
पछिल्ला वर्ष शहर/बजारमा कफी संस्कृति फस्टाउँदो छ । बजारका चोक/चोकमा खुलेका साना-ठूला कफी शपमा बिहानदेखि अबेरसम्म विभिन्न स्वादका कफीको चुस्की लिने पारखीको ठूलो जमात भेटिन्छ ।
शहरमा तिनै कफी शप सञ्चालन गर्ने युवा उत्पादन गरिरहेका छन् बुटवलका शंकर शर्मा । बुटवलमा सानो लगानीबाट शर्माले लुम्बिनी बारिस्टा (कफी बनाउने) टेर्निङ सेन्टरमार्फत् बजारमा बिक्ने र अहिले रोजाइमा रहेको सीप युवालाई सिकाएर उद्यमसँग जोडिरहेका हुन् ।
कफी कल्चरबाट लोभिएर भारतमा अध्ययन गरी देशमा केही गर्न कस्सिएका तथा मेहनत र समर्पणको कारण सिंगो युवा पुस्ताका चुपचाप मोडल बनेका छन्, शंकर । सँगै केही युवाहरूलाई साथमा लिएर कफीको सुगन्ध फैलाउने काम गरिरहेका छन् ।
शंकरबाट उजागर भएको सफलताले नयाँ युवा पुस्तालाई तरंगित तुल्याएको छ । युवाहरू अध्ययन वा वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन भन्दा देशमै उद्यम गर्न प्रेरित गर्नेगरी उनले तालिम दिइरहेका छन् ।
देशमै सम्भावना देखेका शंकर भन्छन्, ‘देशमा सम्भावना नदेख्ने टिनएजर भाइबहिनीलाई सम्भावना देखाएर हराएका सपना उठाउने हिम्मत निकाल्ने ऊर्जा भर्नुछ ।’
यहाँ तालिम लिएकाहरूमध्ये सबै रोजगार तथा स्वरोजगार बनेको निश्चित जस्तै छ । ‘हाम्रा उत्पादित जनशक्तिले आफूलाई अब्बल सावित गरिरहेका छन्’, शर्मा भन्छन्, ‘युवाको यो सफलताले आफूसँगै बारिष्टाभित्र र बाहिर समेत हौसला बढाएको छ ।’
गुल्मी बिरबासमा जन्मिएका शंकर कफीबारे सामान्य जानकारी पनि नहुने गाउँले युवाबाट आज कफी नर्सरी, खेती, प्रशोधनदेखि कफीका परिकारसम्मका सीप दिने प्रशिक्षक बनेका छन् । त्यति मात्र होइन, युवालाई देशमै रोजीरोटीको बाटो देखाउने भरपर्दो संस्थाको सञ्चालक पनि ।
बुटवल उपमहानगरपालिका–९, मिलनचोकमा सञ्चालन गरिएको लुम्बिनी बारिस्टा एन्ड हस्पिटालिटी ट्रेनिङ प्रालिमार्फत उनले हजारौं किशोर किशोरीलाई कफी र खानाका विभिन्न परिकार बनाउने सीप सिकाउँछन् । यस्तै, विदेश जानेहरूका लागि दक्ष जनशक्ति बनाइरहेका छन् ।
प्रालिका म्यानेजिङ डाइरेक्टरसमेत रहेका शंकरको समूहले केवल कफी बनाउने कक्षा चलाएका मात्र होइनन्, उनीहरू कफीको खेती हुने गाउँमा पुगेका छन् । विज्ञलाई समेत साथमै लगेर किसानलाई कफी खेती कसरी शुरू गर्ने, बिरुवा उमार्ने, मल-पानी व्यवस्थापन, रोग–कीट नियन्त्रणदेखि ‘रेड चेरी’ संकलन र प्रशोधनका व्यवहारिक सीपसमेत सिकाइरहेका छन् ।
शंकरसँगै सहकार्यमा छन् सूर्य जिसी, लक्ष्मी रिजाल, प्रकाश थापा र सन्तोष बुढा मगर । उनीहरूसँगै विभिन्न विषयका १२ जना प्रशिक्षकले बुटवलको मिलनचोक, भैरहवाको बुद्ध चोक र कपिलवस्तुको जितपुर चोकमा रहेका प्रशिक्षण केन्द्रमा बारिष्टा र हस्पिटालिटी सम्बन्धी सीप सिकाइरहेका छन्, युवा पुस्तालाई दक्ष बनाउन सघाइरहेका छन् ।
आधारभूत, एड्भान्स र प्रोफेसनल अन्तर्गतका आवधिक तालिम सञ्चालन भइरहेको शंकर बताउँछन् । यसका लागि सम्बन्धित सरकारी निकायबाट विषयगत अनुमति लिइएको छ भने, शुल्क पनि सोही अनुरूप तोकिएको उनको भनाइ छ ।
उनले हालसम्म पाँच हजार भन्दा धेरै युवा पुस्तालाई दक्ष बनाइसकेका छन् । ती सबै स्वरोजगार र रोजगारयुक्त बनेका छन् । ती सबैको फेहरिस्तसहितको तथ्यांक सुरक्षित रहेको उनीहरूको दाबी छ । मुलुकका ५० जिल्लाबाट १६ देखि ४५ वर्ष उमेर समूहको पुस्ताले यहाँ कफी, बेकरी, सुसी, ममोजदेखि विभिन्न खानाका परिकार बनाउन सिकिरहेको छ ।
नेपालमा माग अनुसार कफी उत्पादन नहुँदा विदेशबाट वर्षेनी करोडौं मूल्यको आयात भइरहेको छ । उनीहरूले विदेशी कफीको आयात रोक्न गुल्मीको आँपचौरमा कफीको नर्सरीदेखि खेती प्रबर्द्धनसम्मका काम गरिरहेका छन् । त्यहाँ उत्पादन भएको सबै कफी खपत गर्नेगरी शहरमा योजना बनाइरहेका छन् ।
त्यो गाउँमा मात्रै करिब एक लाख बिरुवा कफी लगाउने तयारीमा रहेको शर्माको भनाइ छ । गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरलाई कफीको हब मानिन्छ । अहिले गुल्मीका धेरै ठाउँमा कफीको खेती हुन्छ । यहाँको कफी विश्वमै रुचाइएको अन्तर्गत पर्छ । गाउँबाट शुरू भएको शर्माको कफी यात्राले आज धेरै युवालाई रोजगारी, किसानलाई सम्भावना र नेपाली कफीलाई विश्वबजारसम्म पुर्याउने बाटो खोलिदिएको छ ।
शंकरले सिकाउने कफी परिकार केवल क्याफेको पेयमा सीमित छैनन्, उनी प्रशिक्षार्थीलाई प्रतिस्पर्धा गराउँदै कफीको बहुपक्षीय प्रयोग पनि देखाउँछन् । एस्प्रेसो, अमेरिकानो, क्यापाचिनो, लाते, मोका, म्याकियातो, कोल्ड ब्रु, आइस्ड कफी, फ्रेप्पुचिनो, कफी–केक/कफी बिस्कुट, कफी चकलेट/कफी प्रालिन आदि परिकारका साथै बेकरी र सुसीका विभिन्न प्रकार पनि यिनले बनाउन सिकाइरहेका छन् ।
यी प्राय: परिकारका बारेमा सिकाउने विषयगत प्रशिक्षक समेत राखिएको छ । उनका अनुसार बोल्न, सुन्न नसक्ने व्यक्तिले पनि तालिम लिएर आत्मनिर्भर भएका छन् ।
‘रोजगारी सिर्जना, आत्मनिर्भरता र देशमा आफैं केही गर्छु भन्ने भावना युवामा हुनुपर्छ’ शर्मा भन्छन्, ‘लाखौं रकम खर्चेर विदेश जाने लहडका बीच देशमै मेहनतले, धैर्यले र निरन्तरताले सबै सम्भव छ । सफलता रातोरात पाइन्छ भन्ने होइन, सपना र लगानी सानो भए पनि मेहनत र लगनशीलताले ठूलो उपलब्धिमा परिणत हुन्छ ।’
अहिले देशका २३ जिल्लामा व्यावसायिक कफी खेती हुन्छ भने, कफी खेती शुरू भएको जिल्लाको संख्या ४५ पुगेको छ । उनलाई युवा पलायन भएको देख्दा दु:ख लाग्छ ।
‘म त दशकदेखि कफी बनाइरहेको छु । यसैबाट आम्दानी र युवालाई सीप सिकाएको छु । स्वदेशको कामलाई सानो मान्नु हुँदैन’, उनले भने ।