदेशको टोलीबाट खेल्छन् । उनी स्पिन बलर हुन् । कार्तिक शर्मा र प्रशान्त वीरको न्यूनतम् मूल्य ३० लाख रुपैयाँ निर्धारण गरिएको थियो ।
यसैगरी, अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भए । अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो ।
उनलाई खरिद गर्न अन्य क्लबले पनि बोली लगाएका थिए । तर, कोलकाता उनलाई खरिद गर्न सफल भयो । उनी आईपीएलको इतिहासमै सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बने ।
श्रीलंकाका अनुभवी खेलाडी मथिशा पाथिराना १८ करोड भारतीय रुपैयाँमा बिक्री भए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो ।
उनी आईपीएलको इतिहासमा बिक्री हुने हालसम्मकै सबैभन्दा महंगा श्रीलंकाली खेलाडी हुन् । ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बेंगलुरुले दुई करोड भारतीय रुपैयाँमा खरिद गर्यो ।
अक्सनमा प्रभावशाली दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरलाई भने दिल्ली क्यापिटल्सले खरिद गर्यो । उनलाई दिल्लीले आधारभूत मूल्य दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, प्रभावशाली दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरले आईपीएलको आगामी संस्करण दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् । उनलाई दुई करोडमा दिल्लीले खरिद गरेको हो ।
श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगा दुई करोड भारतीय रुपैयाँमा बिक्री भए । उनलाई लखनउ सुपर जायन्ट्सले खरिद गरेको हो ।
यसैगरी, दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी क्विन्टन डी काकलाई मुम्बई इन्डियन्सले एक करोड भारतीय रुपैयाँमा खरिद गरेको छ ।
न्युजिल्यान्डका चर्चित खेलाडी एलन फिनलाई भने कोलकाता नाइट राइडर्सले अक्सनमा दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको छ ।
यसैगरी, बेन डकेटलाई दिल्ली क्यापिटल्सले दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको छ । भारतीय खेलाडी वेंकटेश ऐयरलाई रोयल च्यालेन्जर्स बेंगलुरुले सात करोड भारतीय रुपैयाँमा खरिद गर्यो ।
यसैगरी, वेस्ट इन्डिजका अकिल होसैनलाई चेन्नई सुपर किङ्सले दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको छ । रवि बिस्नोईलाई राजस्थान रोयल्सले सात करोड २० लाख रुपैयाँमा खरिद गर्यो ।
यसैगरी, अक्सनको प्रारम्भिक चरणमा ज्याक फ्रेजर म्याकगर्क, पृथ्वी शा, डेभोन कनवे, सरफराज खान, गस एटकिन्सन, रचिन रविन्द्र, लियाम लिभिङस्टोन, वियान मुल्डर, श्रीकर भरत, म्याट हेनरी, जोनी बेयरस्टो, रहमनुल्लाह गुरबाज, जामी स्मिथ, राहुल चाहर, यश धुल र दीपक हुड्डा बिक्री भएनन् ।
अनक्याप्ड खेलाडी आकिब डार भने आठ करोड ४० लाख भारतीय रुपैयाँमा बिक्री भए । उनलाई दिल्ली क्यापिटल्सले किनेको हो । उनको आधारभूत मूल्य केवल ३० लाख भारतीय रुपैयाँ थियो । उनी भारतको घरेलु क्रिकेट जम्मु एन्ड कस्मिरको टोलीबाट खेल्छन् ।
यसैगरी, ३० लाख रुपैयाँ आधारभूत मूल्य रहेका नमन तिवारीलाई लखनउ सुपर जायन्ट्सले एक करोड भारतीय रुपैयाँमा खरिद गर्यो । सिमरजीत सिंह, राज लिम्बानी, वंश बेदी र तुषार रहेजा भने पहिलो चरणमा बिक्री भएनन् ।
यसैगरी, अनक्याप्ड खेलाडी अशोक शर्मालाई गुजरात टाइटन्सले ९० लाख भारतीय रुपैयाँमा किन्यो । उनी तिब्रगतिका बलर हुन् ।
यसैगरी, कोलकाता नाइट राइडर्सले अनक्याप्ड खेलाडी विकेकिपर ब्याट्सम्यान तेजस्वी सिंहलाई तीन करोडमा खरिद गर्यो ।
लखनउ सुपर जायन्ट्सले अर्का अनक्याप्ड विकेटकिपर ब्याट्सम्यान मुकुल चौधरीलाई दुई करोड ६० लाख भारतीय रुपैयाँमा किन्यो ।