२२ जेठ २०८३, शुक्रबार
पकेटमारेरै गुजारा

गोजीको पैसा र गलाको सिक्री देख्नै नहुने गिरोह, ११ पटक समातिँदा पनि खुलेन चेत

पुस २५, २०८२
काठमाडौं
गोजीको पैसा र गलाको सिक्री देख्नै नहुने गिरोह, ११ पटक समातिँदा पनि खुलेन चेत

गएको साता पुस २२ गते बिहान ११ बजे सिनामंगलबाट मित्रपार्क जाने क्रममा बस चढेका एक युवकको दुई लाख ७५ हजार रुपैयाँ चोरी भयो । बसमा यात्रु ठेलमठेल थिए ।

ती युवकको खल्तीबाट कुन बेला पकेटमारले पैसा झिके उनले थाहै पाएनन् ।

त्यसपछि उनी प्रहरी वृत्त गौशाला पुगेर उजुरी गरे । प्रहरीले पकेटमारको खोजी गरिरहेकै बेला पुस २३ मा एक महिलाको गलामा लगाएको सुनको सिक्री चोरी भयो ।

दुई दिनमै बसमा यात्रुको सुन र पैसा चोरी भएपछि गौशाला प्रहरी वृत्तले एउटा सूक्ष्म निगरानी टोली बनायो । बसमा यात्रुकै भेसमा प्रहरी खटायो । चार जनामध्ये दुईजना तिलगंगा र दुईजना सिनामंगलमा खटिए । शंकास्पद चारजना ‘लोकेट’ गरेपछि उनीहरूमाथि निगरानी बढाइयो ।

पकेटमारी गर्नै लाग्दा चार जनालाई सिनामंगलबाट पक्राउ गरियो । प्रहरीले दक्षिणकाली नगरपालिका २ बस्ने सरोज खड्का, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका– ७ का  विकास लामा, तनहुँको म्याग्दे गाउँपालिका– ५ का राजु गुरुङ र ललितपुर महानगरपालिका– ७ का सुवास मगर पक्राउ परे ।

खड्का, लामा, गुरुङ र मगरको दैनिकी नै कोटेश्वरदेखि चाबहिलसम्म चल्ने यात्रुवाहक बसमा पकेटमारी गर्ने र आएको पैसा बाँडेर लिने रहेको प्रहरीले जनाएको छ । संगठितरूपमा पकेटमारी गर्दै आएको यो गिरोहको विगत पनि आपराधिक नै देखिन्छ ।

खड्काविरुद्ध यसअघि पनि अभद्र व्यवहार, चोरी, डाँका र लागुऔषध समेत गरी विभिन्न प्रहरी युनिटमा ११ वटा मुद्दा चलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको अपराध अभिलेख प्रणाली (सीआरएस) मा हेर्दा खड्काको विगत आपराधिक पृष्ठभूमिको छ । पक्राउ परेकामध्ये गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा विभिन्न प्रहरी युनिटमा चारवटा, लामाविरुद्ध अभद्र व्यवहारमै दुईवटा र मगरविरुद्ध दुईवटा मुद्दा चलेको सीआरएसबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यो समूहले पकेटमारीबाटै आफ्नो दैनिकी चलाउँदै आएको थियो ।

‘बाहिरबाट झट्ट हेर्दा यिनीहरू पकेटमार जस्ता देखिँदैनन्, तर भीडभाड भएका बसमा चढ्ने र पोकटमारीपछि गायब हुने गरेको देखियो,’ भट्टराईले लोकान्तरसँग भने, ‘यिनीहरूले जोडेको सम्पत्ति पनि हामी खोज्दैछौं ।’

सरोज खड्काको पृष्ठभूमि

काठमाडौं दक्षिणकालीका ३७ वर्षीय खड्का २६ वर्षकै उमेरमा लागुऔषधसहित पक्राउ परेका थिए ।

उनलाई कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोले २०७१ पुस २० गते पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी केही महिना जेल परेर छुटे । २०७४ जेठ ५ मा ललितपुरका रामबहादुर स्याङ्तानले खड्काविरुद्ध अभद्र व्यवहारमा जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिए । खड्का पक्राउ परे ।

धरौटीमा छुटेका उनको अपराध कर्म छुटेन । २०७६ मा खड्काविरुद्ध तीन फरक प्रहरी युनिटले अभद्र व्यवहारमै मुद्दा चलायो । प्रहरी वृत्त कालीमाटीले भदौ २० मा, बानेश्वर वृत्तले माघ ६ मा र कालिमाटी वृत्तले फागुन २३ मा अभद्र व्यवहारमै मुद्दा चलाएका थिए ।

पक्राउ पर्दै धरौटीमा छुट्दै आएका खड्कालाई आपराधिक गतिविधिमा संलग्न हुने बानी लागिसकेको थियो । २०७७ भदौ २८ मा भने खड्काविरुद्ध चोरी तथा डाँका मुद्दा पर्‍यो ।

प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेका उनी जेल गए । जेलमा करिब साढे दुई वर्ष बसेर छुटेका खड्का २०८० माघ ५ गते पुन: पक्राउ परे । प्रहरी वृत्त महाराजगञ्जले उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलायो ।

प्रहरी प्रतिवेदनमार्फत मुद्दा चलाइएका खड्का धरौटीमा छुटेको ६ महिनामै (२०८१ साउन २१) मा पुन: पक्राउ परे । चोरी तथा डाँका कसुरमा पक्राउ परेका खड्काविरुद्ध महाराजगञ्ज वृत्तबाटै मुद्दा चल्यो । धरौटीमा छुटे ।

खड्काले अपराध गर्न छाडेनन् । प्रहरीमा उनीविरुद्ध जाहेरी पर्दै गयो । यही वर्ष २०८२ जेठ २२ मा पीडित तारा तामाङले प्रहरी वृत्त महाराजगञ्जमै जाहेरी हालिन् । प्रहरीले पक्राउ गर्‍यो । खड्का हिरासतमा २२ दिन बसेर धरौटीमा छुटे ।

साउन २७ मा प्रहरी वृत्त कालिमाटीमा खड्काविरुद्ध अर्को जाहेरी पर्‍यो, अभद्र व्यवहार कसुरमै । बानेश्वरले मुद्दा चलायो । उनी धरौटीमा छुटेर पकेटमारीमा संलग्न भए । यही पुस २३ गते दिउँसो साढे १ बजे खड्का पक्राउ परे । उनीविरुद्ध सिक्री लुटपाट र पकेटमारी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

२०८१ मै चारपटक पक्राउ पर्दा नखुलेको गुरुङको चेत

खड्कासँगै पक्राउ परेका तनहुँ म्याग्देका राजु गुरुङ काठमाडौंको टोखामा बस्दै आएका थिए । दिनभरी रिङरोडमा चल्ने बसमा चहार्ने र पकेट मार्ने दैनिकी उनको थियो ।

३३ वर्षका गुरुङ प्रहरीको सीआरएस रेकर्डअनुसार पहिलोपटक २०८१ वैशाख ३ गते पक्राउ परेका थिए । प्रहरी प्रतिवेदनकै आधारमा प्रहरी वृत्त महाराजगञ्जले गुरुङविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।

२०८१ मै उनी योसहित चारपटक पक्राउ परेका थिए । त्यो पनि महाराजगञ्ज वृत्तबाटै मुद्दा चल्यो । २०८१ मंसिर २३ र चैत २ मा उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलेको थियो । उनी धरौटीमा छुटेका थिए ।

दुई वर्षपछि फेरि अपराधमा फर्किएका लामा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका– ७ घर भएर काठमाडौं काँडाघारीमा बस्दै आएका ४२ वर्षीय विकास लामाको घर–परिवारको जोहो पनि पकेटमारी र चोरीमै चल्दै आएको थियो ।

उनी पहिलोपटक २०८० भदौ २७ मा पक्राउ परेका थिए । प्रहरी वृत्त महाराजगञ्जले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । धरौटीमा छुटेका लामा पुन: पक्राउ परे, मंसिर २०८० मंसिर २० मा । प्रहरी वृत्त गौशालाले पक्राउ गरेका लामाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चल्यो । उनी धरौटीमा छुटे ।

पछिल्लोपटक लामा गत पुस २३ गते पकेटमारी र सिक्री चोरीको आरोपमा पक्राउ परेका हुन् ।

काभ्रेबाट काठमाडौं सरेका मगर

ललितपुर महानगरपालिका– ७ मा बस्दै आएका ३३ वर्षीय सुवास मगरको आपराधिक पृष्ठभूमि खोतल्दा उनीविरुद्ध पहिलोपटक जिल्ला प्रहरी कार्यालय काभ्रेबाट अभद्र व्यवहारमा मुद्दा चलेको देखिन्छ ।

स्थानीय वेदप्रकाश गौतमको जाहेरीले २०७१ फागुन २७ मा अभद्र व्यवहारमा मुद्दा चलेका मगर धरौटी बुझाएर छुटेका थिए । त्यसपछि उनी एकैपटक ११ वर्षपछि २०८२ साउन २७ मा पक्राउ परे ।

प्रकाश सुवेदीको जाहेरी अनुसार मगरविरुद्ध प्रहरी वृत्त बानेश्वरले अभद्र व्यवहारमै मुद्दा चलाएको थियो । उनी धरौटीमा छुटे । हाल खड्का, लामा र गुरुङसँगै उनी पकेटमारी र सिक्री चोरीमा पुस २३ गते तीलगंगाबाट पक्राउ परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्