
मधेश प्रदेशस्थित कांग्रेसभित्रको राजनीतिमा पछिल्लो समय संस्थापन पक्षका शेरबहादुर देउवा र इतर पक्षका शेखर कोइरालालाई उछिन्दै महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूह बलियो बन्दै गएको छ ।
कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रकुमार सिंह मधेश प्रदेशमा सोमबारसम्म ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलिसकेको दाबी गर्छन् ।
‘आज सोमबारसम्म ८ सय जना महाधिवेशन प्रतिनिधिहरूमध्ये ४४० जना जतिको हस्ताक्षर भइसकेको छ,’ मधेश प्रदेशसभाका सांसद तथा पूर्वमन्त्री समेत रहेका सिंहले लोकान्तरसँग भने, ‘यो हस्ताक्षरको संख्या बढ्दो क्रममा छ । ६० देखि ६५ प्रतिशत पुर्याउने गरी हामीले काम गरिरहेका छौं ।’
एकदुई दिनमा हस्ताक्षर गर्नेहरूको सूची नै दिन सकिने उनले बताए ।
१४ औं महाधिवेशनमा मधेश प्रदेशमा देउवा पक्षका ६० प्रतिशत महाधिवेशन प्रतिनिधि रहेकोमा अहिले दृश्य फेरिएको हो ।
मधेश प्रदेश कमिटीका सभापति तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव (रौतहट) संस्थापन देउवा पक्षमा रहे पनि प्रदेश उपसभापति सिंह(सर्लाही), अर्का उपसभापति चन्द्रशेखर यादव (बारा), प्रदेश महामन्त्री उपेन्द्र यादव (सिरहा) लगायत विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
त्यसैगरी, प्रदेश कोषाध्यक्ष प्रदीप यादव (धनुषा) पनि विशेष महाधिवेशनकै पक्षमा खुलेका छन् । जबकि यादव संस्थापनका नेता आनन्दप्रसाद ढुंगानानिकट मानिन्छन् । उनी पनि विशेष महाधिवेशनको पक्षमा खुलेको धनुषाका महाधिवेशन प्रतिनिधि समेत रहेका रामपल्टन साहले बताए ।

सप्तरी जिल्ला सभापति रामदेव साह र उपसभापति राजकुमार यादव शेखर कोइराला समूहमा थिए, तर उनीहरू दुवैजना अहिले विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
सिरहामा पार्टी सभापतिमा पराजित भएका केन्द्रीय सदस्य रामसुन्दर चौधरी पनि अहिले गगन-विश्व नेतृत्वको समूहमा खुलेका छन् । शेखर कोइराला समूहमै रहेकी कांग्रेसकी पूर्व कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाष यादव समेत गगन समूहमा खुलेका छन् ।
त्यसैगरी, महोत्तरीमा शेखर समूहमा रहेका बजरंग नेपाली र विनोद यादव समेत गगन समूहमा खुलेको नेताहरू बताउँछन् । त्यसैगरी, बर्दिवास नगरपालिकाका नगर प्रमुख समेत रहेका प्रह्लाद क्षेत्री र केन्द्रीय सदस्य महेन्द्रकुमार राय पनि गगन समूहमै खुलेका छन् ।
सर्लाहीमा यसअघिका सभापति सुरेन्द्रप्रसाद सिंहको पूरै समूह नै गगन समूहमा खुलेका छन् । रौतहटमा स्वर्गीय आफताब आलमका छोरादेखि देवी तिमिल्सिनासहितका नेताहरू गगन समूहमा खुलेका छन् । मधेश प्रदेशकै मुख्यमन्त्री कृष्णप्रसाद यादवका दाहिने हात भनेर चिनिएका नगेन्द्र साहदेखि शिक्षक संघका नेता रामकृपाल यादवसहितका नेताहरू पनि गगन समूहमा खुलेका छन् ।
बारामा देउवा समूहमा रहेका फरमुल्लाह मन्सुरकै नेतृत्वमा थुप्रै नेता तथा कार्यकर्ताहरू देउवा समूहलाई छाडेर गगन समूहमा खुलेका छन् । पर्सामा देउवा समूहका राजेन्द्रबहादुर अमात्यसहित अन्य नेताहरू पनि गगन समूहमा खुलेका छन् ।
धनुषामा शेखर कोइराला समूहमा रहेका पूर्व सांसद दिनेश पर्सैलादेखि शेखर समूहका नेता रामसरोज यादव निकटका जीवनाथ चौधरी तथा आनन्द ढुंगाना निकटका प्रदीप यादव, भोला पजियार समेतका नेताहरू गगन समूहमा खुलेका छन् ।
गगन समूहमा लागेका नेताहरू धनुषा र पर्साबाहेक ६ जिल्लामा विशेष महाधिवेशन पक्षधरहरू बलियो बनेको दाबी गर्छन् । धनुषामा पूर्व उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगानासहितका नेताहरूको प्रभाव भएका कारण देउवा समूह अहिले पनि बलियो देखिएको हो ।
त्यसैगरी, पूर्व सभापति रामसरोज यादव शेखर समूहमा लागे पनि उनी निकटका नेताहरू भने अहिले गगन समूहमा खुलेका छन् । अर्का केन्द्रीय सदस्य रामकृष्ण यादव शेखर समूहमै छन् । तर, विशेष महाधिवेशन हुँदासम्म धेरैजसो महाधिवेशन प्रतिनिधिहरू गगन समूहमै खुल्ने महाधिवेशन प्रतिनिधि रामपल्टन साह बताउँछन् ।
उनका अनुसार धनुषामा १ सय जना महाधिवेशन प्रतिनिधिमध्ये शुरूमा २३ जनाले हस्ताक्षर गरेकोमा अहिले हस्ताक्षर गर्नेको संख्या ३८ पुगिसकेको छ । विस्तारै उक्त संख्या बढ्दै जाने उनको दाबी छ ।
धनुषापछि विशेष महाधिवेशन पक्षधर समूह कमजोर रहेको दोस्रो जिल्ला पर्सा हो ।
प्रदेश उपसभापति सिंहका अनुसार पर्सामा पनि धनुषाजस्तै देउवा समूहका नेताहरू रमेश रिजाल, अजय चौरसिया र अनिल रुंगटाको प्रभावका कारण विशेष महाधिवेशन पक्षधरहरू कमजोर देखिएका हुन् । तैपनि त्यहाँ पूर्वमन्त्री सुरेन्द्र चौधरीको अगुवाइमा महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम जारी छ ।
कांग्रेस धनुषाका सभापति योगेन्द्र (योगी) पजियार देउवा समूहमै रहे पनि उनी गगन समूहमा समेत आउन सक्ने गगन समूहका नेताहरूको अनुमान छ ।
महोत्तरी सभापति नागेश्वर यादव, सिरहा सभापति रामचन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बारा सभापति राजेश यादव र पर्सा सभापति जनार्दन क्षेत्री देउवा समूहमा नै छन् ।
त्यसैगरी, शेखर समूहमा रहेका सप्तरी सभापति रामदेव साह र सर्लाहीका पूर्व सभापति सुरेन्द्र सिंह भने अहिले विशेष महाधिवेशनको पक्षमा लागेका छन् ।

गगन समूहमा लागेका धनुषाका महाधिवेशन प्रतिनिधि रामपल्टन साहका अनुसार धनुषामा २३ जनाले पहिले गगन समूहमा हस्ताक्षर गरेकोमा १५ थपेर ३८ पुगेको छ ।
त्यसैगरी, महोत्तरीमा ६१ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकोमा ५ जना थपिएर ६६ पुगेको, सिरहामा ६५ जनाले हस्ताक्षर गरेकोमा ५ जना थपिएर ७० पुगेको उनले बताए ।
त्यसैगरी, सर्लाहीमा ७० जनाले पहिले हस्ताक्षर गरेकोमा अहिले ५ जना थपिएर ७५ पुगेको, रौतहटमा पहिले ५४ जनाले हस्ताक्षर गरेकोमा १० जना थपिएर ६४ पुगेको, बारामा ४० जनाले हस्ताक्षर गरेकोमा १० थपिएर ५० पुगेको र पर्सामा २३ जनाले हस्ताक्षर गरेकोमा १५ थपिएर ३८ पुगेको उनले बताए ।
जेनजी आन्दोलनपछि यथास्थितिमा पार्टीको नेतृत्व रहन नहुने भन्दै पहिले अवसरबाट वञ्चित भएका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा लागेको उनी बताउँछन् ।
‘मधेशमा संस्थापन पक्षकै पनि केही सीमित नेताले मात्र अवसर पाउँदा बहुमत कार्यकर्ताहरू असन्तुष्ट रहँदै आएकाले पनि अधिकांश महाधिवेशन प्रतिनिधिहरू अहिले परिवर्तनको पक्षमा उभिएका हुन्,’ साहले लोकान्तरसँग भने ।
यता, मधेश प्रदेशका मुख्यमन्त्री तथा प्रदेश सभापति कृष्णप्रसाद यादव भने विशेष महाधिवेशनको औचित्य नै सकिएको बताउँछन् ।
‘नियमित महाधिवेशन गर्ने भनेर परिपत्र तथा शेड्युल समेत जारी भैसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नै सकिइसक्यो,’ यादवले लोकान्तरसँग भने, ‘अब विशेष महाधिवेशनको पक्षधर मधेशमा कति छ, बहुमत छ वा छैन भन्ने कुरा त उहाँहरूले २६/२७ गते बोलाएको भेलामा हुने उपस्थितिले नै बताउला नि !’
नियमित महाधिवेशन पक्षधरको बहुमत छ कि विशेष महाधिवेशन पक्षधरको बहुमत छ भन्ने कुरा आफूले अहिले नै भन्नसक्ने अवस्था नरहेको उनले बताए ।
‘त्यसका लागि मैले कोसँग प्रमाण माग्ने ? २६-२७ गते हुने उपस्थितिले नै त्यो विषय उजागर गरिदिन्छ ।’