२६ जेठ २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

उपेन्द्रले खाली गरेको मैदानमा सीके राउतलाई 'आफ्ना'कै चुनौती !

माघ १६, २०८२
काठमाडौं
उपेन्द्रले खाली गरेको मैदानमा सीके राउतलाई 'आफ्ना'कै चुनौती !

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत अघिल्लो चुनावको विरासत जोगाउने लक्ष्यसहित सप्तरी क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेश आन्दोलनका 'कमान्डर' जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गरेका राउतले यसपटक बढी चुनौती सामना गर्नुपर्ने देखिएको छ । त्यस कारण पनि सप्तरी- २ यसपटक आमचासोको विषय बनेको छ ।

२०७९ सालमा राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका थिए ।

साविकको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका थिए ।

२०७४ सालमा सोही क्षेत्रबाट उपेन्द्र निर्वाचित भएका थिए । साविकको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र २१ हजार ६२० मत ल्याएर निर्वाचित हुँदा साविकको नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए । २०७४ मा उपेन्द्रले दोब्बर बढी मत ल्याएर जित्दा २०७९ मा दोब्बर बढी मतान्तरले पराजित हुनुपरेको थियो ।

मधेशका दुई चर्चित नेता सीके  र उपेन्द्रबीचको प्रतिस्पर्धाका कारण २०७९ मा सप्तरी २ लाई 'हट सीट'का रूपमा हेरिएको थियो । यसपटक उपेन्द्र यो क्षेत्र छाडेर सप्तरी- ३ मा जाँदा राउतलाई झन् सहज हुनुपर्नेमा त्यस्तो अवस्था अहिले देखिएको छैन ।

२०७४ मा राउतकै सहयात्री भएर प्रदेश सभामा चुनाव लडेका मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पार्टीका पूर्व प्रवक्ता डा. शरद सिंह यादव नै चुनावी मैदानमा यसपटक प्रतिस्पर्धी भएर उत्रिँदा राउतलाई चुनौती थपिएको छ ।

null

सप्तरी- २ अन्तर्गतकै प्रदेश सभाबाट जितेर मधेशको मुख्यमन्त्री समेत भएका सिंह राउतका लागि सबैभन्दा ठूलो चुनौती बनेका छन् । आफू मुख्यमन्त्री हुँदा राउतले सो सरकार ढालेर अन्य दलको नेतृत्वमा बनेको सरकारमा मन्त्री पठाएको भन्दै सिंहले जनमत पार्टी परित्याग गरी स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

आफू विगतमा गाउँपालिका अध्यक्ष हुँदा आफ्नो पालिकामा गरेको विकास र प्रदेश सभामा गएर मुख्यमन्त्री बनेपछि क्षेत्रका १९ वटा वडामा गरेको विकासका कारण जीत निश्चित भएको सिंहको दाबी छ ।

 ‘मैले ग्रासरूटमा बसेर जनताको काम गर्दै आएको छु । जनताका  सुख-दु:खमा भिजेको मान्छे हुँ । २०७० सालको स्थानीय तहमा चुनाव जित्दा मैले पालिकामा पनि धेरै विकासको काम गरेको थिएँ,’ सिंहले लोकान्तरसँग भने, ‘त्यसपछि प्रदेश सांसद जितेर मुख्यमन्त्री बन्दा आफ्नो क्षेत्रमा पर्ने १९ वटा वडादेखि सम्पूर्ण जिल्लामै विकास निर्माणको थुप्रै योजना लगेको छु । त्यसकारण पनि जनताले मलाई पत्याएका छन् ।’

जनमत पार्टीका अध्यक्ष राउतप्रति लक्षित गर्दै उनले भने, ‘विगतमा जितेर गएका उम्मेदवार सामाजिक सञ्जालमा मात्र देखिन्छन् । क्षेत्रका जनताको कामका लागि कहिल्यै देखिएनन् । त्यसैले यसपटक क्षेत्रका जनताले पनि त्यस्ता उम्मेदवारलाई सामाजिक सञ्जालमा मात्र भोट दिने भनिरहेका छन् ।’

चुनावी मैदानमा राउत तेस्रो स्थानका लागि संघर्षरत रहेको उनको जिकिर छ । राउतले आफ्नो गाउँ महादेवामा मात्र विकासलाई सीमित गरेको आरोप सिंहले लगाए ।

सतिश सिंह

सिंहसँगै राउतका पूर्व सहकर्मी तथा जनमत पार्टीका प्रवक्ता समेत रहिसकेका डा. शरदसिंह यादव पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । जेनजी आन्दोलनपछि उनले जनमत पार्टी परित्याग गरेर आफ्नै नेतृत्वमा जन अधिकार पार्टी स्थापना गरेका थिए ।

यसपटक क्षेत्रका जनताले नयाँ विकल्प खोजेको उनले बताए ।

‘म अहिले क्षेत्रमा आशीर्वाद यात्रामा छु । जनताले पुराना सबै उम्मेदवारको परीक्षण भैसकेको हुनाले नयाँ विकल्पको रूपमा मलाई हेरिरहेका छन्,’ यादवले लोकान्तरसँग भने, ‘यसपटक विगतमा चुनाव जितेका उम्मेदवार तेस्रो/चौथो स्थानमा छन् ।’

त्यसबाहेक यस क्षेत्रमा जसपा नेपालबाट पूर्व संविधानसभा सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादवले उम्मेदवारी दिएका छन् ।

उनी जनयुद्धकालदेखि नै साविकको नेकपा माओवादीमा आबद्ध थिए । चुनावअघि उनी जसपा नेपाल प्रवेश गरी टिकट लिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

अध्यक्षले चुनाव जित्ने आधार देखेर नै आफूलाई टिकट दिएको उनको जिकिर छ ।

‘आरोप लगाइएजस्तो हाम्रो अध्यक्षले सीके राउतसँग डराएर क्षेत्र छाड्नुभएको होइन । धेरै सजिलो गरी मैले चुनाव जित्ने आधार निर्माण भएको देखेपछि मलाई टिकट दिनुभएको हो,’ यादवले लोकान्तरसँग भने, ‘साविकको लोसपाको आफ्नै संगठन थियो, जसपाको पनि बलियो संगठन थियो । त्यसमा मैले माओवादी परित्याग गर्दा मेरो नेतृत्वमा क्षेत्रका सबै माओवादी नेताहरू जसपामा आएकाले जसपा सबैभन्दा बलियो बनेको हुँदा मलाई अध्यक्षज्यूले जित्नका लागि क्षेत्र  छाड्नुभएको हो ।’

null

यसअघिका सांसद राउतले क्षेत्रका जनतालाई सपना धेरै देखाए पनि काम केही नगरेको उनको आरोप छ । ‘उहाँले क्षेत्रको विकासभन्दा पनि परिवारवाद र जातिवादलाई नै बढी प्राथमिकतामा राख्नुभयो,’ यादवले थपे, ‘राजनीतिक अवसर दिने बेलामा क्षेत्रका कार्यकर्तालाई नदिएर आफ्नो परिवार र जातिका मान्छेलाई छानी-छानी दिनुभएकाले जनताले यसपटक उहाँलाई भोट दिँदैनन् ।’

सुशासनको कुरा गर्ने राउतको पार्टी संघीय सरकारमा हुँदा कर्मचारी सरुवामा समेत लेनदेन गर्ने गरेको, प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउँदा होस् वा अन्य पार्टीको सरकारमा जाँदा योजनाको खरिद बिक्री गर्ने गरेको आरोप लागेको उनले बताए ।

null

यता राउत भने क्षेत्रका जनताका लागि सदैव तत्पर रहेको हुनाले यसपटक पनि दोब्बर मतले चुनाव जित्ने दाबी गर्छन् ।

‘म क्षेत्रका जनताका साथै मधेशका जनताको न्यायका लागि सदैव तत्पर रहँदै आएको छु,’ राउतले लोकान्तरसँग भने, ‘क्षेत्रमा मात्रै मैले विकास निर्माण सँग सम्बन्धित ५ सय बढी योजना लगेको छु । त्यो पनि मेरो जीतको ठूलो आधार हो ।’

त्यसबाहेक मधेश गौरवका थुप्रै आयोजनाहरू आफ्नो क्षेत्रमा लगेको उनले बताए ।

पूर्व सहकर्मी तथा मुख्यमन्त्री सतिश सिंह आफ्नो लागि कुनै हिसाबले चुनौती नरहेको उनको दाबी छ । ‘क्षेत्रका दलित समुदायका व्यक्तिमाथि उहाँले गरेको दमनलाई पनि जनताले हेरेका छन्,’ राउतले थपे, ‘दलितहरूलाई उहाँले मिटर ब्याजमा पैसा असुलेको कुरा बाहिर आइसकेको छ ।’

null

पालिका अध्यक्ष हुँदा विकास गरेको भन्ने दाबीलाई पनि उनले खण्डन गरे ।

'उनी यदि लोकप्रिय हुन् र विगतमा पालिकामा अध्यक्ष हुँदा थुप्रै विकासको काम गरेका थिए भने दोस्रोपटक पालिका अध्यक्ष पदमा किन हारे त ?' राउतको प्रश्न छ । जसपा नेपालका उमेश यादव पनि आफ्ना लागि चुनौती नरहेको उनले बताए ।

सप्तरी- २ मा नेकपा एमालेबाट मोहम्मद जियाउल रहमान, नेपाली कांग्रेसबाट रामकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथप्रसाद यादव,  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजयकुमार दास, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिस अन्सारी, नेपाल मजदुर किसान पार्टीबाट नीलमकुमारी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट राजकुमार मण्डल, नेपाल जनता पार्टीबाट रञ्जुकुमारी झा (ठाकुर) सहित विभिन्न पार्टी र स्वतन्त्रबाट समेत उम्मेदवारी दिएकाले त्यस क्षेत्रमा व्यापक प्रतिस्पर्धा हुने देखिन्छ ।

null

सप्तरी- २ मा राजविराज नगरपालिका, महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका समावेश छन् । यो भूगोलमा २०४८ र २०५१ सालमा नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह, २०५६ सालमा नेपाली कांग्रेसबाट रामकुमार चौधरी, २०६४ सालमा मधेशी जनअधिकार फोरम नेपालबाट जयप्रकाश प्रसाद गुप्ताले चुनाव जितेका थिए ।

त्यसैगरी, २०७० सालमा नेकपा माओवादी केन्द्रबाट अशोककुमार मण्डलले चुनाव जिते । यसपटक सीके राउत २०७९ सालको विरासत जोगाउन लागिपरेका छन् भने अन्य प्रतिस्पर्धीहरू राउतको विरासत भत्काउने प्रयासमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्