
विराटनगरका दुई वटा क्यासिनोमा प्रहरीले छापा मारेर उच्च पदस्थ व्यक्ति र क्यासिनोका प्रबन्धकसहित २० जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति क्यासिनोबाट पक्राउ पर्नेमा विश्वविद्यालयका पूर्वनिर्देशकदेखि जेनजी अभियन्तासम्म रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले होटल बिगमा सञ्चालित ‘गोल्डेन क्यासिनो’ र होटल रत्नामा सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’मा एकसाथ अपरेसन चलाएको थियो । जसमध्ये रत्ना होटलबाट १४ जना र बिग होटलबाट ६ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ । तर, यी क्यासिनोहरूले लामो समयदेखि नेपालीहरूलाई भारतीय आधार कार्ड प्रयोग गराएर निर्वाध रूपमा जुवा खेलाउँदै आएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेको सूचीमा पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरी र बिग होटलकै डाइरेक्टर हरि भट्टराई पनि छन् ।
यस्तै, जेनजी अभियन्ताका रूपमा परिचित रुपेश दाहाललाई प्रहरीले क्यासिनोबाट पक्राउ गरेको हो ।
दिउँसो प्रशासनमा गएर ‘सुशासन भएन’ भन्दै वकालत गर्ने तर राति क्यासिनोको पे–कार्ड बोकेर जुवाको खालमा भेटिनु आश्चर्यजनक रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
क्यासिनो नियमावली, २०७० अनुसार क्यासिनोहरूमा आधुनिक अटोमेटिक मशिनबाट मात्र खेल खेलाउनुपर्ने प्रावधान छ । तर, विराटनगरका क्यासिनोहरूले यो नियमको धज्जी उडाउँदै हातैले तास र कौडा (लाइभ गेम) खेलाइरहेको पाइएको छ ।
प्रहरीका अनुसार विराटनगरका क्यासिनोमा झापा र सुनसरीका नागरिक पनि आउने गरेको पाइएको छ ।
पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए ।
मोरङ सहायक प्रमुख जिल्ला अधिकारी कोइराला र मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वको टोलीले आइतबार राति छापा मारेको थियो ।
यस्तो छ पक्राउ परेकाहरूको सूची :
बिग होटल (गोल्डेन क्यासिनो) बाट पक्राउ परेकाहरू:
१) रामकृष्ण गौतम (४५ वर्ष), काभ्रे – (डाइरेक्टर भनी बताएका)
२) हरि भट्ट (५३ वर्ष), बैतडी – (डाइरेक्टर भनी बताएका)
३) सुरेन्द्रबहादुर चन्द (४१ वर्ष), बैतडी – (स्टाफ)
४) खेम श्रेष्ठ (५५ वर्ष), विराटनगर–६ – (सेक्युरिटी इन्चार्ज)
५) मेदनी शिवाकोटी (४५ वर्ष), झापा – (स्टाफ)
६) साजन साह (३६ वर्ष), विराटनगर–८
रत्ना होटल (च्याम्पियन जोन क्यासिनो) बाट पक्राउ परेकाहरू:
१) लोकेन्द्रबहादुर बस्नेत (४३ वर्ष), सोलुखुम्बु (हाल विराटनगर) – (क्यासिनो सञ्चालक)
२) रोशन गिरी (४० वर्ष), झापा – (डान्स सञ्चालक)
३) कृष्णकुमार कुर्मी (२६ वर्ष), विराटनगर–१ – (डान्सर)
४) बबिककुमार मण्डल (२४ वर्ष), विराटनगर–१ – (डान्सर)
५) राज लामा (३१ वर्ष), काठमाडौं (हाल विराटनगर) – (डान्सर)
६) रुपेश दाहाल (२७ वर्ष), इटहरी–५ – (डान्सर भनिएका/अभियन्ता)
७) आदेश विक (२३ वर्ष), सुन्दरहरैचा–४ – (डान्सर)
८) महम्मद जाकिर हुसेन (४२ वर्ष), बुढीगंगा–२
९) तेजराज गिरी (४५ वर्ष), विराटनगर–१ – (पूर्व डाइरेक्टर, पूर्वाञ्चल विश्वविद्यालय)
१०) घनश्याम शर्मा (५५ वर्ष), झापा
११) सुरज राय (२६ वर्ष), कटहरी–४
१२) सन्तोष बस्नेत (३८ वर्ष), उदयपुर
१३) प्रमोद घिमिरे (२९ वर्ष), इटहरी–८
१४) पवन गोस्वामी (३९ वर्ष), विराटनगर–७