११ साउन २०८३, सोमबार

अमेरिकी दूतसँगको वार्तापछि जेलेन्स्कीले अघि सारे शान्तिको नयाँ प्रस्ताव

पुस ११, २०८२
काठमाडौं
अमेरिकी दूतसँगको वार्तापछि जेलेन्स्कीले अघि सारे शान्तिको नयाँ प्रस्ताव

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिकी दूतहरूसँग भएको वार्तालाई सकारात्मक भनेका छन् । 

जेलेन्स्कीका अनुसार बिहीबार अमेरिकी दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग करिब एक घण्टा चलेको टेलिफोन वार्ताबाट शान्ति प्रक्रियालाई अघि बढाउने सन्दर्भमा नयाँ विचार आएको छ । 

उनले उक्त संवादबाट ढाँचा, भेटघाट र समयसीमाका हिसाबले वास्तविक शान्ति नजिक ल्याउने नयाँ उपाय प्राप्त भएको बताएका छन् ।

उक्त प्रतिक्रिया उनले अमेरिका र युक्रेनका दूतहरूबीच फ्लोरिडामा सहमति भएको अद्यावधिक २० बुँदे शान्ति योजनाको विवरण सार्वजनिक गरेको एक दिनपछि दिएका हुन् ।

जेलेन्स्कीले विटकोफ र कुश्नरलाई अमेरिकी राष्ट्रपति ट्रम्प तथा उनका परिवारलाई क्रिसमसको शुभकामना समेत पठाइदिन आग्रह गरेको बताएका छन् ।

यसैबीच, क्रेमलिनले अमेरिकी पक्षबाट रूसी दूतमार्फत् ल्याइएका प्रस्तावहरूको विश्लेषण भइरहेको जनाएको छ ।

रूसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले ती प्रस्ताव अध्ययन गरिरहेको र राष्ट्रप्रमुखको निर्णयअनुसार अमेरिकासँग संवाद अघि बढाइने बताएका छन् ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेपछि युद्ध शुरू भएको हो । युद्ध अन्त्यका लागि ट्रम्प र उनका दूतहरूले युक्रेन र रूस दुवै पक्षसँग निरन्तर वार्ता गरिरहेका छन् ।

पछिल्ला दिनहरूमा केही प्रगति देखिएको बताउँदै जेलेन्स्कीले अमेरिकी दूतहरूले अघि सारेका ‘राम्रा विचार’को प्रशंसा गरेका छन् । उनले अझै केही संवेदनशील विषयमा काम गर्न बाँकी रहेको स्वीकार गरे पनि अमेरिकी टोलीसँग मिलेर ती विषयहरू समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

जेलेन्स्कीका अनुसार युक्रेनका प्रमुख वार्ताकार तथा सुरक्षा अधिकारी रुस्तेम उमेरोभले अमेरिकी टोलीसँग वार्ता निरन्तरता दिनेछन् ।

अमेरिका र युक्रेनबीच सहमति भएको २० बुँदे शान्ति योजना केही हप्ता अघि विटकोफले तयार पारेको प्रारम्भिक मस्यौदाको अद्यावधिक संस्करण हो । प्रारम्भिक मस्यौदा रूसको आक्रामक मागअनुकूल भएको भन्दै कीभ र युरोपेली मुलुकहरूले त्यसलाई युक्रेनको आत्मसमर्पण सरह ठानेका थिए ।

अद्यावधिक प्रस्तावमा युक्रेनको पूर्वी क्षेत्रबाट सेना फिर्ता गर्ने सम्भावना र त्यसको सट्टा निशस्त्रीकृत क्षेत्र बनाउने विषय समावेश गरिएको जेलेन्स्कीले बताएका थिए । साथै, रूसले पुनः आक्रमण गरेमा समन्वित सैन्य प्रतिक्रिया जनाउन अमेरिका, नाटो र युरोपेली मुलुकबाट सुरक्षा प्रत्याभूति दिने प्रस्ताव पनि योजनामा समेटिएको छ ।

पूर्वी औद्योगिक क्षेत्र डोनेत्स्कबारे जेलेन्स्कीले ‘स्वतन्त्र आर्थिक क्षेत्र’को अवधारणा सम्भावित विकल्पका रूपमा अघि सारेका छन् । युक्रेनी सेना फिर्ता हुने कुनै पनि क्षेत्र युक्रेनकै प्रशासन र प्रहरीद्वारा सुरक्षा गरिनुपर्ने उनले स्पष्ट पारेका छन् ।

हाल रूसले डोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र छिमेकी लुहान्स्क क्षेत्रको करिब ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यी दुवै क्षेत्रलाई संयुक्त रूपमा डोनबास भनिन्छ ।

अमेरिकाको नेतृत्वमा चलिरहेको शान्ति वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीमाथि सम्पूर्ण डोनबास रूसलाई सुम्पन दबाब दिँदै आएका छन् । तर, जेलेन्स्कीले हालसम्म कुनै पनि भूभाग छोड्न अस्वीकार गर्दै बलियो सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेना डोनबासबाट नहटे बलपूर्वक कब्जा गरिने चेतावनी दिँदै आएका छन् ।

कूटनीतिक प्रयास अघि बढिरहे पनि युद्ध भने जारी छ । युक्रेनी सेनाले बिहीबार दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा क्रुज मिसाइल आक्रमण गरेको जनाएको छ ।

युक्रेन सीमासँग नजिक रहेको नोभोशाख्तिन्स्क रिफाइनरी कब्जामा रहेको पूर्वी युक्रेनमा रूसी सेनालाई इन्धन आपूर्ति गर्ने मुख्य केन्द्र मानिन्छ ।

उता, रूसी रक्षा मन्त्रालयले डोनेत्स्क क्षेत्रको स्वियातो–पोक्रोभ्स्के बस्ती आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । 

यसअघि यसै साता युक्रेनी सेना पूर्वी सहर सिभेर्स्कबाट पछि हटेको थियो।  सिभेर्स्क कब्जामा परेसँगै रूस युक्रेनको नियन्त्रणमा रहेका स्लोभियान्स्क र क्रामाटोर्स्क सहर नजिक पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्