
करिब डेढ महिनादेखि सुनको आयात ठप्प भएको छ । नेपाली बजारमा पुरानै सुनको कारोबारले गर्दा नयाँ सुनको आयात ठप्प भएको हो ।
मासिक सयौं किलोग्राम आयात भइरहने सुन पछिल्लो एक महिनामा १ किलो मात्रै आयात भएको छ ।
भन्सार विभागकै तथ्यांक हेर्दा गत मंसिर महिनामा केवल १ किलोग्राम सुन आयात भएको देखिन्छ । सुनको सबैभन्दा बढी कारोबार हुने समयमा सुनको आयात करिब शून्य देखिएको हो ।
नेपालको सुनको आयात वाणिज्य बैंकहरूमार्फत् हुने गर्दछ । व्यवसायीहरूले माग गरेअनुसार बैंकले सुनको आयात गर्ने गर्दछन् ।
चालु आर्थिक वर्षको मंसिर महिनासम्म ९ लाख ३ हजार ग्राम अर्थात् ९०३ किलोग्राम सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तर यो कार्तिक महिनासम्म भएको आयात हो, मंसिर महिनामा केवल १ किलोग्राम सुन आयात भएको हो ।
पछिल्लो समय बजारमा पुरानै सुनको कारोबार भइरहेको र आयात नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् । बजारमा पुरानै सुनको बिक्री बढी भइरहेकाले आयात रोकिएको उनको भनाइ छ ।
‘कार्तिक महिनामा एकै पटक ३०० किलो सुन मगाएका थियौं । त्यो मंसिर लागि करिब करिब पर्याप्त भयो’, उनले भने, ‘त्यसपछि व्यवसायीहरूले २०० किलो सुन मगाएका हुन् । त्यसको १३५ किलोग्राम बैंकरूसँगै रिजर्ब रहेको अवस्था छ ।’
मंसिरमा आयात ठप्प भए पनि पुसपछि सुनको आयात निरन्तर हुने उनको भनाइ छ । पछिल्लो समय सुनको मूल्यमा भएको वृद्धिले गर्दा कारोबारमा गिरावट आएको उनको तर्क छ ।
‘बजारमा पुरानै सुनको कारोबार भइरहेको छ । अझै राम्रोसँग भन्दा पुरानो सुनले नै बजार चलाइरहेको छ’, उनले भने, ‘अहिले बजारमा नयाँ खरिदभन्दा पनि पुरानो सुन फिर्ता भइरहेको छ । सुन किन्ने भन्दा पनि बिक्री गर्नेहरू बढी रहेका छन् । नयाँ सुनको कारोबार बन्द जस्तै छ भन्दा फरक पर्दैन ।’
कुन महिना कति सुन आयात भयो ?
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै वाणिज्य बैंकहरूले १०० किलोग्राम सुन आयात गरेका थिए । पहिलो महिनामा १ अर्ब ५२ करोड ६३ लाख ७१ हजार रूपैयाँको सुन आयात गरिएको थियो । (फोटो)
भदौ महिनामा १ अर्ब ६० करोड ३६ लाख २० हजार रूपैयाँमा १०१ किलो सुन आयात गरिएको थियो ।
असोज महिनामा एकै पटक बैंकहरूमार्फत ४०० किलो सुन आयात गरिएको तथ्यांक देखिन्छ । असोजमा विदेशबाट कूल ७ अर्ब १२ करोड ३२ लाख ९४ हजार रूपैयाँ बराबरको सुन आयात गरिएको थियो ।
त्यस्तै, कार्तिकमा ३०१ किलो सुन आयात गरिएको थियो । जसको मूल्य ५ अर्ब ४६ करोड ७८ लाख ५९ हजार रूपैयाँ थियो । र, मंसिर महिनामा १ किलो मात्रै सुन आयात भएको छ ।

बजारमा सुनको बिक्री नभइरहेकोले बैंकमा सुन रिजर्बमा रहेर उठ्न नसकेको अध्यक्ष रसाइलीको भनाइ छ । नेपाली बजारमा तिहारको समयअघि पनि सुनको आयात निकै बढेको उनी बताउँछन् ।
‘तिहारको समयमा कारोबार बढ्छ भनेर व्यवसायीहरूले सुन बढी आयात गरेका थिए’, उनले भने, ‘त्यसैले पनि यस वर्ष सुनको आयातमा निकै वृद्धि भएको हो । तर, कारोबार भने बढ्न सकेको छैन ।’
कुन बैंकमा कति सुन थन्किएको छ ?
चालु आर्थिक वर्षको पुस दोस्रो सातासम्म १३ वटा वाणिज्य बैंकहरूले कूल ९०२ किलोग्राम सुन आयात गरेका छन् । जसमध्ये हाल ६ वटा बैंकहरूमा १३५ किलोग्राम सुन मौज्दातमा रहेको नेपाल बैंकर संघबाट प्राप्त तथ्यांकले देखाउँछ । कूल सुनको मौज्दातमा बागमती प्रदेश भित्र ५५ किलोग्राम र ८० किलोग्राम बागमती बाहिरको क्षेत्रमा रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी सुनको स्टक अर्थात् मौज्दात कुमारी बैंकसँग रहेको छ । कुमारी बैंकसँग पुस दोस्रो सातासम्म ३०.५ किलोग्राम सुन रहेको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकसँग २६.५ किलो, माछापुच्छ्रे बैंकसँग १६.५ किलो, प्रभु बैंकसँग ९ किलो, सानिमा बैंकसँग ३८ किलो र ग्लोबल आईएमई बैंकसँग १४.५ किलो सुन मौज्दात रहेको छ ।