०१ साउन २०८३, शुक्रबार
देउवाको किल्ला मानिने जिल्लामा फेरिएको समीकरण

शेखर-सिटौलाको गृह प्रदेशमा गगन–विश्व हाबी : अधिकांश जिल्लामा विशेष महाधिवेशन पक्षको बहुमत !

पुस २५, २०८२
विराटनगर
शेखर-सिटौलाको गृह प्रदेशमा गगन–विश्व हाबी : अधिकांश जिल्लामा विशेष महाधिवेशन पक्षको बहुमत !

नेपाली कांग्रेसको पुस २६ र २७ गते हुने भनिएको विशेष महाधिवेशनले कोशी प्रदेशमा शक्तिशाली हलचल पैदा गरेको छ । पार्टीको संस्थापन र इतर पक्षबीचको आन्तरिक शक्ति सन्तुलनको रस्साकस्सी उत्कर्षमा पुगिरहँदा कोशीका १४ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं केन्द्रित हुन थालेका हुन् । 

कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोका अनुसार प्रदेशका कूल ७२८ महाधिवेशन प्रतिनिधिमध्ये बिहीबार अबेरसम्म करिब २७० जना काठमाडौं पुगिसकेका छन् भने ५९ जना बाटोमा छन् ।

मोरङका १५९ महाधिवेशन प्रतिनिधिमध्ये १०४ जनाले हस्ताक्षर गरिसकेका छन् । फागोले र यो संख्या अझै थपिन सक्ने बताए । फागो, यसअघि कृष्णप्रसाद सिटौला पक्षमा दृढताका साथ उभिन्थे, उनी अहिले यो विशेष महाधिवेशनको अभियानमा प्रदेशस्तरमै नेतृत्वदायी भूमिकामा सक्रिय देखिएका छन् ।

मोरङ नेता डा. शेखर कोइरालाको गृह जिल्लासमेत भएकाले यहाँको सहभागितालाई विशेष चासोका साथ हेरिएको छ । जिल्ला सभापति डिकबहादुर लिम्बूले पनि ६० देखि ७० जनाको हाराहारीमा प्रतिनिधिहरू काठमाडौं जाने तयारीमा रहेको आफूले बुझेको जानकारी दिए ।

कोशीको अर्को राजनीतिक रूपमा प्रभावशाली जिल्ला झापामा कूल १३२ महाधिवेशन प्रतिनिधि छन् । महाधिवेशन पक्षधर नेता इन्द्र बुढाथोकीका अनुसार झापाका झण्डै ५१ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं जाने तयारीमा छन् । झापा महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको गृह जिल्ला हो ।

झापामा प्रतिनिधिहरूलाई रोक्न विभिन्न प्रयासहरू भइरहेको चर्चा चले पनि हस्ताक्षर गर्नेहरू काठमाडौं पुगेरै छाड्ने बुढाथोकीले बताए । यद्यपि, नेता कृष्णप्रसाद सिटौला निकट मानिने नेता गोपाल तामाङले भने पार्टी फुट्ने हल्लाले कतिपय प्रतिनिधिमा अन्योल सिर्जना गरेको बताए । सहमतिका आधारमा मात्रै अघि बढ्नुपर्ने मनस्थितिमा धेरै प्रतिनिधि रहेको उनले बताए । उनले पनि ५० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनकै पक्षमा रहेको बताए ।

सुनसरीमा पनि विशेष महाधिवेशनको उत्साह कम छैन । सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले नै विशेष महाधिवेशनमा जाने आधिकारिक निर्णय गरिसकेको छ । दुहबी नगरपालिकाका मेयरसमेत रहेका नेता वेदनारायण गच्छदारले विशेष पक्षको नेतृत्व गरिरहेका छन् । उनले बहुमत सदस्य काठमाडौं जाने दाबी गरे । सुनसरीमा १२५ महाधिवेशन प्रतिनिधि छन् ।  जिल्ला सभापति केदार भण्डारी गगन विश्वप्रकाशको इतर समूहका हुन् ।  उनले पनि कोशीमा विशेष महाधिवेशन पक्षधरको बाहुल्यता बढ्दै गएको बताए । भण्डारीका अनुसार सुनसरीबाट कम्तीमा ४५ जना जाने पक्का भइसकेको छ र यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । सुनसरी विजय गच्छदारको जिल्ला हो ।

पहाडी जिल्ला तेह्रथुममा जम्मा २६ महाधिवेशन प्रतिनिधिमध्ये २१ जना विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । तेह्रथुममा महामन्त्री गगन थापा पक्षका नेताहरूको स्पष्ट बहुमत देखिएको छ । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि यो जिल्लाले थापाको एकल नाम सिफारिस गरेको थियो, यद्यपि प्रदेश समितिले पछि पूर्वमन्त्री सीता गुरुङको नाम थपेर पठाएको थियो । शुरूमा २२ जना गगन–विश्वप्रकाश समूहमा खुले पनि अहिले १ जनाले विशेष महाधिवेशनमा नजाने निर्णय गरेका छन् ।

उद्धव थापा, गोविन्द ढुङ्गाना र अर्जुन माबुहाङ मात्रै यो जिल्लामा संस्थापन पक्षमा दृढ देखिएका छन् । विजय सम्बाहाम्फे पनि पहिले तटस्थ थिए, उनी समानुपातिकमा सिफारिस भएपछि भने संस्थापन पक्षतिर ढल्किएको स्थानीय नेताहरू बताउँछन् ।

धनकुटामा पनि २६ प्रतिनिधिमध्ये १७ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका थिए । यो जिल्लाले पनि आगामी प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेको थियो । हस्ताक्षर गर्नेहरू अहिले पनि आफ्नो अडानमा यथावत छन् ।

यता संस्थापन पक्षका पूर्वजिल्ला सभापति मनोहरनारायण श्रेष्ठले हस्ताक्षर गर्नेको संख्या अन्तिम समयमा घट्न सक्ने दाबी गरे पनि जिल्ला सभापति दिनेश राईले भने प्रतिनिधिहरूको संख्या झन् थपिने दाबी गरे ।

पाँचथरका २६ महाधिवेशन प्रतिनिधिमध्ये १ जनाको निधन भएको छ भने विदेशमा रहेका पूर्ण तुम्बाफोसहित १९ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । तुम्बाफोले अमेरिकाबाटै इमेलमार्फत् आफ्नो ऐक्यबद्धता र समर्थन पठाएका थिए । जिल्ला सचिव दीपक नेपालले प्रविधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट गरिने मतदानलाई समेत आधिकारिक मान्नुपर्ने माग राखे । तर, संस्थापन पक्षका नेता केदारनाथ बास्कोटाले भने हस्ताक्षर गर्ने जति सबै काठमाडौं नजाने जिकिर गरेका छन् । उनले शुरूमा महाधिवेशन छिटो होस् भनेर हस्ताक्षर गर्नेहरू धेरै भए पनि अहिलेको परिस्थिति बदलिएको र विशेष महाधिवेशन भनेर जानेहरूको संख्या कम हुने तर्क गरे ।

ताप्लेजुङमा कुल २७ प्रतिनिधिमध्ये १ जनाले पार्टी छाडेको र २ जना कारबाहीमा परेका कारण २४ जना मात्र बाँकी छन् । तीमध्ये १३ जना महाधिवेशनको पक्षमा रहेको जिल्ला सचिव इन्द्र केदेमले बताए । तर, जिल्ला सभापति गेहेन्द्र तुम्यहाङले भने शेखर कोइराला पक्षका प्रतिनिधिहरूसमेत रोकिने भएकाले ५ जना जति मात्रै काठमाडौं पुग्ने दाबी गरे ।

इलाममा ५३ प्रतिनिधिमध्ये २ जनाले पार्टी छाडेका छन् । यहाँ ४० जनाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका थिए । महाधिवेशन पक्षधर नेता हिमालय कर्मचार्यका अनुसार तीमध्ये ३३–३४ जना प्रतिनिधिहरू महाधिवेशनमा जान तयारी अवस्थामा छन् र केही त पुगिसकेका छन् ।

यता शेखर कोइराला पक्षका नेताहरू भने इलामबाट ८ जनाभन्दा बढी नजाने दाबी गर्छन् । शेखर समूहका नेता शमशेर राईले भने, ‘हामीले पार्टीभित्र सुधार र छिटो महाधिवेशनका लागि हस्ताक्षर गरेका हौँ, तर पार्टी नै संकटमा पर्ने वा फुट्ने अवस्था आउँछ भने हामी सहभागी हुँदैनौँ ।’

सोलुखुम्बुमा २६ प्रतिनिधिमध्ये १८ जना काठमाडौंमै रहेको र बाँकी २ जना सोलुमा रहेको गगन थापा पक्षकी नेतृ पूजा फुयालले जानकारी दिएकी छिन् ।

ओखलढुङ्गामा नेता राजेन्द्र अधिकारीका अनुसार २६ प्रतिनिधिमध्ये १३ जना महाधिवेशनको पक्षमा छन्, जसमा १२ जना काठमाडौं पुगिसकेका छन् र १ जना मात्र जिल्लामा छन् । भोजपुरमा २५ प्रतिनिधिमध्ये १७ जना खुलेका छन् । भोजपुर जिल्ला सभापति विनोद राई, कोशी प्रदेश सभा सदस्यसमेत हुन् ।  

उनी केही समय अगाडिसम्म कोइराला खेमामा भए पनि अहिले स्पष्ट रूपमा गगन थापाको पक्षमा देखिएका छन् । संस्थापन पक्षका नेता वीरबल राईले भने शेखर पक्ष निर्णायक भएकाले उनीहरू सहभागी नभए ६–७ जना मात्रै भोजपुरबाट जाने दाबी गरे ।

उदयपुरको राजनीतिमा भने यसपटक निकै रोचक दृश्य देखिएको छ । उदयपुर संस्थापन पक्षविहीनजस्तै बनेको छ । सभापति हिमाल कार्कीका अनुसार ४१ जना प्रतिनिधिहरू गगन–विश्वप्रकाश समूहमा खुलिसकेका छन् । क्षेत्र नम्बर १ का सबै २७ जना र क्षेत्र नम्बर २ का २६ मध्ये १४ जना गरी ठूलो संख्या इतर पक्षमा उभिएको छ ।

कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका कार्कीले उदयपुरमा अहिले संस्थापन पक्षका प्रतिनिधि कोही पनि बाँकी नरहेको र शेखर समूहलाई संस्थापन माने मात्र केही प्रतिनिधि रहने टिप्पणी गरे ।

यद्यपि, शेखर कोइराला निकट मानिने बसन्त बस्नेतले भने विशेष महाधिवेशनको वैधानिकताप्रति नै प्रश्न उठाएका छन् । उनले यसलाई विशेष महाधिवेशन भन्नुभन्दा पनि महामन्त्रीहरूको भेला भन्नु उपयुक्त हुने र यसले केन्द्रीय समितिलाई सुझाव मात्र दिने बताए ।

संखुवासभामा २४ मध्ये २० जनाले हस्ताक्षर गरेका थिए र केही नेताहरू काठमाडौं पुगिसकेका छन् । पूर्वजिल्ला सभापति दीपन श्रेष्ठले आफू काठमाडौं पुगेको र प्रतिनिधिहरूलाई कसैले रोक्न नसक्ने बताए । संखुवासभामा पूर्वमन्त्री दीपक खड्काको ठूलो प्रभाव रहे पनि प्रतिनिधिहरू आफ्नो निर्णयमा अडिग रहेको उनको दाबी छ । तर, हस्ताक्षर नगरेका थलकुमार लिङ्खाले भने केही नपाएका असन्तुष्टहरू मात्रै जाने टिप्पणी गरे । उनले पनि १० देखि १२ जनासम्म जाने बताए ।

खोटाङमा २५ प्रतिनिधिमध्ये १२ जनाले हस्ताक्षर गरेका थिए । खोटाङ निवासी कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई, सिटौला खेमाका हुन् । उनले खोटाङबाट हस्ताक्षर गर्ने सबै नजाने दाबी गरे । तथापि सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका धेरै नेताहरू काठमाडौंमै बसेर जिल्लाको राजनीति गर्ने भएकाले उनीहरूको विशेष महाधिवेशनमा मा बलियो हुने देखिन्छ ।

संस्थापन पक्षका नेता तथा कांग्रेस कोशीका  उपसभापति रमेशजंग रायमाझीले भने विशेष महाधिवेशनको तयारी र प्रतिनिधिहरूको संख्याप्रति संशय व्यक्त गरेका छन् । उनले मरेका र पार्टी छाडेका व्यक्तिहरूको समेत नाम पठाएर संख्या बढाइएको दाबी गरे । रायमाझीले भने, ‘स्वयम् प्रतिनिधि उपस्थित नभएसम्म यति जान्छन् भन्न सकिने अवस्था छैन ।’

देउवा निकटका रायमाझीले संस्थापन पक्षले विशेष महाधिवेशनमा जान चाहनेहरूलाई रोक्ने कुनै औपचारिक अभियान वा दबाब नदिएकोसमेत स्पष्ट पारे । कोशी प्रदेशका १४ वटै जिल्लाबाट ५०  प्रतिशत बढी प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने देखिएको दुवै पक्षका नेता बताउँछन् ।

यो पनि

महाधिवेशन विवादबीच लुम्बिनीको चित्र: देउवा-शेखर दुवैमाथि हावी हुँदै गगन-विश्व

मधेशमा शक्ति बढाउँदै गगन-विश्व, विशेषको पक्षमा धमाधम थपिँदै महाधिवेशन प्रतिनिधि

बानेश्वरको त्यो 'खोला', गगन–विश्वको आजको बेग र भोलिको कांग्रेस

 
 
 

salt training

कमेन्ट गर्नुहोस्