
विश्व क्रिकेटमा खेलाडीले गर्ने प्रदर्शनसँगै खेलाडीको ‘ड्रेसिङ रुम’ पनि सधैं समर्थकको चासोको विषय बन्ने गरेको छ । ड्रेसिङ रुममा खेलाडी, प्रशिक्षक र व्यवस्थापकबाहेक अन्य व्यक्तिको पहुँच नहुने भएकाले पनि त्यहाँ हुने अधिकांश गतिविधि गोप्य हुने गर्छ ।
कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा ड्रेसिङ रुममा हुने गतिविधि बिरलै बाहिर आउने गर्छन् । बेलाबखतमा खेलाडीहरूले नै ड्रेसिङ रुमका गतिविधिलाई बाहिर ल्याउने गरेका छन् । समयको लामो कालखण्ड बितिसकेपछि बाहिर आउने यस्ता घटनाले समर्थकलाई पनि गतिलै मनोरञ्जन दिन्छ ।
विश्व क्रिकेटसँग जोडिएको यस्तै एउटा घटना निकै रमाइलो छ । यो घटना आजभन्दा ४० वर्षअघि खेलिएको एउटा ठूलै अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा भारतीय टोलीको ड्रेसिङ रुममा भएको थियो । यो घटनासँग जोडिएका अर्का पात्र भने अन्डरवर्ल्ड डन दाउद इब्राहिम हुन् ।
सन् १९८० र सन् १९९० को दशकमा क्रिकेट र अन्डरवर्ल्डबीच रहस्यमय सम्बन्ध रहेको समाचारहरू निकै बाहिरिने गर्थे । त्यसताका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको नाम पनि बेलाबखत म्याच फिक्सिङसँग जोडिने गरेको थियो ।
सन् १९८६ को अप्रिलमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहाँमा एस्ट्रल–एसिया कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानका अतिरिक्त न्युजिल्यान्ड, अस्ट्रेलिया र श्रीलंका पनि सहभागी थिए ।
उक्त एकदिवसीय प्रतियोगिताको सेमिफानलमा भारतले श्रीलंकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । अर्को सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै पाकिस्तान पनि फाइनलमा पुगेको थियो ।
प्रतियोगिताको उपाधि भिडन्त अप्रिल १८ तारिखमा भारत र पाकिस्तानबीच खेलाइएने पक्का भएको थियो । घटना फाइनल खेलभन्दा एक दिन अगाडिको हो । फाइनल खेलअघि भारतीय खेलाडी नियमित अभ्यासपछि ड्रेसिङ रुममा उपस्थित थिए ।
भारतीय टोलीका कप्तान कपिल देव भने पत्रकार सम्मेलनमा सहभागी हुँदै थिए । अचानक दुई व्यक्ति भारतीय टोलीको ड्रेसिङ रुममा प्रवेश गरे । त्यसमध्ये एक थिए, भारतीय चलचित्र उद्योगका तत्कालीन समयका चर्चित अभिनेता एवं हास्य कलाकार महमुद ।
भारतीय खेलाडीहरू महमुदसँग त राम्ररी परिचित थिए तर, अर्का अपरिचित व्यक्तिलाई भने उनीहरूले चिनेका थिएनन् । त्यसपछि महमुदले ती अपरिचित व्यक्ति प्रभावशाली उद्योगपति भएको जानकारी भारतीय खेलाडीलाई दिए ।
खासमा ति अपरिचित व्यक्ति थिए, अन्डरवर्ल्ड डन दाउद इब्राहिम । त्यसपछि दाउद इब्राहिमले भारतीय खेलाडीलाई एउटा प्रलोभन दिए । दाउदले फाइनल खेलमा भारतले पाकिस्तानलाई हराएमा भारतीय टोलीका प्रत्येक खेलाडीलाई एउटा–एउटा टोयोटा कार उपहार दिने घोषणा गरे ।
समयको त्यो कालखण्डमा भारतमा पनि विदेशी कारलाई निकै महत्त्वका साथ हेरिन्थ्यो । दाउदबाट यस्तो प्रस्ताव सुनेर भारतीय टोलीका हरेक खेलाडी आश्चर्यमा परेका थिए । ड्रेसिङ रुमको वातावरण रमाइलो थियो र खेलाडीहरू मौन थिए ।
ठिक त्यसै बेला पत्रकार सम्मेलन टुङ्ग्याएर भारतीय टोलीका कपिल देव ड्रेसिङ रुममा प्रवेश गरे । कपिललाई निकै कडा स्वभावका थिए । उनी खेलाडीको ड्रेसिङ रुममा कुनै पनि असम्बद्ध व्यक्तिको प्रवेशलाई रुचाउँदैन थिए ।
ड्रेसिङ रूपमा दुईजना असम्बद्ध व्यक्तिलाई देखेपछि उनी गम्भीर बने । अभिनेता महमुदसँग भने उनी राम्ररी परिचित थिए । त्यसैले कपिलले महमुदलाई विनम्र स्वरमा ड्रेसिङ रुमबाट बाहिर जान अनुरोध गरे । महमुद तत्कालै ड्रेसिङ रुमबाट बाहिरिए ।
तर, दाउदलाई भने कपिलले चिन्न सकेनन् । त्यसैले कपिलले दाउदलाई कडा शब्दमा प्रश्न गर्दै निर्देशन पनि दिए, ‘तिमी को हौं ? हाम्रो ड्रेसिङ रुममा तिमी के गर्दैछौं ? तत्काल बाहिर निस्क’ कपिलको व्यवहारबाट स्तब्ध: बनेका दाउद पनि ड्रेसिङ रुमबाट तत्कालै बाहिर निस्किए । बाहिर निस्किनुअघि दाउदले भारतीय खेलाडीलाई हेर्दै भनेका थिए, ‘कार क्यान्सिल ।’
पछि कपिल देवले आफूले गाली गरेर बाहिर निकालेको अपरिचित व्यक्ति अन्डरवर्ल्ड डन दाउद इब्राहिम भएको थाहा पाए । त्यो घटना भएको निकैपछि यो रहस्य भारतीय टोलीका पूर्वकप्तान दिलीप वेंगसरकरले खोलेका हुन् ।
त्यो घटना हुँदा दिलीप वेंगसरकर खेलाडीको भूमिकामा भारतीय टोलीमा सहभागी थिए । भारतीय टोलीमा क्रिस श्रीकान्त, सुनिल गावस्कर, कीर्ति आजाद, चेतन शर्मा, रवी शास्त्री, चन्द्रकान्त पण्डित, मोहम्मद अजहरूद्दिन, मदन लाल, मनिन्दर सिंहलगायतका चर्चित खेलाडी पनि सहभागी थिए ।
त्यो प्रतियोगिताको फाइनल खेलमा पाकिस्तानले भारतमाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । चेतन शर्माले फालेको अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै जावेद मियाँदादले पाकिस्तानलाई जित दिलाएका थिए ।
जावेद मियाँदाले फाइनल खेलमा अविजित एक सय १६ रन बनाएका थिए । त्यो खेलपछि भारतीय समर्थकको आँखामा चेतन शर्मा खलनायकका रूपमा चित्रित हुन पुगेका थिए । उनको निकै आलोचना भएको थियो ।
इमरान खानको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा मुदसर नजार, मोहसिन खान, रमिज राजा, जावेद मियाँदाद, सलिम मलिक, अब्दुल कादिर, वसिम अकरम, मन्जुर एलाही, ताउसिफ अहमदलगायतका चर्चित खेलाडी सहभागी थिए ।
त्यतिबेला भारतीय टोलीको व्यवस्थापक थिए, जयन्त लेले । जयन्त लेलेले निकैपछि प्रकाशित आफ्नो पुस्तक ‘आई वाज देयर–मेमोरिज अफ ए क्रिकेट क्रिकेट एडमिनिस्ट्रेटर’ मा पनि यो रमाइलो घटनाको बारेमा विस्तृत रूपमा उल्लेख गरेका छन् ।
यो घटनाको विषयमा निकैपछि रवि शास्त्रीले पनि मुख खोलेका थिए । रवि शास्त्रीका अनुसार आफूले हकारेर ड्रेसिङ रुमबाट निकालेको अपरिचित व्यक्ति दाउद इब्राहिम भएको जानकारी पाएपछि कपिल निकै तनावमा आएका थिए । कपिल देवले पछि दाउदसँग माफी मागेको दाबी पनि रवि शास्त्रीले गरेका छन् ।
कपिल देवकै कप्तानीमा भारतले सन् १९८३ मा पहिलो पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यो विश्वकपको महत्त्वपूर्ण खेलमा जिम्बाब्वेविरुद्ध कपिलले अविजित एक सय ७५ रन बनाउँदै भारतलाई सेमिफाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
आफ्नो समयका प्रभावशाली खेलाडी तथा सफल कप्तान कपिल देव सन् १९९९ मा म्याच फिक्सिङमा पनि फसेका थिए । त्यसपछि उनी विश्व क्रिकेटमा निकै आलोचित बनेका थिए । तर, पछि उनले म्याच फिक्सिङको आरोपबाट सफाइ पाएका थिए ।