
अस्ट्रेलियाका चर्चित क्रिकेटर डेमियन मार्टिनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
मेनिनजाइटिस रोगबाट पीडित ५४ वर्षीय क्रिकेटर मार्टिनको हाल उपचार भइरहेको छ । उनी हाल कोमामा रहेका समाचारमा जनाइएको छ ।
‘बक्सिङ डे’का दिन उनलाई क्विन्सल्यान्डस्थित अस्पतालमा भर्ना गरिएको थियो । अस्ट्रेलियाका पूर्वखेलाडी एडम गिलक्रिस्टले मार्टिनको उपचार भइरहेको जनाएका छन् ।
‘मार्टिनको उपचारमा खटिएका चिकित्सकहरूले सक्दो प्रयास गरिरहेका छन् । हामी सबै ईश्वरसँग प्रार्थना गरिरहेका छौं । विश्वभरका समर्थकले पनि उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्,’ गिलक्रिस्टले भनेका छन् ।
अस्ट्रलियाका पूर्वप्रशिक्षक एवं खेलाडी ड्यारेन लेहमनले पनि मार्टिनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ‘हामी उनको स्वास्थ्य लाभका लागि कामना गरिरहेका छौँ,’ उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
मार्टिन आफ्नो समयका प्रभावशाली खेलाडी हुन् । उनले अस्ट्रेलियाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
उनले ६७ टेस्टमा कुल चार हजार चार सय ६ रन बनाएका छन् । टेस्टमा उनले १३ शतक र २३ अर्धशतक प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर एक सय ६५ रन हो ।
उनले दुई सय आठ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार तीन सय ४६ रन बनाएका छन् । उनले एकदिवसीयमा पाँच शतक र ३७ अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर अविजित एक सय ४४ रन हो ।
यसैगरी, उनले चार टी–२० अन्तर्राष्ट्रियमा कुल एक सय २० रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर ९६ रन हो ।