
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामापछि आगामी फागुनको पहिलो साता आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा परेको छ ।
मन्त्री गुप्ताकै अध्यक्षतामा गत कार्तिक १८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३ औं बोर्ड बैठकले सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा फागुन १ देखि ७ गतेसम्म १० औं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय लिएको थियो ।
तर हालै गुप्ताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न मन्त्री पदबाट राजीनामा दिए । उनी रास्वपाको तर्फबाट सिरहा-१ मा उम्मेदवार बनेका छन् ।
मन्त्री पदबाट राजीनामा दिनु अघिसम्म उनी निर्धारित समयमै १० औं राष्ट्रिय खेलकुद आयोजना हुने दाबी गरिरहेका थिए ।
पुसको अन्तिम साता मन्त्री गुप्तासहितको प्रतिनिधिमण्डल सुर्खेत भ्रमणमा पनि गएको थियो । १० औं राष्ट्रिय खेलकुदको पूर्वाधार निरीक्षण र सम्बद्ध अधिकारीसँग छलफल गर्न उनी सुर्खेत पुगेका थिए । उनी अन्तिम समयसम्म पनि १० औं राष्ट्रिय खेलकुद गराएरै छाड्ने अडानमा रहेको यो गतिलो उदाहरण हो ।
यसका अतिरिक्त, गत पुस ९ गते बसेको राखेपको १२४ औं बोर्ड बैठकले पनि वृहत् राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना गर्न तीव्र गतिमा काम अगाडि बढाउने निर्णय गरेको थियो । निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि काम–कारबाही भने प्रभावकारी रूपमा अगाडि बढाइएको थिएन ।
१० औं राष्ट्रिय खेलकुदका लागि न खेलाडी छनोटको टुङ्गो लागेको छ न त खरिद प्रक्रिया नै अगाडि बढाइएको छ । त्यसमाथि, हालसम्म न कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्त हुन सकेको छ न त राखेप (केन्द्र)ले नै नयाँ सदस्यसचिव पाउन सकेको छ ।

नेपाली खेलकुदको नेतृत्वदायी निकाय राखेप सदस्यसचिवविहीन बनेको डेढ महिनाभन्दा लामो समय बितिसकेको छ । गत मंसिर १२ गते तत्कालीन सदस्यसचिव टंकलाल घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गरी राखेपबाट बिदा भएका थिए ।
त्यसयता, राखेपले ‘वैधानिक’ सदस्यसचिव पाउन सकेको छैन । मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहतालाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिए पनि नयाँ सदस्यसचिव नियुक्तिका लागि कानूनी प्रक्रिया भने अगाडि बढाएनन् ।
मन्त्री गुप्ताको सुर्खेत भ्रमणका क्रममा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समेत फागुन पहिलो साता हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको विषयमा प्रश्न उठाएका थिए । उनले संघीय सरकारले नै १० औं राष्ट्रिय खेलकुदको तयारीमा चासो नदेखाएको आरोप लगाएका थिए ।
१० औं राष्ट्रिय खेलकुदका लागि खरिद प्रक्रिया अघि नबढाइएकोदेखि लिएर खेलस्थलको टुङ्गो लाग्न नसकेको विषयमा समेत उनले प्रश्न उठाएका थिए । त्यसक्रममा पनि मन्त्री गुप्ताले तोकिएकै समयमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुने दाबी गरेका थिए ।
यस्तो स्थितिमा प्रतियोगिता शुरू हुन केवल २५ दिन बाँकी रहँदा मन्त्री गुप्ता आफैंले पदबाट राजीनामा दिएपछि १० औं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने पक्काजस्तै भएको हो । सम्बद्ध खेल अधिकारी पनि विभिन्न प्राविधिक र प्रशासनिक समस्याका कारण प्रतियोगिता निर्धारित समयमा नहुने बताउँछन् ।
राखेपको १२३ औं र १२४ औं बोर्ड बैठकमै पनि कतिपय सदस्यले प्रशासनिक र प्राविधिक समस्या देखाउँदै फागुनमा राष्ट्रिय खेलकुद सम्भव नरहेको धारणा राखेका थिए । तर, मन्त्री गुप्ता जसरी पनि निर्धारित समयमै वृहत् राष्ट्रिय खेलकुद आयोजना गर्ने अडानमा थिए ।
अहिले आएर १० औं राष्ट्रिय खेलकुदको मिति पाँचौंपटक पनि सर्ने निश्चितजस्तै देखिन्छ । २०७९ साल कात्तिकमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा कर्णाली प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरिएको थियो ।
राखेपको ११५ औं बोर्ड बैठकले प्रतियोगिता २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने गरि मिति पनि तोकेको थियो । तर, अन्तिम समयमा आएर तयारीका लागि समय अपर्याप्त भएको कारण देखाउँदै राखेपको ११८ औं बोर्ड बैठकले प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी मिति परिवर्तन गरेको थियो ।
तर, दोस्रो पटक तय गरिएको मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन । त्यसपछि, २०८१ फागुन १५ गते बसेको राखेपको १२१ औं बोर्ड बैठकले तेस्रो पटक मिति परिवर्तन गरेर १० औं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गर्यो । तर, त्यो मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन ।

त्यसपछि, २०८१ चैत २९ गते बसेको राखेपको १२२ औं बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निष्कर्ष निकाल्यो । उक्त बोर्ड बैठकले प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय त गर्यो तर, नयाँ मिति भने घोषणा गरेन ।
त्यसपछि, राखेपको १२३ औं बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । ‘यो मितिमा कुनै पनि हालतमा १० औं राष्ट्रिय राष्ट्रिय खेलकुद सम्भव छैन । त्यो कुरा खेलकुदमन्त्रीज्यूले पनि राम्ररी बुझ्नु भएको थियो । तर, आफैंले मिति घोषणा गरेकाले उहाँले यसलाई प्रतिष्ठाको विषय बनाउनु भएको थियो । फागुनमा सम्भव नै थिएन,’ राखेपका एक अधिकारी भन्छन् ।
ती अधिकारीका अनुसार, प्राविधिक रूपमा पनि अहिले वृहत् राष्ट्रिय खेलकुद सम्भव छैन । ‘गम्भीर रूपमा कुनै काम अगाडि बढाइएको छैन । उप–समितिको संयोजक तोकेर मात्र यति ठूलो प्रतियोगिता सम्भव हुँदैन । खरिद प्रक्रिया अगाडि बढाइएको छैन । खेलाडी छनोट हुन सकेको छैन । वैधानिक रूपमा सदस्यसचिव नियुक्त गरिएको छैन । अनि कसरी सम्भव हुन्छ ?’, उनी भन्छन् ।
अन्तिम समयमा आएर मन्त्री गुप्ताको सुर्खेत भ्रमणको विषयमा पनि उनले प्रश्न उठाएका छन् । ‘उहाँ (मन्त्री गुप्ता)ले राष्ट्रिय खेलकुदको मिति त घोषणा गर्नु भयो तर, लामो समय कुनै प्रक्रिया अगाडि बढाउनु भएन । कर्णाली प्रदेश सरकारसँग समन्वयको प्रयाससमेत गर्नु भए । तर, समय घर्कँदै गएपछि अन्तिम समयमा आएर उहाँ सुर्खेत भ्रमणमा जानुभयो । यो सबै झारो टार्ने काममात्र हो,’ उनले भने ।
राखेपका उपाध्यक्ष ध्रुव आचार्य पनि फागुन पहिलो साता १० औं राष्ट्रिय खेलकुद सम्भव नभएको बताउँछन् । ‘यो भनेको घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसका लागि गतिलो तयारी आवश्यक पर्छ । थुप्रै प्राविधिक काम बाँकी छ । त्यसमाथि देश निर्वाचनमा होमिएको छ । यस्तो स्थितिमा फागुन पहिलो साता १० औं राष्ट्रिय खेलकुद सम्भव छैन,’ उपाध्यक्ष आचार्य भन्छन् ।
नेपालमा वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शुरू भएको ४४ वर्ष पूरा भइसकेको छ । वृहत् राष्ट्रिय खेलकुद प्रत्येक दुई–दुई वर्षमा आयोजना हुनुपर्ने हो । तर, हालसम्म राष्ट्रिय खेलकुदको नौवटा संस्करण मात्र आयोजना हुन सकेको छ ।
जबकी यतिबेला नेपाली खेलकुद राष्ट्रिय खेलकुदको २२ औं संस्करण हुनुपर्ने थियो । शुरूका तीनवटा संस्करणलाई अपवाद मान्ने हो भने हालसम्म वृहत् राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन ।