
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका आउने सबै वस्तुमा १०० प्रतिशत भन्सार शुल्क लगाइने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि क्यानडाले चीनसँग सम्झौता गर्छ भने, अमेरिकामा प्रवेश गर्ने क्यानडाका सबै वस्तु तथा उत्पादनमा तुरुन्तै १०० प्रतिशत भन्सार शुल्क लगाइनेछ ।’
ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेको सम्झौता कुन हो भन्ने स्पष्ट छैन । यद्यपि, गत साता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग ‘रणनीतिक साझेदारी’ घोषणा गर्दै केही भन्सार शुल्क घटाउने सहमति भएको बताएका थिए ।
त्यसबेला ट्रम्पले उक्त कदमलाई ‘राम्रो कुरा’ भनेका थिए । तर पछिल्ला दिनमा अमेरिका–क्यानडा सम्बन्धमा तनाव बढेको छ । प्रधानमन्त्री कार्नीले अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था भत्किएको टिप्पणी गरेपछि स्थिति चर्किएको हो ।
कार्नीले ठूला शक्तिबाट हुने आर्थिक दबाबको सामना गर्न अन्य ‘मध्यम शक्ति’ राष्ट्रहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए, यद्यपि उनले ट्रम्पको नाम भने लिएका थिएनन् । यसको भोलिपल्ट ट्रम्पले आफ्नो भाषणमा प्रतिक्रिया दिँदै भने, ‘क्यानडा अमेरिकाको कारणले मात्र बाँचिरहेको छ ।’
त्यसपछि ट्रम्पले क्यानडालाई आफ्नो नयाँ ‘बोर्ड अफ पीस’मा सहभागी हुन दिएको निमन्त्रणा पनि फिर्ता लिएका छन् ।
शनिबार ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै कार्नीले ‘चीनले आफ्ना वस्तु अमेरिका पठाउन क्यानडालाई ‘ड्रप अफ पोर्ट’ बनाउने सोच राखेका छन् भने त्यो ठूलो भूल हुनेछ’ भनेका छन् ।
यता क्यानडाका अमेरिकी व्यापार मन्त्री डोमिनिक लेब्लांकले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चीनसँग स्वतन्त्र व्यापार सम्झौताको कुनै प्रयास गरिएको छैन ।’
उनले भने, ‘केही महत्वपूर्ण भन्सारसम्बन्धी विवादहरूको समाधान मात्रै गरिएको हो ।’
ट्रम्पको बारम्बार परिवर्तन भइरहने भन्सार नीतिका कारण उत्पन्न अनिश्चिततापछि क्यानडाले आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापार विविधिकरण गर्न खोजिरहेको छ ।
गत साता प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको सहमति अनुसार चीनले क्यानडाको क्यानोला तेलमा लगाइने भन्सार शुल्क ८५ प्रतिशतबाट घटाएर मार्चसम्म १५ प्रतिशतमा झार्नेछ ।
त्यसैगरी, क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) मा ६.१ प्रतिशत भन्सार शुल्क लगाउनेछ, जुन पहिले १०० प्रतिशत थियो ।
वर्षौंदेखि चिसिएको सम्बन्ध र एकअर्कामाथि लगाइँदै आएका भन्सार शुल्कबीच भएको यो सम्झौतालाई ठूलो उपलब्धिका रूपमा हेरिएको छ, जसले क्यानडामा चिनियाँ लगानी बढ्न सक्ने अपेक्षा गरिएको छ ।