
सुर्खेतको विरेन्द्रनगर–११ घर भई काठमाडौंको नक्साल बस्ने ४३ वर्षीय सन्तबहादुर थापामगर गएको पुस १९ गते राति चाबहिलस्थित फुटपाथमा जुत्ता किन्दै थिए । जुत्ताको दाम थियो ८ सय रुपैयाँ।
उनले खल्तीबाट एक हजारको नोट झिकेर दिए । पसले (रविन्द्र राम)ले नोट छाम्दा नक्कलीजस्तो लागेर ‘दाइ यो त नक्कली नोट हो, कहाँबाट ल्याउनुभयो’ भनेर सोधे । सन्तबहादुरले एक जना चिनजानका साथीसँग भारु दिएर नेपाली साटेको रविन्द्रलाई जवाफ फर्काए ।
तर, रविन्द्र त्यतिमै रोकिएनन्, उनले होहल्ला गरे । स्थानीयले प्रहरी बोलाए । अनि सन्तबहादुरलाई प्रहरीको फन्दामा परे।सन्तबहादुरसँग हजार दरका ९ नोट थिए ।
प्रहरीले सन्तबहादुरसँग नक्कली नोटबारे केरकार गर्न थाल्यो । अनि उनले पोल खोले ।
नेपाल प्रहरीका पूर्वजवान उनले १६ वर्ष जागिर खाएर पेन्सन अवधिपछि स्वैच्छिक अवकाश लिएका रहेछन् । प्रहरीका अनुसार सन्तबहादुर गत असोजदेखि पिक सेक्योरिटी ग्रुपमार्फत् नक्सालमा रहेको कार स्वरुममा सेक्योरिटीको काम गर्दै आएका थिए ।
पुस १९ गते राति साढे सात बजे उनी डिउटी सकेर खाजा खान भन्दै एउटा भट्टी छिरे । दुई गिलास लोकल रक्सी पिए । उनको टेबलमै अर्का एक जना पनि मदिरा पिइरहेका थिए । दुवै जनाले एकले अर्कोलाई परिचय गराए ।
मदिरा पिएपछि सन्तबहादुरले आफूसँग नेपाली रुपैयाँ हुँदाहुँदै पनि भारतीय रुपैयाँ दिएर बिल तिर्न खोज्दा पसलेले भारु लिन मानेनन् । अनि बिल उठेको १५ सय रुपैयाँ तिरे । सन्तबहादुरसँग ६ हजार पाँच सय भारु थियो । उनीसँग पसलमै चिनजान भएका गोपाल मोक्तान नाम गरेका व्यक्तिले भारु साटिदिने बताए ।
सन्तबहादुरले १० हजार नेपाली रुपैयाँ लिएर भारु साटे । मोक्तान त्यहाँबाट हिँडे ।
त्यहाँबाट सन्तबहादुर जुत्ता किन्न भन्दै फुटपाथ तिर लागे । जुत्ता किन्दा तिर्न खोजेको रकम नक्कली भएको थाहा पाएपछि सन्तबहादुर छाँगाबाट खसेजस्तै भए ।
केन्द्रीय विधिविज्ञान प्रयोगशालाले परीक्षण गर्दा सन्तबहादुरबाट बरामद भएको नोट नक्कली रहेको पुष्टि भयो ।
प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत् सन्तबहादुरविरुद्ध मुलुकी अपराध संहिताको दफा २५७ मा उल्लेख भएअनुसार खोटा मुद्रा चलन गर्न नहुने कसुरमा जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गरिएको जनाएको छ ।