०३ साउन २०८३, आइतबार

राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगितामा १२ टोली

पुस ६, २०८२
काठमाडौं
राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगितामा १२ टोली

नेपाल बास्केटबल संघको आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म ली-निङ बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

बौद्धमा हुने उक्त प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता पनि हो ।

प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । त्यसबाट चारवटा टोली राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछन् । राष्ट्रिय बास्केटबल लिगमा चार टोली यसअघि नै छनोट भइसकेका छन् ।

ली निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी यसअघि नै राष्ट्रिय लिगमा छनोट भएका हुन् ।

आइतबार ली-निङ बास्केटबल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा आईएसए, तरहर र नेपाल आर्मी रहेका छन् । समूह ‘बी’ मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी छन् ।

यसैगरी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब रहेका छन् । समूह ‘डी’ मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र शंकरदेव कलेज परेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा पुग्ने चारवटै टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्