
मध्यपूर्वी एशियाको अधिकांश भूभागमा विकास भएको इस्लामधर्म र दक्षिण एशिया तथा आसपासवर्ती भूभागमा विकास भएको वैदिक सनातन धर्मबीच ठूलो भिन्नता छ ।
पहिलो कुरा त यी दुईको विकासको समयक्रममै ठूलो अन्तर छ । वैदिक सनातनीहरू वैदिक धर्मलाई अनादि मान्दछन् भने इस्लाम धर्म करिब १५ सय वर्षअघि विकास भएको धर्म हो ।
अर्को कुरा; वैदिक सनातनीहरू जे गर्दछन् इस्लाम धर्मावलम्बीहरू त्यसको विपरीत देखिन्छन् । तथापि केही कुरामा समानता पनि भेटिन्छन् । यस आलेखमा यी दुईबीचमा देखिएका भिन्नता तथा समानता र त्यसको कारणबारे केलाउने प्रयास गरिएको छ ।
विश्वका प्राय: सबै मुसलमानहरूले मान्ने इस्लामधर्मको आधार कुरान हो, जसलाई सातौं शताब्दीतिरका हजरत मोहम्मदको वाणी मान्ने गरिएको छ । उनलाई ४० वर्षको उमेरमा ईशदूतको तर्फबाट सपनामा जुन ज्ञान प्राप्त भएको थियो त्यही नै कुरान हो, जुन ज्ञान उनले आफूले प्राप्त गरेको ६ महिनापछि दुनियाँका सामु प्रकट गरेका थिए ।
शुरूमा मौखिक परम्परामा सीमित हुँदै आएको कुरानलाई जैनबिन सावित लगायत ४३ जना विद्वानले लिपिबद्ध गर्ने काम गरेका थिए भने त्यसको संकलन गर्ने काम अबु बकरले गरेका थिए । तथापि प्रकाशनको काम भने छपाइको युग शुरू भएपछि नै भएको हो । शुरूमा कुरान अरबीभाषामा थियो । यसलाई विभिन्न भाषामा अनुवाद गरी प्रचार गर्ने काम पनि छपाइको युग शुरू भएपछि नै भएको हो ।
कुरानमा ११४ सुरह (अध्याय) र ६२२६ आयत (श्लोक)हरू छन् । लामो समयसम्म कुरान अर्थात् इस्लाम धर्मको रूपमा थियो । यद्यपि मोतजली, करामी, असरी आदि केही सम्प्रदाय र सुफीवाद आदिले दार्शनिकरूप दिने प्रयास नगरेका होइनन् तर ती सबै कुनै न कुनै रूपमा धर्मको आवरणबाट बाहिर आउन सकेका थिएनन् । त्यसैले त्यसले दर्शनको रूप पाएको अबू याकूब किन्दी (८३०–८७० ) पछि नै देखिन्छ भने त्यसपछिका अल फरावी तथा गजालीजस्ता विद्वानले यसलाई विश्वव्यापी बनाएका थिए । फलत: यही दर्शन नै युरोपेली दर्शनको पुनर्जागरणको कारण बन्न पुगेको पाइन्छ ।
अब लागौं वैदिक सनातन धर्म र कुरान अर्थात् इस्लाम धर्ममा देखिएको भिन्नता र समानता केलाउनेतिर । भिन्नताको कुरा गर्दा सर्वप्रथम वैदिक सनातनीहरूले जे गर्दछन् इस्लाम धर्मावलम्बीहरूले त्यसको विपरीत गर्ने गरेका कुरालाई नै लिन सकिन्छ । वैदिक सानातन धर्मावलम्बीहरू देवीदेवताको प्रदक्षिणा दाहिनेतर्फबाट गर्दछन् भने इस्लाम धर्मावलम्बीहरू देब्रेतर्फको प्रदक्षिणालाई रुचाउँछन् ।
त्यस्तै, वैदिक सनातन धर्मावलम्बीहरू देवीदेवताको प्रार्थना पूर्वतर्फ फर्केर गर्दछन् भने इस्लामहरू पश्चिमतर्फ फर्केर गर्दछन् । वेदवादीहरू दाह्री काट्ने र जुँगा राख्ने गर्दछन् भने इस्लामहरू जुँगा काटेर दाह्री पाल्ने गर्दछन् । वेदवादीहरू शाकाहारलाई प्राथमिकता दिन्छन् भने इस्लामहरू मांसाहारको पक्षपति हुन्छन् । मांसाहारी वेदवादीहरू माथिबाट गर्धन छिनाएको मासु खान्छन् भने इस्लामहरू यसलाई हराम भन्छन् र हलाहल (तलबाट गर्धन रेटेको) मासु खान्छन् ।
त्यसैगरी, वेदवादीहरू गाईलाई अवध्य मान्दछन् भने इस्लामहरू गाई काटेर खाने गर्दछन् । वेदवादी पुरुषहरू खतना गर्दैनन् भने इस्लाम पुरुषहरू यसलाई अनिवार्य मान्दछन् । वेदवादीहरू मूर्तिपूजक हुन्छन् भने इस्लामहरू मूर्तिपूजाको विरोध गर्दछन् । वैदिक सनातनीहरू सुल्टो (माथिबाट तलतिर) पढ्दछन् भने इस्लामहरू उल्टो (तलबाट माथि पढ्दछन् । वैदिक सनातनीहरू वर्णाश्रमधर्मी हुने भएकाले उनीहरूमा जातिप्रथा देखिन्छ भने इस्लामहरूले यसलाई नमान्ने भएकाले उनीहरूमा जातिप्रथा देखिँदैन ।
वैदिक सनातनीहरूमा सवर्ण विवाह निषेध छ भने इस्लामहरू काकाको छोराछोरीबीचमा पनि विवाहवारी गर्ने गर्दछन् । वैदिक सनातनीहरू नारी सम्मानको कुरा गर्छन् भने इस्लामहरूमा त्यस्तो देखिँदैन । वैदिक सनातनी महिलाहरू टाउको मात्र ढाक्ने गर्दछन् भने इस्लाम महिलाहरूमा प्राय: बुर्का लगाएर हिँड्ने गर्दछन् । यो छुट्टै कुरा हो कि यस्तो चलन हिजोआज भने शायद देखिसिकीले होला हट्दै गएको छ ।
यसको अर्थ वैदिक सनातनी र इस्लामबीच सबै भिन्नता छ भन्ने होइन । केही समानतामा पनि भेटिएको छ । जस्तै; वैदिक सनातनीहरू तीर्थव्रत गर्नुलाई धर्म मान्दछन् भने इस्लामहरूमा पनि हज गर्ने, रोजा बस्ने चलन भेटिन्छ । वैदिक सनातनीहरू चन्द्रमालाई देवता मानेर पूजा गर्छन् भने इस्लामहरू पनि चन्द्रमालाई आफ्नो झण्डामा राखेर उनीप्रति सम्मान प्रकट गर्दछन् ।
वैदिक सनातनीहरू शुक्रलाई एउटा ग्रह मानेर पूजा गर्दछन् भने इस्लामहरू पनि शुक्रलाई मान्छन् । उनीहरू शुक्रबारकै दिन बढी नमाज पढ्ने गर्दछन् भने बोलीचालीमा पनि शुक्रगुजार हुँ भन्दै उनीप्रति विशेष आदर प्रकट गर्दछन् ।
वैदिक सनातनीहरू कल्कीलाई भगवानको दशौं अवतार मान्दछन् भने इस्लामहरूको भगवान् मुहम्मदलाई पनि कल्कीको आवरणमा अर्थ्याउने गरिएको पाइन्छ । वैदिक सनातनीहरू शिवलिङ्गको पूजा गर्दछन् भने इस्लामहरूले हज गर्दा पनि शिवलिङ्गकै उपासना गरिरहेका हुन्छन् । किनभने हज गर्ने स्थल मक्कामा जुन कालो पत्थर छ त्यसको तल शिवलिङ्ग रहेको कुरा विक्रमादित्यको एउटा शिलालेखमा उल्लेख भएको बताइन्छ । इस्लामहरू हज गर्दा कावामा सात फन्को लगाउने गर्दछन् भने वैदिक सनातनीहरू पनि प्रदक्षिणा एकभन्दा बढी नै हुनुपर्छ भन्ने मान्यता राख्दछन् ।
अब आउनुस् एकैछिन यसको कारण खोतल्नेतर्फ । यसको पहिलो कारण भनेको वैदिक सनातनीहरू सुरसंस्कृतिको अनुयायी हुनु र इस्लामहरू असुरसंस्कृतिको अनुयायी हुनु नै हो । सुर र असुर एउटै बाबु (कश्यपप्रजापति)का सन्तान भए पनि आमाहरू भिन्न थिए । यसैको कारण उनीहरूबीच शुरूदेखि नै मेल थिएन । सुरहरू जे गर्थे असुरहरू शायद रिस फेर्न होला त्यसको विपरीत गर्ने गर्दथे ।
अर्को कारण असुरहरूको गुरु शुक्राचार्य हुनुलाई लिन सकिन्छ । किनभने शुक्राचार्यको मामवली कुल असुरजाति थिए । महर्षी भृगुले हिरण्यकशिपुपुत्री दिव्या र पुलोमापुत्री पौलोमीसित विवाह गरेका थिए । शुक्र, च्यवन, त्वष्टा, ऋचिक आदि उनीहरूकै तर्फबाट जन्मेका भृगुका सन्तान हुन् । जब वासरा (इराक)मा यजमान राजा बलिसित खटपट पर्यो तब उनका गुरु शुक्राचार्य रिसाएर तत्कालीन शाकद्वीप नाभिभूमि हालको अरबतिर आएर रहन लागेका थिए ।
हाल इस्लामहरूले हज गर्ने स्थानलाई कावा भनिन्छ । यो नाम पनि उनै शुक्रकै नामको आधारमा कायम भएको मानिन्छ । किनभने शुक्राचार्यको एउटा नाम काव्य हो । सोही काव्या शब्द नै अपभ्रंश भएर कावा हुन पुगेको मानिन्छ । हाल जति पनि अरबीहरू छन् उनी र उनी आउनुपूर्व त्यतातिर बस्दै आएका वशिष्ठको वंशज मानिन्छन् ।
शुक्रका सन्तान त यसै पनि उनका अनुयायी हुने नै भए वशिष्ठका सन्तानहरू पनि स्थानीय प्रभावले विस्तारै उनकै अनुयायी बन्न पुगेका थिए । यसैको कारण नै उनीहरूबीचको भिन्नता अहिलेसम्म कायम रहँदै आएको पाइन्छ । यसबाहेक जेजति समानता भेटिन्छ त्यसलाई भने उनीहरूका पूर्वज एउटै बाबुका सन्तान हुनुलाई लिन सकिन्छ ।