
समकालीन विश्व फूटबलका महान खेलाडीमध्येका एक अर्जेन्टिनी फूटबल स्टार लियोनल मेसी आफ्नो तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किइसकेका छन् । तर, मेसीको भारत भ्रमणका क्रममा शुरू भएको विवाद अझै साम्य भएको छैन ।
भ्रमणका क्रममा साल्ट लेक सिटी स्टेडियममा समर्थकले उपद्रो गरेपछि मेसी निर्धारित समयभन्दा अगाडि नै रंगशालाबाट बाहिरिएका थिए । त्यसपछि कार्यक्रममा व्यवस्थापन गतिलो नभएको आरोप लगाउँदै स्थानीय प्रशासनले मुख्य आयोजक शतान्दु दत्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका दत्ताले प्रहरीलाई दिएको बयानअनुसार समर्थक र अन्य व्यक्तिले आफूलाई छाएपछि मेसी रुष्ट बनेका थिए । ‘केही व्यक्तिले मेसीलाई पिठ्युँमा छुने र अंगालो हाल्ने काम गरेकाले उनी रुष्ट बनेका थिए । त्यसैले उनी छिट्टै नै रंगशालाबाट बाहिरिएका हुन्,’ बयानका क्रममा दत्ताले भनेका छन् ।
बयानका क्रममा कार्यक्रमका मुख्य आयोजक दत्ताले मेसीको पारिश्रमिकको विषयमा पनि खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार क्रिकेटर स्टार विराट कोहलीले आईपीएलको एक सिजनमा पाउने पारिश्रमिकभन्दा चार गुणा बढी पारिश्रमिक तीन दिनको भ्रमणका लागि मेसीलाई दिइएको थियो ।
दत्ताका अनुसार मेसीलाई तीन दिनको भ्रमणका लागि ८९ करोड भारतीय रुपैयाँ पारिश्रमिक उपलब्ध गराइएको थियो । यसका अतिरिक्त ११ करोड भारतीय रुपैयाँ मेसीको पारिश्रमिकको करका रूपमा सरकारलाई बुझाइएको थियो ।
समग्रमा मेसीलाई तीन दिनको भ्रमणका लागि आयोजकले एक अर्ब भारतीय रुपैयाँ उपलब्ध गराएको जानकारी दत्ताले दिएका छन् । मेसीलाई उपलब्ध गराइएको रकममध्ये ३० प्रतिशत रकम प्रायोजकबाट प्राप्त भएको बताइएको छ ।
थप ३० प्रतिशत रकम टिकट बिक्रीबाट जुटाइएको दत्ताले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय विराट कोहलीले आईपीएल खेल बापत २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् ।
यो अनुपातमा तीन दिनको भ्रमणका लागि मेसीलाई उपलब्ध गराइएको पारिश्रमिक विराट कोहलीले आईपीएल खेले बापत पाउने पारिश्रमिकभन्दा पाँच गुणा भन्दा बढी हो ।