
अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आइभरी कोस्ट र बुर्किना फासोबीचको अन्तिम खेलसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।
उक्त खेलमा ३–० गोलले विजयी हुँदै आइभरी कोस्ट क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्यो । त्यसअघि खेलिएको खेलमा कंगोलाई अतिरिक्त समयमा ०–१ गोलले हराउँदै अल्जेरिया पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्यो ।
अन्तिम आठमा स्थान पक्का गर्ने अन्य टोली सेनेगल, माली, मोरक्को, क्यामरुन, इजिप्ट र नाइजेरिया हुन् । प्रि–क्वार्टरफाइनल खेलमा सेनेगलले सुडानलाई ३–१ र मालीले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन् ।
मोरक्को भने तान्जिनियालाई १–० गोलले हराउँदै अगाडि बढेको हो । क्यामरुनले प्रि–क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २–१ गोलले पाखा लगायो । इजिप्ट भने बेनिनलाई अतिरिक्त समयमा ३–१ गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।
नाइजेरियाले प्रि–क्वार्टरफाइनल खेलमा मोजाम्बिकमाथि ४–० गोलको सजिलो जित हासिल गर्यो । अब जनवरी ९ तारिखमा हुने क्वार्टरफाइनल खेलमा मालीले सेनेगलको र क्यामरुनले मोरक्कोको सामना गर्नेछन् ।
यसैगरी, जनवरी १० तारिखमा हुने क्वार्टरफाइनल खेलमा अल्जेरियाले नाइजेरियाको र इजिप्टले आइभरी कोस्टको सामना गर्नेछन् । अफ्रिका कप अफ नेसन्सको यो ३५औँ संस्करण हो । जारी संस्करणको क्वार्टरफाइनलमा पुग्ने टोलीमध्ये मालीले मात्र हालसम्म उपाधि जित्न सकेको छैन ।
माली एकपटक सन् १९७२ मा उप–विजेता बनेको थियो । इजिप्टले हालसम्म सर्वाधिक सातपटक अफ्रिका कप अफ नेसन्सको उपाधि चुमिसकेको छ । क्यामरुनले पनि पाँचपटक उपाधि जितेको छ ।
यसैगरी, नाइजेरिया र आइभरी कोस्टले तीन–तीनपटक उपाधि जितेका छन् । अल्जेरियाले पनि दुईपटक उपाधि चुमेको छ । मोरक्कोले सन् १९७६ मा एकपटक उपाधि जितेको थियो । सेनेगलले पनि सन् २०२१ मा एकपटक उपाधि जितेको थियो ।