३२ असार २०८३, बिहीबार

गण्डकी प्रदेश भलिबल संघले चुम्यो टाइगर कपको उपाधि

माघ १७, २०८२
काठमाडौं
गण्डकी प्रदेश भलिबल संघले चुम्यो टाइगर कपको उपाधि

छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ ।

गण्डकी प्रदेश भलिबल संघले शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा खेलिएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै उपाधि चुमेको हो ।

यसअघि, प्रतियोगिताको आयोजकले फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघबीच हुने जानकारी दिएको थियो ।

तर, पछि आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक त्रुटिका कारण पहिले गण्डकी र पर्वतको नाम सार्वजनिक भएको दाबीसहित त्यसलाई सच्याएर गण्डकी र पुलिसबीच फाइनल खेलाइने जानकारी गराएको थियो ।

फाइनल खेलको पहिलो सेटमा पुलिसले गण्डकीलाई २५–२३ अंकले पछि पारेको थियो । त्यसपछि गण्डकीले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

गण्डकीले दोस्रो सेटको नतिजालाई २८–२६ अंकले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा पनि गण्डकी प्रदेशको टोली २५–२२ अंकले अगाडि रह्यो ।

त्यसपछि, गण्डकी प्रदेशले चौथो सेटको नतिजालाई पनि २५–१७ अंकले आफ्नो पक्षमा पार्‍यो । प्रतियोगितामा पर्वत तेस्रो भयो ।

तेस्रो स्थानका लागि शनिबार नै खेलाइएको खेलमा पर्वत जिल्ला भलिबल संघले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

पहिलो हुने टोली गण्डकीले ट्रफीसहित ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार पनि पायो । उप–विजेता टोलीले तीन लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार हात पार्‍यो ।

प्रतियोगितामा तेस्रो भएको पर्वत जिल्ला भलिबल संघको टोलीले भने दुई लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार पायो ।

यसअघि, शुक्रबार महिलातर्फको उपाधि टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लबले जितेको थियो । फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।


  

salt training

कमेन्ट गर्नुहोस्