०६ साउन २०८३, बुधबार
‘म्याजिकल नम्बर’ दोहोर्‍याउने दाउ

१२ वर्षपछि फेरिएको प्रचण्ड रणनीति : फेरि 'किङमेकर' बन्ने लक्ष्यसहित नेकपा एक्लै चुनावी मैदानमा

माघ ७, २०८२
काठमाडौं
१२ वर्षपछि फेरिएको प्रचण्ड रणनीति : फेरि 'किङमेकर' बन्ने लक्ष्यसहित नेकपा एक्लै चुनावी मैदानमा

नेपाली राजनीतिमा गठबन्धनको प्रयासजस्तै बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक भने फरक देखिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलबाट ‘एक्लै चुनाव लड्नै नसक्ने परजीवी पार्टी’को संज्ञा पाएको प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आगामी प्रतिनिधि सभा निर्वाचनमा एक्लै मैदानमा उत्रिएको हो । बाग्लुङ–१ बाहेक देशभर उम्मेदवार उठाउँदै प्रचण्डले लामो समयपछि आफ्नो एकल शक्ति परीक्षण गर्न खोजेका छन् । 

२०७० सालमा एक्लै चुनाव लडेपछि तत्कालीन माओवादी प्रायः सधैं तालमेलको चुनावी राजनीति गर्दै आएको थियो । कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर सत्ता राजनीतिमा राम्रै लाभ उठाए पनि कार्यकर्ता र मतदातामा असन्तुष्टि भने बढाएको थियो । ०७९ सालको चुनावमा गठबन्धन हुँदा पनि अपेक्षित परिणाम नआएपछि अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने निष्कर्षमा प्रचण्ड पुगेको हुनुपर्छ । 

२०७० सालको संविधानसभा निर्वाचनमा एक्लै चुनाव लडेको माओवादी केन्द्र त्यसपछिका चुनाव तालमेल गरेर  लड्दै आएको थियो । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा तालमेल गरेको माओवादी केन्द्रले सोही वर्ष प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग तालमेल गरेको थियो ।

एमालेसँग तालमेल गरेको बेला माओवादीले ३६ सीट जितेको थियो । चुनावी तालमेलपछि पार्टी २०७५ सालमा एमाले र माओवादीबीच पार्टी एकता नै भयो । भलै एकता लामो समय टिक्न सकेन ।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित भएपछि ०७९ सालको चुनावमा माओवादी केन्द्रले कांग्रेस, तत्कालीन नेकपा एसलगायतसँग गठबन्धन गर्‍यो । ०७४ सालजस्तो चुनावी गठबन्धन फलदायी भएन ।

कांग्रेसले पनि माओवादीसँगको तालमेललाई सहज लिएन । तत्कालीन कांग्रेस उपसभापति धनराज गुरुङले हात्तीको कानमुनि छिर्न आएका दल भनेर माओवादी र नेकपा एस लगायतप्रति कटाक्ष गरेका थिए ।

२०८० फागुनमा भएको कांग्रेस महासमिति बैठकमा कसैसँग चुनावी तालमेल नगर्ने प्रस्ताव पारित भएपछि सत्ता–साझेदारी गरिरहेको माओवादी झस्कियो । त्यसलगत्तै प्रचण्डले गठबन्धन फेरेर एमालेसँग समीकरण बनाए ।

२०८१ फागुमा त्यो बेला माओवादी–एमाले सत्ता गठबन्धन बन्दा चुनावसम्म जाने सहमति भएको थियो । त्यही सहमति स्मरण गर्दै २०८१ असार १६ गते बालुवाटारमा दुई नेताबीच भएको संवाद ‘स्वर्ग गए पनि, नर्क गए पनि सँगँसँगै’ बाहिरिएको थियो ।

कांग्रेस–एमाले सत्ता सहकार्य गरेपछि विरक्तिका प्रचण्डले त्यही बेलादेखि आफ्नै खुट्टामा उभिने भन्दै अन्य सानातिना दललाई मिलाउने काममा लागेका थिए ।

एमाले विभाजन गरेर बनेको नेकपा एसदेखि एमालेसँग संवादमा रहेका वामदेव गौतम समेतलाई पार्टीमा भित्र्याए । विप्लवको पार्टीमा असन्तुष्ट रहेका समूहदेखि भीम रावलसम्मलाई उनले समेटे ।

तालमेल असफल प्रयास

पुस १९ गते भारतको नयाँ दिल्ली जानुअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । राष्ट्रिय सभा चुनावमा सहमति खोज्न भएको भनिएको त्यो बैठकमा प्रतिनिधि सभा निर्वाचनमा समेत सहकार्यको प्रस्ताव भएको स्रोतको दाबी छ ।

ओली–प्रचण्ड च्यासलमा भेटेको त्यही घरमा शंकर पोखरेल र वर्षमान पुनबीच निरन्तर संवाद भएको थियो । तर, त्यो संवादले मूर्त रूप लिन सकेन । राष्ट्रिय सभा निर्वाचनमा ३ सीट लिन अस्वीकार गरेर नेकपा एक्लै चुनावमा होमियो ।

पढ्नुहोस् यो पनि

शंकर पोखरेलको असान्दर्भिक अभिव्यक्ति- कम्युनिस्ट एकताको बेमौसमी राग !

 

पुस २२ गतेपेरिसडाँडामाप्रचण्डले अबको निकास चुनाव मात्र भएको बताएपछि पत्रकारहरूले सोधेका थिए– कोसँग तालमेल गर्नुहुन्छ ? गाडीतर्फ लम्किसकेका प्रचण्डले पछाडि फर्केर भनेका थिए– ‘लेखेर राख्नुस्, चुनावी गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं ।’ माघ ६ गतेसम्म आइपुग्दा प्रचण्ड त्यो अडानमा कायमै छन्, नेकपाले देशभर उम्मेदवार उठाएको छ ।

नेकपाको साविक माओवादी तर्फका एक नेताले कहिले कांग्रेस र कहिले एमालेसँग तालमेल गर्दा कार्यकर्ता र सुभेक्षुकहरू भड्किएको र समानुपातिकमा भोट कम आएकाले यसपटक एक्लै चुनावमा जाने निर्णय भएको बताए । ‘हामीले आफ्नो एकल शक्ति परीक्षण पनि गर्न खोजेका हौं’ ती नेताले लोकान्तरसँग भने ।

चुनावी तालमेल नभए पनि ०७९ सालकै पोजिसन संसद्मा ल्याउन सके सत्ताका लागि किङमेकर बन्न सकिने बुझाइ नेकपा नेताहरूको छ । ०७९ सालमा माओवादीले प्रतिनिधि सभामा ३२ सीट जितेको थियो । त्यसलाई प्रचण्डले ‘म्याजिकल नम्बर’ भन्दै आएका थिए ।

एक्लै चुनाव लड्दा असुरक्षित महसुश गरेका प्रचण्ड चुनाव फेर्दै यसपटक माओवादी सशस्त्र संघर्षको उद्गम मानिने रूकुमपूर्व गएका छन् । उनले आफैँ उपस्थित भएर मंगलवार मनोनयन गरे भने बुधवार स्थानीयसँग अन्तरक्रिया गरेका छन् ।

२०७९ सालमा गोरखा २, ०७४ सालमा चितवनबाट चुनाव लडेका थिए । त्यसअघि उनी काठमाडौं ४ र सिराहा १ बाट विजयी भएका थिए । 

यो पनि पढ्नुहोस् 

यी हुन् नेकपाका १६५ उम्मेदवार

 

कमेन्ट गर्नुहोस्