
२१ फागुनमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले देशभरकै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार ६ माघमा सबैभन्दा पुरानो प्रजातान्त्रिक दल कांग्रेस सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।
यसपटक कांग्रेसको टिकट सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे लगायतले बाँडेका हुन् । यसरी टिकट बाँड्दा कांग्रेसजस्तो विरासत र ७० दशक लामो इतिहास बोकेको पार्टीले अधिकांश नयाँ र ऊर्जावान् अनुहारलाई समेटेको छ ।
२३ र २४ भदौको जेनजी विद्रोहपश्चात् कांग्रेसमा ‘कठिन बाटो’बाट नेतृत्व परिवर्तन भएको थियो । २७-३० पुसमा मा सम्पन्न विशेष महाधिवेशनबाट पुरानो दल कांग्रेसभित्र ‘नयाँ तथा ऊर्जावान्’ नेतृत्व चयन भएको थियो । तत्कालीन संस्थापन समूहको व्यापक असन्तोष तथा रोकतोकको बावजुद सम्पन्न भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वले टिकट वितरणमा नयाँ प्राण भरेको देखिन्छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेसजस्तो पुरानो दलमा २५-३५ वर्ष उमेर समूहका चार जनाले टिकट पाएका छन् ।
यस्तै ३६-४० वर्ष उमेर समूहका ५ जनाले टिकट पाएका छन् । समग्रमा २५ देखि ४० वर्ष उमेर समूहका ९ युवालाई टिकट दिएर कांग्रेसले जेनजी विद्रोह र त्यसको मर्मलाई आत्मसाथ गर्ने प्रयास गरेको कांग्रेसका एक नेता बताउँछन् ।
‘अझै पनि कम देखियो होला, तर परिवर्तनलाई आत्मसाथ गर्ने प्रयास कांग्रेसले गरेको हो,’ ती नेता भन्छन्, ‘कांग्रेसको रूख बुढो भयो भन्ने गुनासोलाई सम्बोधन गर्न नयाँ पालुवा पलाउँदैछ भन्ने सन्देश दिन खोजिएको हो ।’
पार्टी प्रवक्ता देवराज चालिसे पनि समयको बेग र वर्तमान पुस्ताको आवश्यकतालाई परिपूर्ति गर्न पुराना नेताहरूलाई रोकेर नयाँ व्यक्तिहरूलाई अवसर दिइएको तर्क गर्छन् ।

यी हुन् ३५ मुनिका उम्मेदवार
कांग्रेसले टिकट दिएकोमध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्- योगेश गौचन थकाली । उमेरमा ३२ वर्षीय थकाली निवर्तमान सांसद पनि हुन् ।
कांग्रेसले २०७९ मा भएको निर्वाचनमा पनि थकालीलाई टिकट दिएको थियो । योगेश कांग्रेस नेता रोमी गौचन थकालीका छोरा पनि हुन् । निर्वाचन आयोगमा दर्ता भएको उमेर अनुसार उनी हाल ३२ वर्ष भएका छन् । उनले पुनः मुस्ताङबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् ।
थकालीपश्चात् अर्का कान्छा उम्मेदवार हुन्, सचिन तिमल्सिना । काठमाडौंका स्थायी निवासी तिमिल्सिना युथ कांग्रेसमा आबद्ध भएर राजनीतिमा सक्रिय थिए । निर्वाचन आयोगका अनुसार तिमल्सिनाको उमेर हाल ३३ वर्ष मात्र पुगेको छ ।
सचिन पहिलोपटक सांसद बन्ने लक्ष्यसहित काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने तयारीमा छन् । पार्टी सभापति गगनकुमार थापाले तीनपटक जितेको यो क्षेत्रबाट यसपटक सचिनले चुनाव लड्ने मौका पाएका छन् । लामो समय थापानिकट रहेर राजनीतिक गतिविधि गरिरहेका तिमिल्सिना क्रिकेट कमेन्टेटर समेत हुन् ।

कांग्रेसले नै रोल्पामा अर्का कान्छा उम्मेदवारलाई टिकट दिएको छ । यहाँ ३४ वर्षीय डा. सुदनकुमार वलीले टिकट पाएका छन् । चीनबाट अर्थशास्त्र विषयमा पीएचडी गरेका उनी अर्थशास्त्री हुन् । लुम्बिनी प्रदेश सरकारको योजना आयोगमा बसेर काम गरिसकेका वली आर्थिक विकास, मानव पूँजी, वित्तीय गहनता र सामाजिक सुरक्षाका विषयमा दख्खल राख्छन् ।
कांग्रेसले इलाम क्षेत्र नम्बर १ मा ३५ वर्षीय युवालाई टिकट दिएको छ । यसअघि पटक-पटक झलनाथ खनालले जित्दै आएको इलाम १ मा यसपटक निश्कल राईले टिकट पाएका छन् ।

विद्यार्थी राजनीतिबाट हुर्किएका राई हाल अर्थशास्त्रमा एमफिल गरिरहेका छन् । शंकरदेव क्याम्पसका पूर्व लेक्चर भएर पनि उनले काम गरेका छन् ।
कांग्रेसले यसबाहेक ४० मुनिका अन्य पाँच जनलाई अवसर दिएको छ । काठमाडौं जस्तो धेरै नेता भएको जिल्लामा पनि युवाले अवसर पाएका छन् ।
कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा ३७ वर्षीय कवीर शर्मालाई टिकट दिएको छ । यस्तै, पाल्पा १ मा ३८ वर्षीय सन्दीप रानाले टिकट पाएका छन् ।
निर्वाचन आयोगका अनुसार रौतहटमा ३९ वर्षीय मो. फिरदोश आलमले टिकट पाएका छन् । काभ्रे १ मा ४० वर्षीय गुणराज मोक्तान र जाजरकोटमा पनि ४० वर्षीय खडकबहादुर बुढाले टिकट पाएका छन् ।