२३ जेठ २०८३, शनिबार
अपराध नियन्त्रणको अन्तर्राष्ट्रिय सञ्जाल

इन्टरपोलको सहायतामा धमाधम समातिँदै फरार अभियुक्त, ‘जक’का आरोपीदेखि सहकारी ठगसम्म

माघ १, २०८२
काठमाडौं
इन्टरपोलको सहायतामा धमाधम समातिँदै फरार अभियुक्त, ‘जक’का आरोपीदेखि सहकारी ठगसम्म

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका बाग्लुङ नगरपालिका– २ श्रीनगरका जावेद अनवर दीनलाई नेपाल प्रहरीले अबुधाबी प्रहरीको सहयोगमा गत पुस १४ गते नेपाल ल्यायो । प्रहरी प्रधान कार्यालयले दीनविरुद्ध २०७७ भदौ ८ गते रेड नोटिस जारी गरेको थियो ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दाका फरार दीनमाथि बानेश्वरमा २०७४ असोज २३ मा नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोप छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दीनलाई उतिबेलै प्रतिवादी कायम गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

इन्टरपोलकै सहयोगमा नेपाल प्रहरीले रेड नोटिस जारी भएका रौतहट कटहरिया नगरपालिका– १ का आकाशप्रसाद कुशवाहालाई गत कात्तिक ३० गते नेपाल ल्याएको थियो ।

ठगी तथा संगठित अपराध मुद्दामा २०८० मंसिर २१ गते कुशवाहाविरुद्ध रेड नोटिस भएको थियो । मलेसियाको क्वाललम्पुरस्थित इन्टरपोलको शाखा कार्यालयको सहयोगमा पक्राउ परेका उनलाई काठमाडौं ल्याइएपछि कारबाहीका लागि रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको थियो । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका दीपककुमार श्रेष्ठलाई गत भदौमै बेलायतबाट नेपाल झिकाइयो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका– ३ घर भएका श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर भएको थियो । २०८० साउन ८ मा डिफ्युजन नोटिस जारी भएको थियो ।

श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आग्रहमा डिफ्युजन नोटिस जारी गरिएको थियो ।

इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले कानूनी दायरामा ल्याएका दीन, कुशवाह र श्रेष्ठ प्रतिनिधि पात्र मात्रै हुन् ।

सन् २०१२ यता रेड नोटिस जारी भएका ६९ फरार अभियुक्तलाई इन्टरपोलमार्फत प्रहरीले विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको छ ।

पक्राउ परेकाहरू जबर्जस्ती करणी, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचबिखन, अपहरण, सुन तस्करी, साइबर अपराध, वन्यजन्तु तस्करी, लागूऔषध तस्करी र चन्दा असुलीसँग जोडिएका अभियुक्तहरू छन् ।

नेपाल प्रहरीले सन् २०११ यता डिफ्यूजन नोटिस जारी गरी १९ जनालाई कानूनी दायरामा ल्याएको छ ।

पक्राउ परेकाहरू वैदेशिक रोजगार ठगी, बलात्कार, सुन तस्करी, धोकाधडी, विश्वासको दुरुपयोग र जबर्जस्ती करणी, असुली, मानव तस्करी, कीर्ते र ठगीजस्ता अपराधमा संलग्न छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार यो वर्ष भदौयता मात्रै विभिन्न कसुरमा संलग्न ९ जनालाई इन्टरपोलकै सहयोगमा कानूनी दायरामा ल्याइएको छ ।

मलेसिया, कुवेत, यूएई, बेलायतलगायत मुलुकबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ‘नेपालमा अपराध गरेर भागेकाहरू लुकेर बसेको मुलुकमा इन्टरपोलको शाखा कार्यालय भएको अवस्थामा नेपाल प्रहरीको इन्टरपोल शाखाले अनुरोध गरेपछि पक्राउ गरेर नेपाल ल्याउन सजिलो हुन्छ,’ काफ्लेले लोकान्तरसँग भने, ‘कतिपय अवस्थामा पक्राउ गर्न मिल्दैन, तर नेपाल फर्किएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै इन्टरपोलको टोलीले पक्राउ गरेको अवस्था छ ।’

मितेरी सहकारीका भण्डारी इन्टरपोलकै सहयोगमा परेका थिए पक्राउ

इन्टरपोलकै सहयोगमा मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरिएको थियो । कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका उनलाई गत असार ५ गते नेपाल ल्याइएको थियो । मितेरीका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको मुद्दामा उनी फरार थिए । मितेरी सहकारीका महाप्रबन्धक ज्योति गुरुङले सहकारीबाट अपचलन गरेको करोडौं रकम थाइल्यान्डमा बसोबास गर्दै आएका उनै भण्डारीले चलाएको आरोप थियो ।

ज्योतिबहादुर भण्डारीको नाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक–फरक नागरिकता उल्लेख भएको, ज्योतिबहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको थियो । २०८१ कात्तिक १३ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्