
संघीय राजधानीको खुला स्थान भृकुटीमण्डप- जहाँ यही पुस २७ र २८ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदैछ । यसका लागि मञ्च निर्माण लगायतका काम तीब्र गतिमा अघि बढिरहेको छ भने भृकुटीमण्डप वरपर कांग्रेसका राता झण्डा फर्फराइरहेका छन् ।
यो विशेष महाधिवेशन कांग्रेसको कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिले आह्वान गरेको होइन । बिहीबार नै कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन नहुने भन्दै आमप्रतिनिधिहरूलाई काठमाडौं नआउन निर्देशन दिइसकेको छ । तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अपिल जारी गर्दै आह्वान गरेको विशेष महाधिवेशनको वेग रोकिने देखिएको छैन । जिल्ला जिल्लाबाट प्रतिनिधिहरू गाडी रिजर्व गरेर काठमाडौं आइरहेका छन् । विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सुन्धारा, नक्साल, एयरपोर्ट लगायतका क्षेत्रमा रहेका होटलमा १५०० कोठा बूक भइसकेका छन् ।
विशेष महाधिवेशनलाई निष्कर्षमा पुर्याउनका लागि अनवरत आन्तरिक, प्राविधिक र आवश्यक अन्य सम्पूर्ण तयारी भइरहेका छन् । यसले स्पष्ट संकेत गर्छ- कांग्रेस विशेष महाधिवेशनको गाडी अघि बढिसक्यो जसमा ब्याक गियर लाग्नेवाला छैन ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा विशेष महाधिवेशन अभियन्ता अम्मरसिंह पुनका अनुसार ‘नीति र नेतृत्व चयन गर्न’ हुन लागेको यो विशेष महाधिवेशनले शेरबहादुर देउवा पुस्ताको नेतालाई राजनीतिबाट बिदाइ गर्दैछ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन हुन दुई दिन मात्र बाँकी छ । अब विशेष महाधिवेशनमा हुनेमा शंका नरहे पनि कांग्रेसको भविष्यमा के होला भन्ने सबैको चिन्तन र चासो देखिन्छ ।
एकातिर सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत बहुमत संस्थापन पक्ष विशेष महाधिवेशन विधान विपरीत भनिरहेका छन् । कार्यसम्पादनबाट निर्णय गरेर नियमित महाधिवेशन भनिरहँदा विशेष महाधिवेशन गर्न नहुने उनीहरूको जोड छ। अर्कोतर्फ भने ६० प्रतिशत पुग्न लागेका महाधिवेशन प्रतिनिधिहरू आफैं आयोजक भएको विशेष महाधिवेशन कसरी अवैधानिक भन्ने मत पनि छ । किनकी कांग्रेसको विधानमै प्रस्ट रूपमा विशेष महाधिवेशन व्यवस्था छ ।
कांग्रेसभित्रको महाधिवेशन विवादले पार्टीको भाग्य र भविष्यमाथि आमसवाल खडा भएको छ । सोही कारण पार्टीलाई एक बनाउन कुनै मध्यमार्गी बाटो हुन्छ कि भन्ने विषयमा पनि एक तहबाट बहस र दबाब दिने काम भइरहेको नेताहरू बताउँछन् ।
शुक्रबार बिहान मात्र सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका नेविसंघका नेतामाझ देउवाले विशेष महाधिवेशन हुनै नसक्ने जवाफ दिएका थिए । देउवालाई भेटेर फर्किएका नेविसंघ नेता विनोद शाही ठकुरीका अनुसार देउवाले स्पष्ट शब्दमा विशेष महाधिवेशन हुन नसक्ने बताएका छन् ।
‘कार्यसम्पादनले निर्णय गरेर विशेष हुँदैन भनेपश्चात् विशेष गर्छु भनेर लाग्नु गलत हो भनेर उहाँले भन्नुभयो,’ ठकुरीले लोकान्तरसँग भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन छलफलमै छु भन्नुभयो ।’
विधान अनुसार विशेष महाधिवेशन अघि बढ्नु र त्यसलाई संस्थापनले रोक्न खोज्नुले कांग्रेसभित्र किचलो थप बढेको । समाधान खोजेर पार्टी दुर्घटनाबाट जोगाउन लाग्नुपर्ने संस्थापन पक्ष नै मुठभेडउन्मुख देखिन्छ । संस्थापनले २७ गते तरूण भेला र २८ गतेका लागि जिल्ला सभापतिहरूको भेला बोलाएको छ । यसले स्थिति सुधार भन्दा पनि जटिल बनाउँदै लगेको नेताहरू बताउँछन् ।
‘चुप लागेर बस्न सकिएन । मुठभेड नै सही, केही त गर्नैपर्यो,’ संस्थापनका एक प्रभावशाली नेता भन्छन्, ‘इंगेज त गराउने हो, झुक्ने होइन ।’
संस्थापन समूहले विशेष महाधिवेशन हुँदा पार्टी जोगिन्छ भन्ने कल्पना गरेकै छैन । महामन्त्रीद्वय थापा र शर्माले जुनसुकै हालतमा पार्टी फुट्न दिन्न भन्नु नितान्त रणनीतिक विषय मात्र भएको बुझाइ संस्थापन समूहको छ ।
विधानबारे आफ्नै व्याख्या बोकेर हिँडेको समूहभित्र कसरी जाने भन्ने एकमत पनि छैन । देउवासँगै लागेर रजगज गर्दै आएका २५ बढी केन्द्रीय सदस्य विशेष महाधिवेशनकै पक्षमा खुलेका छन् ।
शुक्रबार बेग्लै भेला गरेर विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान हुनुपर्ने बताउँदै उनीहरूले अपिल नै जारी गरेका छन् । छलफलपश्चात् लोकान्तरसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने बताइन् ।
‘विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्नुपर्छ,’ उनले भनिन् ।
संस्थापन समूहभित्रै दुई धार भएर विशेषको मुद्दा र मागलाई सम्बोधन गरिनुपर्छ भन्दा अर्को समूह भने कुनै पनि हालतमा महामन्त्रीद्वयलाई गलाइछाड्छौं भन्दै हिँडेका छन् । नेता शेखर कोइरालाको समेत साथ रहेको भन्दै यो समूहले बरु पार्टी विभाजनमा जाओस् तर आफ्नो मुद्दा र अडानबाट पछि हट्दैनौं भनिरहेकै छन् । शुक्रबार बिहान भेला भएर उनीहरूले २७ र २८ मा काउण्टर कार्यक्रम गर्ने विषयलाई संस्थागत गरिसकेका छन् ।
संस्थापन समूहबाट विशेष महाधिवेशनको विपक्षमा काम गरिरहेका नेता गुरू बराल विशेष महाधिवेशनका नाममा पार्टी विभाजन हुन लागेको टिप्पणी गर्छन् ।
‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन सक्छ,’ उनी भन्छन् । यद्यपि युवा र जिल्ला सभापतिको भेला मुठभेड निम्त्याउन नभइ पार्टीलाई एकतामा ल्याउन बोलाइएको उनको दाबी छ ।
‘हामी मध्यविन्दुको प्रस्ताव लिएर आउँछौं । पार्टी कमजोर र फुटबाट जोगाउँछौं । जिल्ला जिल्लाबाट आउने साथीहरूले पनि विभाजन चाहनु भएको छैन’, बरालले भने, ‘मिलाउनलाई हामी रातदिन लागेका छौं, मध्यविन्दु खोज्छौं । हामी २०५९ को जस्तो पार्टी विभाजित हुन दिँदैनौं ।’
बरालले जे दाबी गरे पनि मध्यविन्दु आउने अवस्था छैन । मध्यविन्दु भनेको विशेष महाधिवेशनलाई संकल्प महाधिवेशन वा नीति महाधिवेशनमा परिणत गर्नु हो । किनभने अब हस्ताक्षर फिर्ता गराउने वा विशेषमा नजानु भनी रोक्ने अवस्था छैन ।
सभापति देउवा वा उपसभापति पूर्णबहादुर खड्का गएर कार्यक्रम उद्घाटन गर्ने र विशेषलाई पार्टीले स्वामित्व लिन पनि संस्थापन डराएको छ ।
‘उनीहरूले डुबाउँछन्, हलबाट सभापति घोषणा गर्छन्,’ देउवानिकट अर्का नेता भन्छन्, ‘महामन्त्रीद्वयको हातबाट खेल अघि बढिसकेको छ । उनीहरू दुईले चाहेरै मात्र हुने केही पनि होइन ।’
पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा भने संकटबाट पार्टीलाई बाहिर निकाल्नुपर्ने बताउँछन् । जसका लागि संवाद र सहमतिबाट मतभेद अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
‘निषेध, नियन्त्रण, अस्वीकार वा बहिष्कार होइन, विधि विधानका धाराको सहाराले मात्र पनि होइन, मन मस्तिष्क, भावना, बुद्धि र विवेकको उच्चतम अभ्यासबाट छलफल, संवाद, सहमति र स्वीकारको नीति अवलम्बन गर्दै यो संकटबाट पार्टीलाई अविलम्ब बाहिर निकाल्न पार्टीका शीर्ष नेतृत्व एवं सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।