
नयाँ दिल्ली । भारतको ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाम सम्बोधन गरेकी छन् ।
सम्बोधनमा उनले भारतीय जनतालाई गणतन्त्र दिवसको शुभकामना दिँदै सन् २६ जनवरी १९५० देखि भारतले संविधानमा निहित आदर्शअनुसार गणतन्त्रको यात्रालाई निरन्तर अघि बढाइरहेको बताइन् । संविधानमा समेटिएका न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वका मूल्यहरूले भारतीय गणतन्त्रलाई परिभाषित गर्ने उनको भनाइ थियो ।
देशको विकासमा महिलाको भूमिकालाई उल्लेख गर्दै राष्ट्रपति मुर्मुले मतदानमा महिलाको बढ्दो सहभागिताले गणतन्त्रलाई थप सशक्त बनाएको बताइन् । महिलाको सक्रिय र सशक्त सहभागिता देशको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उनले जोड दिइन् ।
उनले ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानले छोरीहरूको शिक्षामा सकारात्मक प्रभाव पारेको उल्लेख गरिन् । साथै ‘प्रधानमन्त्री जनधन योजना’ अन्तर्गत हालसम्म ५७ करोडभन्दा बढी बैंक खाता खोलिएको जानकारी दिँदै तीमध्ये करिब ५६ प्रतिशत खाता महिलाका रहेको बताइन् ।
खेलकुद क्षेत्रमा भारतीय महिलाहरूले विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै राष्ट्रपति मुर्मुले गत वर्ष नोभेम्बरमा भारतीय महिला टोलीले आईसीसी महिला क्रिकेट विश्वकप र त्यसपछि ब्लाइन्ड महिला टी–२० विश्वकप जितेर नयाँ इतिहास रचेको उल्लेख गरिन् ।
उनले चेस विश्वकपको फाइनल खेल पनि भारतकै दुई महिलाबीच भएको उदाहरण दिँदै खेलजगतमा भारतीय महिलाको प्रभुत्व स्थापित भएको बताइन् ।
देशको अर्थतन्त्रबारे बोल्दै राष्ट्रपति मुर्मुले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढिरहेको प्रमुख अर्थतन्त्र भएको उल्लेख गरिन् । विश्वव्यापी अनिश्चितताका बाबजुद भारतमा निरन्तर आर्थिक प्रगति भइरहेको र निकट भविष्यमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्यतर्फ देश अघि बढिरहेको उनले बताइन् ।