
आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोली समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्ने तयारीमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो ।
टी–२० विश्वकपको १०औं संस्करण आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
नेपाली टोलीले विश्वकपको अन्तिम तयारी श्रीलंका र भारतमा गर्नेछ । भारत र श्रीलंकामा नेपाली टोलीले केही अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ ।
बिदाइ कार्यक्रममा नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीले सफलताको शुभकामना दिए ।
आगामी टी–२० विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटाली पनि रहेका छन् ।

इङ्ल्यान्ड, बंगलादेश र वेस्ट इन्डिज टेस्ट राष्ट्र हुन् । इटाली भने पहिलो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो ।
प्रकाशित खेल तालिका अनुसार, आगामी विश्वकपमा नेपाली टोलीले आफ्नो सबै खेल भारतको मुम्बईस्थित वानखेड स्टेडियममा खेल्ने कार्यक्रम रहेको छ ।
नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ तारिखमा इङ्ल्यान्डसँग, दोस्रो खेल १२ तारिखमा इटालीसँग, तेस्रो खेल १५ तारिखमा वेस्ट इन्डिजसँग र चौथो खेल १७ तारिखमा बंगलादेशसँग खेल्नेछ ।
विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा रहेका छन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।