
भारतीय रेल्वेले आफ्नो सम्पूर्ण ब्रोडगेज (बीजी) रेलमार्ग विद्युतीकरण गर्ने लक्ष्यतर्फ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। रेल मन्त्रालयका अनुसार हालसम्म ९९ प्रतिशतभन्दा बढी ब्रोडगेज नेटवर्क विद्युतीकरण भइसकेको छ र बाँकी खण्डहरू पनि छिट्टै सम्पन्न हुने चरणमा छन्।
आइतबार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले पछिल्ला केही वर्षमा विद्युतीकरणको गति असाधारण रूपमा बढेको जनाएको छ। सन् २०१९ देखि २०२५ को अवधिमा मात्रै भारतीय रेल्वेले ३३ हजार किलोमिटरभन्दा बढी रेलमार्ग विद्युतीकरण गरेको छ। यो औसतमा दैनिक १५ किलोमिटरभन्दा बढी मार्गमा काम सम्पन्न भएको तथ्यांक हो।
रेल्वेले भनेको छ, 'यो दूरी लगभग जर्मनीको सम्पूर्ण रेल नेटवर्क बराबर रहेको छ, जसले स्वच्छ र प्रभावकारी रेल यातायात विस्तारप्रति भारतको प्रतिबद्धता र कार्यान्वयन क्षमताको स्पष्ट संकेत गर्छ।'
हालसम्म भारतीय रेल्वेको ब्रोडगेज नेटवर्कको ९९.२ प्रतिशत हिस्सा विद्युतीकरण भइसकेको छ, जसले २५ राज्य तथा केन्द्रशासित प्रदेशलाई समेटेको छ।
विश्वकै सबैभन्दा ठूलो र व्यस्त रेल सञ्जालमध्ये एक सञ्चालन गर्दै आएको भारतले प्रायः सम्पूर्ण ब्रोडगेज प्रणाली विद्युतीकरण गर्नु अन्तर्राष्ट्रिय स्तरमै उल्लेखनीय उपलब्धि भएको रेल्वे मन्त्रालयको दाबी छ।
विद्युतीकरणले डिजेल इन्धनको खपत घटाउनुका साथै कार्बन उत्सर्जन कम गरेको, सञ्चालन खर्च घटाएको र रेल सेवाको गति तथा दक्षता बढाएको मन्त्रालयले जनाएको छ।
धेरै विकसित मुलुकहरू अझै पनि संरचनागत र लागतसम्बन्धी सीमाका कारण डिजेल इन्जिनमा निर्भर रहँदा भारतले स्पष्ट योजना र निरन्तर कार्यान्वयनमार्फत अघि बढेको रेल्वेको भनाइ छ।
अन्तिम खण्डहरूको काम पूरा भएसँगै भारत विश्वकै सबैभन्दा ठूलो पूर्ण रूपमा विद्युतीकृत रेल प्रणाली सञ्चालन गर्ने मुलुकमध्ये पर्नेछ। यसले भारतीय रेल्वेको ‘नेट–जिरो कार्बन उत्सर्जन’ लक्ष्य हासिल गर्न सहयोग पुर्याउनुका साथै दैनिक लाखौँ यात्रुलाई स्वच्छ, छिटो र भरपर्दो यातायात सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।