
माघको पहिलो साता नेपालमा आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको विश्वस्तरीय छनोट प्रतियोगिता आयोजना हुँदैछ । विश्वस्तरीय छनोट प्रतियोगिता सन् २०२६ को जनवरी १८ देखि फेब्रुअरी ३ तारिख (माघ ४ देखि २० गते)सम्म आयोजना हुनेछ ।
छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ । सम्भवत: नेपालमा आयोजना हुन लागेको यो हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो ।
यो प्रतियोगितामा विश्वका विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिताबाट चारवटा टोलीले सन् २०२६ मै आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
महिला टी–२० विश्वकपको १०औँ संस्करण सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिख (२०८३ जेठ २९ देखि असार २१) सम्म आयोजना हुनेछ । इङ्ल्यान्ड र वेल्समा आयोजना हुने उक्त विश्वकपमा १२ टोलीको सहभागिता रहने छ ।
आठवटा टोलीले यसअघि नै आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् भने चारवटा टोलीको टुङ्गो नेपालमा आयोजना हुने यही ग्लोबल छनोट प्रतियोगिताबाट लाग्नेछ । ग्लोबल छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यू गिनी (पीएनजी) र अमेरिका रहेका छन् । समूह ‘बी’ मा भने आयोजक नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे परेका छन् ।

प्रतियोगिताको पहिलो दिन (जनवरी १८ तारिख) चार खेल हुनेछन् । पहिलो दिनको खेल बंगलादेश र अमेरिका, आयरल्यान्ड र पीएनजी, नेदरल्यान्ड्स र जिम्बाब्वे तथा आयोजक नेपाल र थाइल्यान्डबीच खेलिने छ ।
प्रारम्भिक चरणको खेलपछि दुईवटै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले आगामी महिला टी–२० विश्वकपमा स्थान बनाउने छन् ।
यद्यपि, ‘सुपर–६’ चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सेमिफाइनल र फाइनल खेलका लागि पनि भिडन्त गर्नेछन् । प्रतियोगिताको दुबै सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ ।
नेपालमा आयोजना हुने विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी टोलीमध्ये बंगलादेशले यसअघि ६ पटक महिला टी–२० विश्वकप खेलिसकेको छ । यसका अतिरिक्त आयरल्यान्डले चार तथा स्कटल्यान्ड र थाइल्यान्डले एक–एकपटक विश्वकपको अनुभव बटुलिसकेका छन् ।
नेपालले भने हालसम्म महिला टी–२० विश्वकप खेल्ने अवसर पाएको छैन । त्यसैले घरेलु मैदानमा छनोट चरण पार गर्दै पहिलो पटक विश्वकप खेल्ने यो गतिलो अवसर पनि हो, नेपाली टोलीका लागि ।

विश्वस्तरीय छनोट प्रतियोगिताका लागि सहभागी सबै राष्ट्रले टोलीको घोषणा पनि गरिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि आफ्नो टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।
घोषित नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उप–कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।
विश्वकप छनोटका लागि घोषित नेपाली टोली सन्तुलित छ । टोलीमा अलराउन्डर खेलाडीको वाहुल्य देखिन्छ । टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण पनि छ । पहिलोपटक विश्वकपमा स्थान पक्का गर्ने सपना बोकेर ग्लोबल छनोटमा होमिने नेपाली टोलीमा रहेका खेलाडीहरूबारे यहाँ चर्चा गरिएको छ ।

इन्दु बर्मा
इन्दु बर्माकै कप्तानीमा नेपाली टोली आगामी विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुँदैछ । कप्तान इन्दु टोलीकी अनुभवी अलराउन्डर खेलाडी हुन् । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो ।
२८ वर्षीय इन्दुले देशका लागि ७८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । यसक्रममा उनले १८.५८ को औसतले कुल एक हजार ४१ रन बनाएकी छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एउटा अर्धशतक पनि बनाएकी छन् ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको उच्च स्कोर अविजित ५५ रन हो । इन्दुले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८३.४८ को स्ट्राइक रेटमा रन बनाएकी छन् । यसका अतिरिक्त, उनले टी–२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिएकी छन् ।
बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल पाँच रन खर्चिएर तीन विकेट हो । उनले कप्तान बन्नुअघि ४४ खेलमा चार सय ९३ रन बनाएकी थिइन् भने कप्तानको भूमिकामा ३४ खेल खेल्दै पाँच सय ४८ रन बनाइसकेकी छन् ।
इन्दूले सन् २०१९ को जनवरी १२ तारिखमा थाइल्यान्डमा खेलिएको चीनविरुद्धको खेलमार्फत् टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । त्यो खेलमा उनले बलिङ र ब्याटिङ दुबै गरेकी थिइनन् । दुवै ओपनरले नै नेपाललाई जितसम्म पूर्याएकाले अन्य ब्याट्रको पालो नै आएको थिएन ।
पूजा महतो
पूजा महतो राष्ट्रिय महिला टोलीकी उप–कप्तान हुन् । १९ वर्षीया पूजा पनि टोलीकी क्षमतावान अलराउन्डर खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुवै अब्बल छ । उनले कम उमेरमै अन्तर्राष्ट्रिय क्रिकेटको गतिलो अनुभव बटुलिसकेकी छन् ।
पूजाले कप्तानको भूमिकामा नेपाली यू–१९ महिला टोलीलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराएकी थिइन् । उनी यू–१९ विश्वकपको छनोट खेलमा कुल दुई सय ७२ रन प्रहार गर्दै सर्वाधिक रनकर्ता बनेकी थिइन् । पूजाले उक्त छनोट प्रतियोगितामा १० विकेट पनि लिएकी थिइन् । उनले कुवेतविरुद्ध अविजित एक सय ३० रनको शतकीय पाली खेलेकी थिइन् ।
पूजा एसीसी महिला यू–१९ एसिया कप–२०२४ मा पाकिस्तानलाई ६ विकेटले हराउँदै इतिहास रच्ने टोलीकी कप्तान पनि हुन् । उनले हालसम्म ४२ टी–२० अन्तर्राष्ट्रियको ३५ पालीमा १७.३८ को औसतले कुल पाँच सय ३९ रन बनाएकी छन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ८४.२१ रहेको छ । दुईवटा अर्धशतक बनाएकी पूजाको उच्च स्कोर भने अविजित ६२ रन हो । टी–२० अन्तर्राष्ट्रियमा उनले २८ विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल दुई रन खर्चिएर तीन विकेट हो ।
पूजाले सन् २०२३ को अगस्त २२ तारिखमा मलेसियामा खेलिएको हङ्कङविरुद्धको खेलमार्फत् टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । त्यो खेलमा ओपनर पूजाले १६ रन बनाएकी थिइन् भने एक विकेट पनि लिएकी थिइन् । खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
रुविना क्षेत्री
रुविना क्षेत्री नेपाली राष्ट्रिय टोलीकी सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् । उनी टोलीकी प्रभावशाली अलराउन्डर हुन् । ३२ वर्षीया रुविनाले देशका लागि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै अब्बल प्रदर्शन गरिसकेकी छन् । रुविनाले हालसम्म ७९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छन् ।
रुविनाले टी–२० अन्तर्राष्ट्रियको ६९ पालीमा १९.८१ को औसतले कुल नौ सय ५१ रन बनाएकी छन् । यसक्रममा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ९१.८८ को स्ट्राइक रेटमा रन बनाएकी छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले बनाएको उच्च स्कोर अविजित एक सय १८ रन हो ।
रुविनाले टी–२० अन्तर्राष्ट्रियमा ४५ विकेट पनि लिएकी छन् । बलिङतर्फ रुविनाको उत्कृष्ट प्रदर्शन केवल दुई रन खर्चिएर चार विकेट हो । उनी राष्ट्रिय टोलीकी पूर्वकप्तान पनि हुन् । उनले कप्तानको भूमिकामा ४६ खेल खेल्दै कुल पाँच सय दुई रन बनाएकी छन् । कप्तानको भूमिकामा नरहँदा भने उनले ३३ खेल खेल्दै चार सय ४९ रन बनाएकी छन् ।
रुविनाले सन् २०१९ को जनवरी १२ तारिखमा चीनविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै उनी कप्तानको भूमिकामा थिइन् भने उक्त खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो ।
सीता रानामगर
सीता रानामगर राष्ट्रिय टोलीकी सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् । ३३ वर्षीय सीता टोलीकी प्रभावशाली अलराउन्डर हुन् । उनको उत्कृष्ट प्रदर्शनका कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पनि हात पारेको छ ।
सीताले देशका लागि हालसम्म ६३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियको ५९ पालीमा २०.९७ को औसतले कुल नौ सय ६५ रन बनाएकी छन् । यसक्रममा उनले एउटा अर्धशतक पनि प्रहार गरेकी छन् ।
उनले टी–२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर अविजित ८२ रन हो । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट ७८.७१ रहेको छ । यसका अतिरिक्त, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५८ विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल १२ रन खर्चिएर पाँच विकेट हो ।
सीताले इन्दू बर्मा र रुविना क्षेत्रीसँगै सन् २०१९ को जनवरी १२ तारिखमा थाइल्यान्डमा खेलिएको चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । त्यो खेलमा ओपनर सीताले अविजित २४ रन बनाउँदै नेपाललाई १० विकेटको जित दिलाएकी थिइन् । उनले दुई ओभर बलिङ गरे पनि विकेट भने लिएकी थिइनन् ।
बिन्दू रावल
बिन्दू रावल पनि राष्ट्रिय टोलीकी अनुभवी खेलाडी हुन् । बायाँहातले ब्याटिङ गर्ने बिन्दूले थप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन् । २९ वर्षीय बिन्दूले हालसम्म ४३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी छन् ।
सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा जन्मिएकी उनले टी–२० अन्तर्राष्ट्रियको ३० पालीमा ११.९१ को औसतले कुल दुई सय ७४ रन बनाएकी छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको उच्च स्कोर भने अविजित २९ रन हो ।
बिन्दूले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध पनि खेलेर गतिलो अनुभव बटुलेकी छन् । उनले पनि सन् २०१९ को जनवरी १२ तारिखमा थाइल्यान्डमा खेलिएको चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् ।
सम्झना खड्का
सम्झना खड्का राष्ट्रिय टोलीकी भरपर्दी खेलाडी हुन् । दायाँहाते ब्याटर सम्झनाले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन् । सुदूरपश्चिमको बझाङमा जन्मिएकी २६ वर्षीया सम्झना टोलीकी ओपनर ब्याटर पनि हुन् ।
सम्झनाले हालसम्म ४१ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् । टी–२० अन्तर्राष्ट्रियको ३६ पालीमा उनले १२.५० को औसतले कुल चार सय रन बनाएकी छन् । यसक्रममा उनले एउटा अर्धशतक प्रहार गरेकी छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित ७२ रन हो ।
उनको स्ट्राइक रेट भने ९३.४५ रहेको छ । उनले सन् २०२३ मा मलेसियामा खेलिएको आयोजक राष्ट्रविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । त्यो खेलमा उनले १३ रन बनाएकी थिइन् । यद्यपि, उक्त खेलमा नेपाली टोली पाँच विकेटले पराजित भएको थियो ।
काजल श्रेष्ठ
काजल श्रेष्ठ राष्ट्रिय टोलीकी अनुभवी विकेटकिपर ब्याटर हुन् । उनी अन्तर्राष्ट्रिय प्रतियोगिताको गतिलो अनुभव बोकेर खारिएकी खेलाडी पनि हुन् । २६ वर्षीया काजलले चार दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी छन् ।
काजलले ४८ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा १०.३७ को औसतले कुल तीन सय एक रन बनाएकी छन् । उनको स्ट्राइक रेट ६८.५६ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा काजलको उत्कृष्ट प्रदर्शन भने ३२ रन हो ।
घरेलु प्रतियोगितामा उनी कोशी प्रदेशको टोलीको प्रतिनिधित्व गर्छिन् । टोलीका अधिकांश अनुभवी खेलाडीसँगै उनले पनि सन् २०१९ मा थाइल्यान्डमा खेलिएको चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटकिपरको भूमिकामा उनले विपक्षी टोलीका २८ ब्याटरलाई पेभेलियन फर्काएकी छन् । उनले १३ वटा क्याच लिएकी छन् । यसका अतिरिक्त, उनले १५ ब्याटरलाई स्टम्पिङ पनि गरेकी छन् ।
कविता जोशी
कविता जोशी राष्ट्रिय टोलीकी अनुभवी अलराउन्डर हुन् । सुदूरपश्चिमको कञ्चनपुरमा जन्मिएकी २९ वर्षीया कविता जोशीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन् । दायाँहाते ब्याटर कविता जोशी टोलीकी भरपर्दी स्पिनर हुन् ।
कविता जोशीले हालसम्म देशका लागि ५४ वटा टी–२० अन्तर्राष्ट्रिय खेलिसकेकी छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले १२.३१ को औसतले कुल दुई सय ७१ रन बनाएकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको स्ट्राइक रेट भने ७८.७७ रहेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा उनले बनाएको उच्च स्कोर अविजित ३१ रन हो । उनले २१ अन्तर्राष्ट्रिय विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल पाँच रन खर्चिएर दुई विकेट हो ।
उनले सन् २०२१ को नोभेम्बर १६ तारिखमा दोहामा खेलिएको कतारविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । कविता जोशीको ‘डेब्यू’ खेलमा नेपाली टोली एक सय १९ रनको विशाल अन्तरले विजयी भएको थियो ।
कविता कुँवर
कविता कुँवर राष्ट्रिय टोली अलराउन्डर खेलाडी हुन् । उनी टोलीकी सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो । उनले पाँच दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी छन् ।
२२ वर्षीया कविता कुँवरले देशका लागि ६१ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा १०.८४ को औसतले कुल ती सय ४७ रन बनाएकी छन् । उनको स्ट्राइक रेट ७५.५९ रहेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उच्च स्कोर ३१ रन हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ५६ विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल १० रन खर्चिएर तीन विकेट हो ।
कविता कुँवरले सन् २०१९ मा थाइल्यान्डमा खेलिएको चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । उनको ‘डेब्यू’ खेलमा नेपाली टोली १० विकेटले विजयी भएको थियो ।
रचना चौधरी
रचना चौधरी राष्ट्रिय टोलीकी युवा खेलाडी हुन् । उनले सिनियर टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको खासै गतिलो अनुभव बटुल्ने अवसर पाएकी छैनन् । उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अब्बल प्रदर्शन गरेकी छन् ।
नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउन उनको भूमिका महत्वपूर्ण थियो । यू–१९ विश्वकपको छनोट प्रतियोगितामा थाइल्यान्डविरुद्ध उनले केवल १० रन खर्चिएर चार विकेट लिएकी थिइन् । उनले यू–१९ विश्वकप पनि खेलेकी छन् । उक्त विश्वकपमा उनले ६ विकेट लिएकी थिइन् ।
१८ वर्षीया बायाँहाते स्पिन बलर रचनाले सिनियर टोलीबाट हालसम्म केवल १३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले हालसम्म पाँच विकेट लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर दुई विकेट हो ।
रचनाले सन् २०२५ को फेब्रुअरी ४ तारिखमा घरेलु मैदानमा खेलिएको थाइल्यान्ड विरुद्धको खेलमार्फत सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । आफ्नो ‘डेब्यू’ खेलमा उनले एक विकेट लिएकी थिइन् ।
रिया शर्मा
रिया शर्मा टी–२० विश्वकपको ग्लोबल छनोटका लागि घोषित राष्ट्रिय टोलीकी सबैभन्दा युवा खेलाडी हुन् । १७ वर्षीया रिया दायाँहाते स्पिनर हुन् । सिनियर राष्ट्रिय टोलीबाट धेरै प्रतियोगिता नखेले पनि उनले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अब्बल प्रदर्शन गरेकी छन् ।
नेपाललाई यू–१९ टी–२० विश्वकप र यू–१९ एसिया कपमा छनोट गराउन उनको भूमिका महत्वपूर्ण थियो । उनले छनोट प्रतियोगितामा नौ विकेट लिएकी थिइन् । उनले यू–१९ विश्वकपमा पनि तीन विकेट लिएकी थिइन् ।
रियाले सिनियर टोलीबाट भने १६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले तीन विकेट लिएकी छन् । उनले सन् २०२५ को मार्च ८ तारिखमा खेलिएको नामिबिया विरुद्धको खेलमार्फत सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् ।
रोमा थापा
रोमा थापा राष्ट्रिय टोलीकी विकेटकिपर ब्याटर हुन् । उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी छन् । २८ वर्षीय रोमाले देशका लागि ३२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।
रोमाले टी–२० अन्तर्राष्ट्रियमा १७ पालीमा १०.९० को औसतले कुल एक सय २० रन बनाएकी छन् । उनको स्ट्राइक रेट ६८.५७ रहेको छ । उनले विकेटकिपरको भूमिकामा विपक्षी टोलीका चार ब्याटरलाई पेभेलियन फर्काएकी छन् ।
अन्य सिनियर खेलाडीजस्तै रोमाले पनि सन् २०१९ को जनवरी १२ तारिखमा थाइल्यान्डमा खेलिएको चीनविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । उनको ‘डेब्यू’ खेलमा नेपाली टोली १० विकेटले विजयी भएको थियो ।
सुमन बिष्ट
सुमन बिष्ट राष्ट्रिय टोलीकी बायाँहाते मध्यमतेज गतिकी बलर हुन् । २६ वर्षीया सुमनले सिनियर राष्ट्रिय टोलीबाट धेरै प्रतियोगिता खेलेकी छैनन् । उनले सिनियर टोलीबाट केवल सातवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनले चार विकेट लिएकी छन् । उनको उत्कृष्ट प्रदर्शन भने १८ रन खर्चिएर दुई विकेट हो । उनले चारवटै विकेट मलेसियाविरुद्धको खेलमा लिएकी हुन् ।
सुमनले सन् २०२३ को नोभेम्बर १५ तारिखमा हङ्कङमा खेलिएको तान्जनिया विरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । त्यो खेलमा उनले तीन ओभर बलिङ गरे पनि विकेट लिन सकेकी थिइनन् ।
राजमती ऐरी
राजमती ऐरी मध्यमतेज गतिकी बलर हुन् । उनी बलिङ र ब्याटिङ दुवै बायाँहातले गर्छिन् । २३ वर्षीया राजमतीले सिनियर टोलीबाट धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छैनन् । उनले देशका लागि हालसम्म १० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।
राजमतीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आठ विकेट लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १५ रन खर्चिएर तीन विकेट हो । उनले टी–२० अन्तर्राष्ट्रियको पाँच पालीमा कुल ४० रन बनाएकी छन् । ब्याटिङतर्फ उनको उच्च स्कोर अविजित २० रन हो ।
राजमतीले सन् २०२५ को फेब्रुअरी ७ तारिखमा घरेलु मैदानमा खेलिएको थाइल्यान्ड विरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् । उक्त खेलमा उनले बलिङ गरेकी थिइनन् भने ब्याटिङतर्फ अविजित ११ रन बनाएकी थिइन् ।
मनिषा उपाध्याय
मनिषा उपाध्याय मध्यमतेज गतिकी बलर हुन् । उनी बायाँ हातले बलिङ गर्छिन् । सिनियर टोलीबाट धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेले पनि २१ वर्षीया मनिषाले आफूले खेलेको सीमित खेलमा अब्बल प्रदर्शन गरेकी छन् ।
मनिषाले देशका लागि हालसम्म आठवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । टी–२० अन्तर्राष्ट्रियमा कुल १२ विकेट लिएकी छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर चार विकेट हो ।
मनिषाले नेदरल्यान्ड्सविरुद्ध दुई, थाइल्यान्डविरुद्ध ६ र संयुक्त अरब इमिरेट्सविरुद्ध चार विकेट लिएकी हुन् । सन् २०२५ को फेब्रुअरी १ तारिखमा घरेलु मैदानमा खेलिएको थाइल्यान्डविरुद्धको खेलमार्फत् उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेकी थिइन् ।
आफ्नो ‘डेब्यू’ खेलमा उनले चार ओभरमा १३ रन खर्चिएर दुई विकेट लिएकी थिइन् । यद्यपि, उक्त खेलमा नेपाली टोली चार विकेटले पराजित भएको थियो ।
हर्षल पाठक (प्रमुख प्रशिक्षक)
आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटलाई नै ध्यानमा राखी क्यानले भारतका हर्षल पाठकलाई राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको उनी पहिलो विदेशी प्रमुख प्रशिक्षक हुन् ।
नेपाली टोलीसँग जोडिनुअघि पाठकले करिब सात वर्ष थाइल्यान्डको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका रूपमा काम गरेका थिए । थाइल्यान्डलाई सन् २०२० को महिला टी–२० विश्वकपमा छनोट गराउन उनको भूमिका महत्वपूर्ण रहेको थियो ।
पाठकको प्रशिक्षकत्वमा नेपाली टोलीले पहिलो पटक टी–२० विश्वकप मञ्चमा आफूलाई उभ्याएर इतिहास रच्ने विश्वास गरिएको छ । करिब एक महिनादेखि उनले ग्लोबल छनोटका लागि नेपाली टोलीलाई प्रशिक्षण दिँदै आएका छन् ।